Comments Add Comment

वर्षाको नाममा पोखरेली र्‍यापरको भिडियो कविता

केही समयअघि ‘मेरी गोलुमोलु तिमी नदुब्लाउ’ भन्दै एक फ्यानले नायिका वर्षा राउतलाई फेसबुकमा कवितात्मक पत्र लेखेका थिए । त्यसलाई उछिन्दै अहिले अर्का फ्यानले वर्षाका नाममा झण्डै पाँच मिनेट लामो भिडियो कविता यूट्यूवमा राखेका छन् ।

यी फ्यान हुन् पोखरेली र्‍यापर राजन केसी । यमबुद्धसँग र्‍याप ब्याटलमा भिडिसकेका उनी कविता पनि कोर्छन् । करिब ५ महिना अगाडि कोरेको वर्षामा समर्पित कविता उनले यूट्यूवमा बिहिबार अपलोड गरेका हुन् । यो हेरेर वर्षा मख्खै परेकी छिन् ।

‘आइ एम स्पिचलेस’ वर्षाले भिडियो सेयर गर्दै फेसबुकमा लेखेकी छिन् ।

राजनले आफू नाई नभन्नु ल ४ हेरेपछि वर्षाको फ्यान भएको अनलाइनखबरलाई बताए ।

‘म्युजिक भिडियोहरुमा त पहिलेदेखि नै हेथेँ, तर नाई नभन्नु ल ४ मा उनलाई हेरेर म भुतुक्कै भएँ,’ उनले भने । त्यसपछि उनले वर्षाका कुनै पनि फिल्म छुटाएका छैनन् । जात्रा त दशौंचोटि हेरेका छन् । जुन फिल्म हेर्दा पनि भुतुक्कै हुन्छन् ।

वर्षाको के कुरा मन पर्छ उनलाई ?

‘के मन पर्दैन भन्नुस न,’ राजनले भने, ‘सबैभन्दा बढि अभिनय मनपर्छ । त्यसपछि रुप, जिउडाल, हाउभाउ, बोलिबचन सबै मन पर्छ ।’

वर्षा केही मोटी छन् । फिगर मेन्टेन गर्न नसकेको भनेर उनको आलोचना पनि हुन्छ । तर, राजन भने अहिलेकै फिगर सुहाएको देख्छन् ।

‘मैले उहाँ दुब्ली हुँदाको फोटो पनि हेरेको छु, त्यो भन्दा अहिले झन् राम्री हुनुहुन्छ, त्यसैले नदुब्लाउन सुझाव दिन्छु,’ उनले भने ।

यी अविवाहित युवाले वर्षालाई आफ्नो बनाउने सपना चाहिँ पालेका छन् कि छैनन् ?

‘उहाँजस्तो परिपूर्ण युवतीलाई जीवनाथी बनाउने चाह त कसको हुँदैन होला र तर मैले उहाँलाई त्यो रुपमा सोचेको छैन । उहाँको प्रेमको बारेमा मलाई थाहा छ । म फ्यानकै रुपमा ठिक छु,’ राजनले जवाफ दिए ।

राजनले वर्षासँग ३-४ पटक भेटिसकेका छन् । पहिलोचोटि वर्षा छक्का पञ्जा २ को सुटिङका लागि पोखरा जाँदा सुटिङस्पटमा पुगेर भेटेका थिए । यसैगरी गत मंसिरमा वर्षाको जन्मदिन मनाउन उनी पोखरादेखि काठमाडौं आए । त्यस बेला उनले एउटा टेडी वियर उपहार दिए । बेलावखत सामाजिक सञ्जालमा पनि वर्षासँग कुराकानी हुने गरेको उनी बताउँछन् ।

‘उहाँ एकदम फ्रेन्डली नेचरको हुनुहुन्छ, सेलिबि्रटी हुँ भन्ने घमण्ड पटक्कै छैन,’ उनले भने ।

वर्षालाई उनले आगामी फिल्ममा रोमान्टिक रोलमा देख्न चाहन्छन् ।

‘रोमान्टिक सिनमा उहाँको अनुहारको एक्सप्रेसन नै गजब हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment