Comments Add Comment

स्कुटर चलाउँदा पनि गीत गाउँछु : केञ्जल


पहिलो नेपाल आइडलकी सहभागी हुन् केञ्जलमेहर श्रेष्ठ । उनी टप टेनमा अटाएकी थिइन् । नेपाल आइडलबाट उनले निकै फ्यान फलोइ कमाइन् । बाहिर निस्केपछि उनको व्यस्तता निकै बढेको छ । छोटो अवधिमा उनले दुबई, कोरिया, हङकङ, अष्ट्रेलिया, यूकेलगायत आधा दर्जन देशहरुको भ्रमण गरिसकिन् । देशभित्रका महोत्सव तथा कार्यक्रमहरुमा पनि उनको डिमान्ड बढिरहेको छ ।

केञ्जलले आफ्नै गीत पनि रेकर्ड गराएर दुई साता अघि म्युजिक भिडियो रिलिज गरेकी छिन् । तर, राम्ररी प्रचार गर्न नसकेकाले गीतको चर्चा नभएको उनको गुनासो छ । उनको गीतले अहिलेसम्म ४० हजार भ्यूज पाएको छ ।

केञ्जलसित गरिएको संगीत संवादः

तपाईंको कसरी संगीतमा झुकाव बढ्यो ?
मेरो बुवाको कारणले मेरो संगीतमा झुकाव बढेको हो । उहाँ गीत गुन्गुनाइरहनु हुन्थ्यो । मलाई पनि गाउन प्रेरित गर्नुहुन्थ्यो । मेरो स्वरको सँधै तारिफ गर्नुहुन्थ्यो । तिमीले भविष्यमा केही गर्छौ भन्नुहून्थ्यो । बुवा अहिले हुनुुहुन्न । चार वर्षअघि बित्नुभयो । तर, उहाँकै प्रेृरणाले म यहाँसम्म आएँ ।

जीवनमा सुनेको पहिलो गीत ?
म सानो छँदा मेरो बुवाले दुईवटा गीत मलाई सिकाउनु भएको थियो, एउटा राजामति कुमति र अर्को घर से निकल्ते ही । मैले पहिलोपटक सुनेको गीत यिनै दुईवटा हुन् । अंग्रेजी गीत चाहिँ पहिलोपटक सुनेको ‘आइ लभ यू मोर देन आइ क्यान से’ हो ।

प्रोफेसनली कहिलेदेखि गाउन थाल्नुभयो ?
म एक वर्ष जति पढाईको सिलसिलामा साइप्रस बसेँ । २०१३ मा फर्केपछि मैले म्युजिकलाई प्रोफेसनली गीत गाउने सोच बनाएँ । त्यसपछि औपचारिकरुपमा संगीत सिकेँ । अनि साथीहरुसँग मिलेर ब्यान्ड खोल्यौं, ‘प्रश्न’ नामको । यसबाट थुप्रै कभर गीतहरु गायौं । रेकर्ड गराएको चाहिँ नेपाल आइडलमा भाग लिएर निस्केपछि मात्रै हो ।

म्युजिक भिडियो पनि आइसक्यो ?
दुई हप्ता अगाडी ‘शब्द’ बोलको गीतको भिडियो यूट्यूवमा ल्याएकी छु । तर, राम्ररी प्रचार प्रसार गर्न नसकेकाले त्यसको त्यति चर्चा नै भएन । फेसबुकमा बुस्ट पनि गरिनँ । तर, जतिले हेर्नुभएको छ, राम्रो प्रतिक्रिया दिनुभएको छ । तपाईं आफैं पनि यूट्यूवमा आएका प्रतिक्रिया हेर्न सक्नुहून्छ ।

मोडलिङ पनि आफैंले गर्नुभएको रहेछ ? यतातिर पनि रुची हो ?
होइन, गीतको थिम अनुसार आफैंलाई सुहाउने भएकाले गरेकी हुँ ।

आजकाल तपाईंको मुखमा झुण्डिएको गीत कुन हो ?
धेरै खालको गीत गुन्गुनाइरहेकेा हुन्छु । सबैभन्दा बढि मुखमा झुण्डिएको चाहिँ डठुआ लिपाको न्यू रुल्स हो ।

गीत प्राय केमा सुन्नुहुन्छ ?
यूट्यूवमा हेर्छु । फुर्सद भयो कि मोबाइलमा यूट्यूव खोलिहाल्छु ।

तपाईंलाई सबैभन्दा बढि टच गरेको गीत कुन हो ?
‘मेरी आमा’ बोलको गीत । नेपाल आइडलमा मैले गाएको बेस्ट गीत हो यो । मलाई पनि खुबै टची लाग्छ ।

तपाईंलाई मन पर्ने कम्पोजर ?
कालीप्रसाद रिजाल, कल्याण सिंह ।

कस्तो बेलामा गीत सुन्न बढि मन पर्छ ?
बेलुका सुत्ने बेला सुन्छु । म मम्मीसँग सुत्छु । कानमा एयरफोन लगाएर यूट्यूव चलाउँछु अनि त्यत्तिकै निदाउँछु ।

फिल्मी गीतहरु कत्तिको सुन्नुहुन्छ ? अहिले मन परेको कुनै फिल्मी गीत ?
फिल्मका गीतहरु पनि सुन्छु । पछिल्लो समयमा नेपाली फिल्ममा राम्रा राम्रा गीतहरु आइरहेका छन् । अहिले मन परेको चाहिँ सुगम पोखरेलको तिमी रोएको पल र कालीप्रसाद रिजालको पिरतीको बर्को ।

कस्तो बेलामा गीत गुन्गुनाउनु हुन्छ ?
म बाथरुममा हुँदा सँधै गीत गुन्गुनाउँछु । यसैगरी स्कुटर चलाउँदा गीत गाउँदै चलाउने हो ।

अरुले सुन्देनन् ?
सुने पनि बालै भएन नी । मास्क लगाउने हो, चिच्याउने हो ।

तपाईंलाई आफ्नो स्वर कस्तो लाग्छ ?
अहिले ठिकै छ । तर, धेरै इम्प्रुभ गर्न बाँकी छ जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment