Comments Add Comment

टोकियोमा ९ कन्याको सामुहिक बेल विवाह (तस्वीरसहित)

३० अप्रील, टोकियो । नेवार समुदायमा बेल विवाह अर्थात इहीको विशेष महत्व छ । रजश्वला नभएका ५ वर्षदेखि ९ वर्षसम्मका बालिकाहरुको सहभागितामा उनीहरुको भविष्य सुनुश्चित गर्न नेवारी परम्पराअनुसार बेल विवाह (इही) गर्ने प्रचलन छ ।

नेवाः अन्तराष्ट्रिय फोरम जापानले आइतबार टोकियोस्थित कोतोकु कितासुना गोचोमे दान्ची हलमा ९ कन्याको सामुहिक बेल विवाह सम्पन्न गरेको छ ।

भगवान बिष्णुलाई बेलको रुपमा लिई बालिका दिनभरी व्रत बसेर बेललगायत कलश, बज्र, चक्रआदिको पुजाआजा गर्ने गरिन्छ ।

बेल विवाहमा युना श्रेष्ठ, गाभास्ती तुलाधर, आसना पालिखे, अदिती श्रेष्ठ, तोमोसी साथी श्रेष्ठ, आईरी शाक्य, आकी राजभण्डारी, आएरा कर्माचार्य, साराना महर्जन गरी ९ जना सहभागी थिए ।

नेवारी परम्परागत भेषभुषा र गहनामा सजिएका साना बेहुलीहरुले जापानी नागरिकहरुको ध्यान खिचेका थिए ।

विदेशमा रहेर पनि आफ्नो मौलिक परम्परा र संस्कृति अनुसार बेल विवाह सम्पन्न गर्न पाउँदा खुशी लागेको फोरमका महासचिव शिव तण्डुकारले बताए ।

फोरमले यो दास्रो पटक सामुहिक रुपमा बेल विवाह सम्पन्न गरेको हो । बेल विवाहपछि नेवारी परम्परागतअनुसार लप्ते भोज (झों भ्वय) समेत आयोजना गरिएको थियो । विवाहमा नेवारी र जापानी समुदायको बाक्लो उपस्थिती रहेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment