Comments Add Comment

आगामी वर्षसम्म रसुवा र नुवाकोटमा थप २२८ मेगावाटका आयोजना बनिसक्ने


१७ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको अगुवाईमा रसुवा र नुवाकोटमा २ सय २८ दशमलव ३ मेगावाटका आयोजनाको निर्माणकार्य धमाधम भइरहेको छ ।

काममा कुनै अवरोध नआएमा आगामी २०७६ भित्र आयोजनाको सबै निर्माणकार्य सम्पन्न हुने विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए, चिलिमको मूख्य प्रवर्द्धनमा १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन तथा ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको निर्माणकार्य अहिले चलिरहेको छ ।

भूकम्प तथा त्यसलगत्तै गएको बाढीपहिरो र नाकाबन्दीका कारण सबै आयोजनाको निर्माण प्रभावित भएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले शुक्रवार, शनिवार र आइतवार स्थलगत निरीक्षण गरी निर्माणाधीन आयोजनाका काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गर्न निर्देशन दिएको छ ।

टोलीले यसका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाएको छ भने ठेकेदार कम्पनीहरूले पनि तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

टोलीले आयोजना, परामर्शदाता, ठेकेदार कम्पनीसँग आयोजनास्थलमै निर्माणमा देखिएका समस्या र समाधानका उपायबारेमा छलफल गरेको थियो । मन्त्री पुनले भूकम्पपछि तयार गरिएको नयाँ समय तालिकामा आयोजनाको निर्माण जुनसुकै अवस्थामा पनि सक्न निर्देशन दिएका छन् ।

‘सबै आयोजनामा तोकिएकै समयमा निर्माण सकिन्छ, तर यसका लागि अनेक बहाना गरेको पाइन्छं,’ उनले भनेे, ‘अब यस्तो नहोस् आयोजनास्थलका समस्या यहीं समाधान गर्नु होस्, मन्त्रालय तहबाट समाधान गर्नु पर्ने समस्या भए भन्नुहोस् त्यसलाई तत्काल समाधान गर्न हाम्रो टिम सधैं तयार छ । तालिककाअनुसार नै काम सकी नमुना आयोजनाको रुपमा अगाडि बढाऔं ।’

नेपाल सरकार, प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा बनिरहेको माथिल्लो त्रिशूली ३ एको निर्माण वैशाख ०७६ -३० अपि्रल २०१९) भित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाले निर्माण गरिहेको त्रिशूली ३ ए-मातातिर्थ २२० केभी प्रसारण लाइनको एक सय ४२ वटा टावरमध्ये स्थानीयको अवरोधका कारण पाँच टावरको काम नै सुरु गर्न नसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए ।

लागत समय बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)लाई जिम्मा दिइरहेको छ ।

समयमा निर्माण स्थल दिन नसक्दा, विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय, भूकम्पलगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएको थियो । अहिले ठेकेदार कम्पनीको काम विगतमा भन्दा सन्तोषजनक रहेको र तोकिएकको समय अगावै सक्ने गरी काम भइरहेको जोशीले बताए ।

रसुवागढीको समग्र निर्माण प्रगति ६० प्रतिशत छ । आयोजनाले १५ पुस २०७६ देखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । आयोजनाका विद्युत जोड्नका लागि चिलिमे हव-त्रिशूली ३ बी प्रसारण लाइन हवको निर्माण हुनुपर्छ ।

रसुवागढी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले प्रसारण लाइन अभावमा विद्युत खेर आउन नदिन सबै सरोकारवाला निकाय गम्भीर बन्नु पर्ने अवस्था रहेको बताएका छन् ।

उनले परामर्शदाता र ठेकेदार कम्पनीलाई विदेशी मुद्रा भुक्तानीका लागि सटही प्रक्रिया ज्यादै झन्झटिलो रहेकाले यसलाई सहज बनाइदिन आग्रह गरे ।

माथिल्लो सान्जेन र सान्जेनको समग्र प्रगति क्रमश ः ७० र ६० प्रतिशत छ । सान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ मुख्य सिभिल संरचना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कमजोर रहेकाले काम प्रभावित भइरहेकेा जानकारी दिए ।

प्रसारण लाइनको निर्माण गर्न सरकारी जग्गा र बन क्षेत्रको रुख काट्ने स्वीकृतिका लागि सरकारी प्रक्रिया अत्यन्त झण्झटिलो रहेको उनको अनुभव छ । आयोजनाले विद्युत गृहबाट चिलिमे हवसम्म १३२ केभीको ७ किलोमिटर प्रसारण लाइन बनाउनु पर्छ ।

माथिल्लो सान्जेनबाट अपि्रल २०१९ बाट विद्युत उत्पादनको लक्ष्य राखिएको छ । सान्जेनको भने नेपाल विद्युत प्राधिकरणले निर्माण गर्नु पर्ने चिलिमे हव-त्रिसूली ३ बी २२० केभी प्रसारण लाइनसँग समन्वय गरी काम अगाडि बढिउनु पर्ने रहेकोले उक्त प्रशारण लाईन निर्माण हुने अबधि जुन-जुलाई २०१९ सम्म यस आयोजनाको पनि निर्माण कार्य सक्ने गरी निर्माण कार्य अगाडी बढाईएको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment