Comments Add Comment

सुनका ‘भरिया’ मारिएको जंगल ! घरमा आमा र श्रीमती बुच्चै

तस्करको कोपभाजनमा परेर एउटा परिवार उजाडियो

१७ वैशाख, बिराटनगर । देशमा यतिबेला साढे ३३ किलो सुन प्रकरणले चर्चा पाइरहेको छ । तस्कर र प्रहरीको मिलेमतो मात्रै खुलेको छैन, नेपाल प्रहरीका ठुल्ठुला हाकिमहरु धमाधम समातिइरहेका छन् । र, यो क्रमको सुरुवात चाहिँ मोरङको उर्लाबारी– ७ निवासी सनम शाक्यको हत्यापछि भएको हो ।

प्रहरीले सुरुमा फागुन १९ गते बिराटनगरको पोखरियामा स्कर्पियो गाडीको डिकीबाट सनम शाक्यको शव फेला पारेको बतायो । पछि सिराहाको दक्षिणी भेगतिर सुन तस्करले उनको हत्या गरेको भन्यो ।

तर, घटनाको अनुसन्धान गर्न गठित समितिले सनमको शव धरानबाट बरामद भएको बतायो । आखिर सुन तस्करसँग प्रहरीकै मिलेमतो भइसकेपछि यस्तो हुनु स्वाभाविकै हो ।

अन्ततः प्रदेश १ को प्रहरीले मोरङमा पत्रकारहरुलाई दिएको जानकारी नै सही ठहरियो । सुन तस्करहरुले मोरङको उर्लाबारीस्थित सोल्टी खोला नजिकै चारकोसे झाडीमा सनमलाई यातना दिएर मारेका रहेछन् ।

सनमलाई साढे ३३ किलो सुनकाण्डका ‘भरिया’ भएको बताइँदै आएको छ । यो काण्डबारे अहिले मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको छ ।

घटनास्थल खोल्दै सोल्टी खोलातिर

साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’को टोलीले सनमलाई यातना दिएको घटनास्थल खोज्दै हामी उर्लाबारीबाट उत्तरतर्फ लाग्यौं ।

चौरबाट अलि भित्र जंगलमा तीनवटा रुखमा पालैपालो बाँधेर यातना दिइएको घटनाको प्रकृतिले देखाउँथ्यो । रुखमा डोबहरु थिए, स्थानीयका अनुसार ब्याट्री र तार प्रयोग गरेर त्यहाँ सनमलाई करेन्ट लगाइएको हुन सक्छ

उर्लाबारी नगरपालिका–१ कान्छीचौकदेखि उत्तरतर्फ तीन किलोमिटरको घना जंगल छ । हामी कान्छीचौकबाट पश्चिम सोल्टी खोलापारि रहेको प्रगति सामुदायिक वन क्षेत्रतर्फ लाग्यौं ।

त्यहाँ गाडी चढन अप्ठेरो भएपछि अलिकति माटो खनेर गाडी उक्लने बाटो बनाइएको रहेछ । त्यही बाटोबाट गाडी सामुदायिक वनको चौरीमा सुन तस्करहरुको गाडी उक्लिएको रहेछ ।

त्यहाँ ढुंगाको सानो चुल्हो बनाएर सामान्य आगो बालेजस्तो गरेर एउटा भाँडो बसालेको सबुद भेटियो । हत्याराहरुले पिकनिक खाएको जस्तो गरेर सनमलाई दुई दिन यातना दिएका रहेछन् ।

चौरबाट अलि भित्र जंगलमा तीनवटा रुखमा पालैपालो बाँधेर यातना दिइएको घटनाको प्रकृतिले देखाउँथ्यो । रुखमा डोबहरु थिए, स्थानीयका अनुसार ब्याट्री र तार प्रयोग गरेर त्यहाँ सनमलाई करेन्ट लगाइएको हुन सक्छ ।

सनमलाई यातना दिन प्रयोग भएको रुख ।

त्यहाँ हत्याराहरुले एउटा खाल्डो पनि खनेको भेटियो । मारेर त्यहीँ गाड्ने भन्दै सनमलाई यातना दिइएको हुन सक्ने त्यो खाल्डो हेर्दा अनुमान लगाउन सकिन्छ ।

पिकनिक खाएको जस्तो देखाउन केही भाँडा र तयारी खाना एवं पानीका कार्टुनहरु पनि सुन तस्करहरुले जंगलमा सँगै लगेका थिए । करेन्ट लगाउन अलग्गै ब्याट्री र तार अनि बाँध्नका लागि प्लास्टिकका डोरीहरु पनि लगिएको थियो ।

सनम शाक्यलाई मुखमा टिस्युपेपर खाँदेर यातना दिइएको घटनास्थलको प्रकृतिले देखाउँछ । पहिलो दिन सामान्य केरकार गरिएको र, फर्केर इटहरीतिरको होटलमा बास बसाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यातनाले अलास–तलास भएका सनमलाई इटहरीको होटलमा राख्दा होलीमा रक्सी धेरै खाएर बेहोस भएको भनिएको थियो । फागुन १८ गते होलीको दिन बिहानै फेरि सोही ठाउँमा लगेर यातना दिने काम गरिएको थियो ।

दोस्रो दिन पनि दिनभरि यातना दिँदा पनि कुनै कुरा नखुलेपछि पुन गाडीमा हालेर इटहरीतर्फ ल्याइएको थियो । तर, गाडीमै उनको मृत्यु भयो ।

स्थानीय सामुदायिक वनका कर्मचारी नरेश बराइलीका अनुसार जंगलभित्र रुख काट्ने कर्मचारीहरुले वन क्षेत्रमा भीआइपी गाडी ठूलो साउन्डमा बाजा घन्काएर बसेको र पटक–पटक बोको जस्तो आवाज कराएको नजिकबाट सुनेका थिए ।

गोरेले झिकाएको साढे ३३ किलो सुन विमानस्थलबाटै गायब भएपछि सनममाथि शंका गरेर गोरेले धरानको कन्ट्री क्लवको छफफलपछि एकान्त स्थानमा लगेर यातना दिने क्रममा सनमको मृत्यु भएको पक्राउ परेका अभियुक्तले वयानमा प्रहरीलाई बताएका छन् ।

कान्छीचौकमा भेटिएका केही प्रत्यक्षदर्शीहरुका अनुसार फागुन १७ र १८ गते दुई दिन एउटा स्कारपियो र एउटा टाटा जीप कान्छीचौकबाट पश्चिम जंगलतिर लागेका थिए ।

भीआइपी गाडी खोलापारि गएको देखे पनि होलीमा पिकनिक खान आएको होला भनेर कसैले अनावश्यक शंका नगरेको स्थानीयको भनाइ छ । कान्छीचौकबाटै केही युवाले पानीका कार्टुनहरु गाडीमा हालेर लगेका थिए ।

स्कार्पियोको डिक्कीमा शव

गुडिरहेको गाडीको डिकीमा भेटियो सनमको शव

प्रहरीले बिराटनगरको पोखरियामा फागुन १९ गते बा १२ च ५९६३ नम्बरको स्कर्पियो गाडीको डिक्कीबाट सनमको शव बरामद गरेको र तीन जनालाई पक्राउ गरेको छ । उक्त स्थानबाट टेकराज मल्ल, नरेन्द्र कार्की र मोहन काफ्ले पक्राउ परेका थिए ।

साढे ३३ किलो सुन प्रकरणमा अहिलेसम्म २८ जना पक्राउ परिसकेका छन् ।

सनमकी आमा र श्रीमती के भन्छन् ?

उर्लाबारी–७ मा सनम शाक्यको सानो काठको घर छ । सनमकी आमा कल्पना शाक्य उर्लाबारीमा चियापसल चलाउँदै आएकी छिन् । सनमका बुवाको मुत्यु भइसकेको छ । सनमकी एक छोरी छिन् ।

हामी सनमको घुमा पुग्दा यत्रतत्र छरिएका कपडा र भाँडाकुडा असरल्ल देखिन्थे । पिँढीमा सनम शाक्यकी आमा कल्पना र श्रीमती सुनिता टोलाएर बसिरहेका भेटिए । उनीहरुका नाक–कान बुच्चै थिए ।

छोरा र श्रीमान गुमाउनुपरेको पीडामा विछिप्त देखिन्थे । त्यसभन्दा बढी छोरा सनममाथि लागेको सुन तस्करको भरियाको कलंकले पीडामाथि पीडा थिपिदिएको आमा कल्पनाले बताइन् ।

‘३३ वर्षको उमेरमा सनमको हत्या भयो, मेरो जीवनका लागि सहन नसक्ने ममाथि ब्रजपात भएको छ, उनले भनिन्, ‘तर त्योभन्दा पनि छोरामाथि जुन कंलकको दाग छ, त्यसले मलाई थप पीडा दिएको छ ।’

सनमकी आमाले घटनाको निष्पक्ष छानविन होस भन्दै छोरामाथि लागेको दाग हटाइदिन आग्रह गरिन् ।

दुईवर्ष अघि बिकेश र गोरे भन्ने साथीले फकाएर सनमलाई काठमाण्डौं लगेका थिए । उनीहरुकै साथ लागेर सनम काठमाण्डौ गएको आमा कल्पनाले बताइन् ।

सनमले आमालाई काठमाडौंमा गोरेको व्यापारको लेखा हेर्ने काम गर्छु भनेर सुनाएका थिए ।

मेरो छोराको हत्यारा र त्यो सुन तस्करीको मुख्य नाइके गोरेलाई जहाँबाट भए पनि पक्राउ गरेर ल्याउनुपर्छ । हत्यामा संलग्न सबैलाई जेल हाल्नुपर्छ ।’ उनले भनिन्, ‘अनिमात्रै हामीलाई सन्तोष हुन्छ ।

श्रीमती सुनिताले थपिन् ‘दोषीजति सबैलाई कडा कारवाही हुनुपर्छ, मेरा श्रीमानकोे हत्या गर्ने मुख्य नाइके ‘गोरे’ र घटनामा संलग्न सबैलाई कानुनको कठघरामा उभ्याउनुपर्छ, कसैले उन्मुति पाउनुहुँदैन ।’

आमा कल्पनाका अनुसार अहिलेको घर बेचेर अन्तै घडेरी किनेर घर बनाउने अनि बचेको पैसा ठेक्कापट्टामा लगाउने योजना सनमले केही महिनाअघि परिवारलाई सुनाएका थिए ।

यो पनि पढ्नुस् 

साढे ३३ केजी सुनकाण्ड : को हुन् ‘गोल्ड डन’ गोरे ?

साढे ३३ केजी सुन प्रकरणः पूर्वडीआईजी गोविन्द निरौला पक्राउ

साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल थुनामा, डिएसपी राउत ‘फरार’

साढे ३३ केजी सुन प्रकरणः ‘फरार’ डिएसपीलार्इ पक्रन सर्कुलर जारी भएपछि सम्पर्कमा

एसपी खनाल र दुर्इ सईविरुद्ध संगठित अपराध र कर्तव्य ज्यान मुद्दा

सुन प्रकरणका नाइके गोरेलाई खोज्न इन्टरपोलमा डिफ्यूजन नोटिस

साढे ३३ केजी सुन प्रकरणः डिएसपी प्रजित केसी पक्राउ

६ प्रहरी अधिकारीसहित २८ जना नियन्त्रणमा, एसएसपी खत्री फरार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment