Comments Add Comment

अब अर्कै ‘निर्वाचन क्षेत्र’ खोजिरहेको छु

'म युमाधर्मको पक्ष र विपक्ष दुवैमा छैन'


२२ वैशाख, काठमाडौं । नेपाली साहित्यमा तेस्रो आयामेली आन्दोलनका एक जीवित धरोहर हुन्- साहित्यका बैरागी काइँला । ७८ वर्षको उमेरमा काइँला अझै पनि सार्वजनिक कार्यक्रमहरुमा घण्टौंसम्म मन्तव्य दिन सक्छन् । तर, यसलाई कटू भनौं वा मधु, ०२०/०२२ सालतिर आयामेली आन्दोलनमा होमिँदा चर्को आलोचना खेपेका काइँलाले बुढेसकालमा पनि आलोचना र गालीको शिकार बनिरहनुपरेको छ ।

यसैसाता धरानमा आयोजित मुन्धुम गोष्ठीपछि केही लिम्बूजातिका मानिसहरुले परम्परागत ‘युमा’ धर्म मान्ने घोषणा गरे । उक्त घोषणाका प्रमुख अथिति एवं हस्ताक्षरकर्ता थिए, चर्चित कवि, प्राज्ञ एवं मुन्धुमका ज्ञाता बैरागी काँइला । यो कार्यक्रममा दिएको मन्तव्यलाई लिएर सामाजिक सञ्जालमा उनको आलोचना र समर्थनमा दुई धार देखिएका छन् । एक साता बित्न लाग्दा पनि यसको राप र ताप सेलाएको छैन ।

प्रज्ञा प्रतिष्ठानका कूलपतिसमेत भैसकेका काइँलालाई सामाजिक सञ्जालबाट धम्की र विभिन्न किसिमका आरोप लाग्न थालेपछि उनको बचाउमा युमा धर्मसभाका सञ्चालकहरुले स्पष्टीकरण समेत दिनुपरेको छ । कतिपय मूलधारका साहित्यकार भन्नेहरुले पनि जातजातिको कुरामा अल्भिmएर आफ्नो उचाइ घटाउने काम गरेको भन्दै काइँलाको आलोचना गर्न थालेका छन् ।

तर, आफूमाथि हुने यस्ता आलोचनाबारे काइँलाको आफ्नै सैद्धान्तिक मान्यता छ । उनी भन्छन्- ‘वास्तवमा आलोचना नभई मानिस सबैतिर चिनिँदैन । कटू र मधु दुबैखाले आलोचनाले तेस्रो आयाम र हामीलाई प्रसिद्धि दिलायो ।’

विसं. १९९६ साल साउनमा पाँचथरको पौवामा जन्मिएका काइँलाका आधा मान्छे र हात्ती, बैरागी काइँलाका कविताहरु, फूल पात पत्कर जस्ता पुस्तक प्रकाशित छन् । लिम्बु धर्म र संस्कृतिसम्बन्धी उनले एक दर्जन बढी किताब लेखेका छन् ।

धरानको ‘युमा धर्मसभा’ सकेर काठमाडौं फर्किएलगत्तै हामीले काइँलालाई काठमाडौंस्थित उनकै निवासमा भेट्यौँ ।

अनलाइनखबरकर्मीसँगको लामो कुराकानीमा साहित्यकार काइँलाले किरात धर्मका विविध पक्षबारे प्रष्ट्याउने प्रयास गरे । उनले धरानबाट शुरु भएको विवादका विषयमा मात्रै होइन, नेपाली साहित्यको मूलधारमा आफ्नो योगदान र कमजोरीका विषयमा पनि खुलस्त पारे ।

साहित्यमा क्लिष्ट विम्वहरु प्रयोग गर्न माहिर काइँलाले अनलाइनखबरसँग भने- अब म अर्कै ‘निर्वाचन क्षेत्र’ खोजिरहेको छु !
र, उनले यो पनि भने- ‘म युमाधर्मको पक्ष र विपक्ष दुबैमा छैन’


बैरागी काइँला, देशले जानेमानेका चर्चित साहित्यकार एवं प्राज्ञ हुनुहुन्छ । तर, तपाईं जातिवादी कुरामा लागेर नेपाली साहित्यबाट टाढा हुनुभयो भन्ने आरोप पनि बेलाबखत लाग्ने गर्छ । मूलधारको समग्र साहित्यमा तपाईंले जे गर्न सक्नुहुन्थ्यो, त्यो गर्नुभएन भन्नेहरु पनि छन् । आफैंलाई फर्केर हेर्दा कस्तो लाग्छ ?

विसं. २०२०-०२२ का कविताहरु पढेर मेरो प्रतिभाको बखान गरिएको हुन सक्छ । तर, सिर्जनाका लागि मूल फूट्नुपर्छ । जुन मूल, युवा छँदा जसरी फुटेको थियो, त्यो उमेर बढ्दै जाँदा फुट्न छाड्यो । लेख्न छाडेको होइन, तर जुन स्तरका कविता मद्वारा रचिएका थिए पहिले, पछि त्यस्ता रचना हुन सकेनन् ।

चर्चा नै नहुने, नेपाली साहित्यमा योगदान नै गर्न नदिने कुरा लेखेर के गर्ने ? यही कारण मैले नेपाली कविता लेख्न कम गरेको हुँ । बरु यसको साटो मभित्र उबि्रएको बाँकी उर्जा र क्षमतालाई सदुपयोग गर्न अर्को क्षेत्र, जहाँ केही राम्रो गर्न सक्दछु, त्यता किन खर्च नगर्ने ? यही विचारले उपेक्षामा रहेको लिम्बू लोकसाहित्यमा ध्यान दिएँ । यसपछि मैले एक दर्जनभन्दा बढी ‘मुन्धुम’सँग सम्बन्धित कृति लेखेर हाम्रो परम्परागत लोकसाहित्यको चिनारी दिने प्रयास गरेको छु । यस बाहेक लिम्बु ब्याकरण, भाषा र साहित्य क्षेत्रमा पनि थोरै भए पनि अध्ययन र योगदान गर्न सकेको छु ।

तेस्रो आयाम पत्रिकामा लेख्ने क्रममा म कविका रुपमा स्थापित भएको हुँ । खासमा इन्द्रबहादुर राई र ईश्वर बल्लभसँगको भेटपछि मभित्रको प्रतिभा प्रस्फुटन भएको हो । म त लोसे मान्छे !

राजनीतिको भाषामा भन्दा म पहिले काठमाडौं क्षेत्र नम्बर एकमा निर्वाचन लडेर जितेको मान्छेजस्तै थिएँ, त्यहाँ पछि जित्ने सम्भावना रहेन र यही कारण म बर्दिया-५ मा बसाई सरेँ, अनि त्यहीँबाट लडें । अब बर्दियामा पनि एक से एक युवा नेता निस्किएपछि म डोल्पातिर पुगेको छु ।

यसको अर्थ के भने पहिले मूलधारमा केही समय लेखेँ । त्यसपछि लिम्बू भाषा र संंस्कृतिमा लामो समय बिताएँ । अब लिम्बू भाषा र संस्कृतिमा अध्ययन गर्ने ठूलो युवा जमात खडा भएको छ । त्यसपछि के गर्ने ? म त्यसै बस्न त सक्तिनँ । यस्तो अवस्थामा अब अर्कै ‘निर्वाचन क्षेत्र’ खोजिरहेको छु ।

तपाईंले नेपाली साहित्य र लिम्बू संस्कृतिमा जे-जस्तो योगदान गर्नुभएको छ । त्यसका पछाडि कसको विचारले प्रभावित बनाएको छ भन्ने लाग्छ ?

म प्रतिभाशाली कवि होइन । मभित्र सिर्जना गर्ने रहर थियो, तर त्यो कसरी गर्ने भन्ने कुराको भेउ शुरुमा थिएन । यस्तै अवस्थामा ईश्वरबल्लभ भेटिनुभयो । उहाँ नयाँ सोच्ने र आफ्नो योजनामा अडान राख्ने मान्छे हुनुहुन्थ्यो । इन्द्रबहादुर राई भेटिनुभयो । उहाँ त अध्ययनशील, नयाँ नयाँ सोच ल्याउने चिन्तक पनि हुनुहुन्थ्यो । यसपछि हामीले नेपाली साहित्यका बढीभन्दा बढी पाठकसम्म कसरी पुग्न सकिन्छ भनेर छलफल गर्दथ्यौं । यसरी छलफल गर्दा हामीले तेस्रो आयाम देखिनुपर्छ भन्ने निष्कर्ष निकाल्यौंं । यसैलाई पाठकसम्म पुर्‍याउने ध्येयलाई फलिभूत बनाउन तेस्रो आयाम पत्रिका निकाल्न थाल्यौं र त्यसैमा आफ्नो सिर्जना छाप्न थाल्यौं ।

यही तेस्रो आयाम पत्रिकामा लेख्ने क्रममा म कविका रुपमा स्थापित भएको हुँ । खासमा इन्द्रबहादुर राई र ईश्वर बल्लभसँगको भेटपछि मभित्रको प्रतिभा प्रस्फुटन भएको हो । म त लोसे मान्छे, उहाँहरु जस्तो अडान राख्ने, प्रतिभासम्पन्न मान्छे म होइन ।

इन्द्रबहादुर राईलाई कसरी सम्झनुहुन्छ ?

उहाँजस्तो बौद्धिक मान्छे मैले भेटेको छैन । तर, यति बौद्धिक भए पनि उहाँ साह्रै विनम्र हुनुहुन्थ्यो । ईश्वरबल्लभ आफ्नो कुरा कडारुपमा राख्नुहुन्थ्यो । तर, राई साह्रै सौम्य तरिकाले प्रस्तुत हुनुहुन्थ्यो । उहाँ साह्रै असल मान्छे । तेस्रो आयाम स्थापना गर्न र त्यसलाई उचाइमा पुर्‍याउन इन्द्रबहादुर राईले धेरै मेहनत गर्नुभएको छ ।

यही कारण नेपाली साहित्यमा तेस्रो आयामको धेरैै प्रसंंसा भयो, होइन ?

सुरुमा प्रशंसा खुबै भएको थियो । पछि गाली पनि धेरै खाइयो । प्रशस्त आलोचना भयो । खासमा सुरुमा प्रशंसा गर्दा तेस्रो आयामको खासै चर्चा थिएन । जब प्रसिद्ध समालोचकहरुले सकारात्मक वा नकारात्मक समालोचना गर्न थाले, तब आम पाठकलाई तेस्रो आयाम भनेको के हो भन्ने थाहा भयो । वास्तवमा आलोचना नभई मानिस सबैतिर चिनिँदैन । कटू र मधु दुवैखाले आलोचनाले तेस्रो आयाम र हामीलाई प्रसिद्धि दिलायो ।

तपाई अहिले ८० वर्ष पुग्न लाग्नुभयो, यो उमेरमा अझै पनि गाली खाइरहनुभएको छ । यसैसाता धरानमा आयोजित लिम्बु समुदायको एक कार्यक्रमपछि सामाजिक सञ्जालमा तपाईको व्यापक आलोचना भइरहेको छ । धरानमा तपाईले किरात धर्म लिम्बुहरुको होइन भन्नुभएको हो ?

मैले के भनेँ भन्ने कुरा त्यति महत्वपूर्ण हुँदैन होला, तर किन यसो भइरहेछ, आश्चर्यचकित छु । मैले भनेका कुराहरु उसबेला गरिएको भिडियो रेकर्ड सुने भइहाल्छ । मैले आधारहीन कुरा गरेँजस्तो त लाग्दैन ।

मुसलमानको सिया र सुन्नीजस्तो, क्रिश्चियनको क्याथोलिक र प्रोस्टेस्टेन्टजस्तो को ठूलो र को असली भन्ने कुरा नगरौं । यो मैले धरानको सभामा पनि भनेको हो, अहिले पनि भन्छु

कुनै कुरा भन्नुका पछाडि केही पृृष्ठभूमि हुन्छन्, त्यसका आधार हुन्छन् । कुरै नबुझी ‘ए फलानोजस्तो मान्छेले यस्तो भन्न मिल्छ ? हिजो हामीसँग सबै मिलेर किरात धर्मको वकालत गरौं भन्ने, आज हामी किँरात धर्म मान्दैनौं भनेर भन्न मिल्छ ? इत्यादि भनेर गाली गर्न मिल्दैन । असली कुरा गर्न डराउनुहुन्न ।

त्यही त, तपाईं किरात धर्मबाट अलग भएको घोषणामा सहमत हुनुभएको हो ?

म त्यो धर्मसभामा अथिति भएर पुगेको थिएँ । खासमा बिराटनगरमा मलाई सम्मान गर्ने कार्यक्रम थियो । त्यसपछि झापामा मेरो घरमा पुगेका बेला धरानमा ‘युमा धर्मसभा’ हुँदैछ, तपाईं अथितिका रुपमा आइदिनुपर्‍यो भनेपछि म गएँ । यदि त्यस्तै सभा ‘सत्यहाङमा’ हरुले गरेको भए र बोलाएको भए पनि म त्यस्तो सभामा जान्थेँ । लिम्बू भएको नाताले आफ्नो धर्म, संस्कृति, परम्पराका कुरा गर्दा र त्यसमाथि मलाई प्रमुख अथिति बनाउँदा म जान्नँ, हुँदैन, मिल्दैन भन्न मिल्दैन । गएकै हो ।

तर, कुरा त्यतिमात्र होइन । किरात धर्मको ठूलो वृक्षमुनि बस्दा लिम्बुहरुले परम्परागतरुपमा मान्दै आएको धर्म, संस्कृति, परम्परा टाक्सिएर नासिन थालेको मैले देखेकै हो । ‘युमा धर्मसभा’ ले उठाएका विषयवस्तु हाम्रो धर्म, संस्कृति, परम्पराका कुरा, कुरा मात्र होइन, हाम्रा जीवनकै अङ्ग हुन् । त्यसमा विमति राख्नुपर्ने कारण छैन ।

यत्ति हो, ‘युमा धर्मसभा’ मैले डाकेको होइन । तर, यसका धेरै कुरामा मेरो सहमति पनि छ । यो धर्मसभाले उठाएका कुरा छलफलमा अघि लैजानुपर्छ । तर, यसो गर्दा हाम्रा गुरुहरुमाथि अपमान गर्ने, हाम्रो सम्बन्ध र भाइचारा बिग्रने काम गर्नुहुँदैन भनेर पनि भनेको हुँ ।

तपाईं ‘युमा’ धर्मको पक्षमा उभिँदा लिम्बूभित्रकै ‘सत्यहाङमा’ सम्प्रदायले विरोध गरेको देखियो । एकथरीले तपाईंहरु क्रिश्चियन धर्मालम्बीहरुको गोटी बन्नुभयो भन्ने आरोप लगाएका छन्, के भन्नुहुन्छ ?

हाम्रो परम्परागत धर्ममा बलि चढाइन्छ । प्रकृतिको पूजा गरिन्छ । रक्सी स्वीकार्य छ । हाम्रो परम्परागत धर्मभित्रका कतिपय नराम्रा पक्षलाई गुरु फाल्गुनन्दले सुधार गर्नुभयो । त्यसो गरेर राम्रो पनि गर्नुभयो । तर, आनुष्ठानिक विधिविधानहरुका कुरामा कतिपय वैदिक विधिविधान प्रवेश गराउँदा भने हामीे हिन्दु धर्मको प्रभावमा पर्‍यौं । त्यसमाथि तत्कालीन अवस्थामा सबै नेपाली हिन्दु र सबै हिन्दु नेपाली भन्ने राज्यको एकात्मक पेलाइले गर्दा हाम्रा परम्पराहरु मासिँदै गएका देखेकै हुँ ।

‘सत्यहाङमा’ सम्प्रदायमा लिम्बूजाति मात्रै नभएर अन्य किरात जातिसमेतको प्रवेश हुँदा यो सम्प्रदाय लिम्बूजातिमा मात्र सीमित नरहेर विशुद्ध वा औपचारिक धर्म (Formal Religion) का रुपमा विकसित हुँदै जानु स्वाभाविक थियो । त्यसैले ‘सत्यहाङमा’ पन्थले नाम रुपान्तरित हुँदै किरात ‘हाङसाम साम्यो’ अथवा किरात धर्म हुन पुग्यो । अर्को शब्दमा भन्दा ‘सत्यहाङमा’ पन्थ रुपान्तरित हुँदै किरात ‘हाङसाम साम्यो’ अथवा किरात धर्मका रुपमा विकसित भएपछि कुनै एकजातिमा सीमित नहुने शुद्ध धर्मका रुपमा स्थापित हुन थाल्यो ।

यसरी हिजो राज्यको पेलाइका कारण लिम्बूको मौलिक संस्कृतिमाथि जबरजस्त प्रहार भयो, आज अर्कै तरिकाले सांस्कृतिक विचलन आउन थालेर लिम्बू धर्म र संस्कृति पेलाइमा परिरहेको यथार्थ हो । त्यस्तो पेलाइ नहोस् भनेर केही सचेत लिम्बू साथीभाइहरुले लिम्बू मौलिक धर्म, जो उनीहरुको साझा आस्था र विश्वासको प्रणाली हो, त्यही धर्म, अथवा उनीहरुको साझा आस्था र विश्वासको प्रणालीलाई ‘युमा’ धर्म भन्नुपर्छ भन्ने प्रस्ताव राखेका हुन् ।

ईश्वरको साकार रुप युमा हामी लिम्बूजातिकी आराध्य देवी हुन् । महागुरु फाल्गुनन्द समेतले ईश्वरको साकार रुप युमा नै मूल प्रकृति र देवी हुन् भन्ने उपदेश दिँदै युमाको महत्व र उच्चस्थानको सन्देश स्त्रीभेष धारण गरेर दिनुभएको छ ।

किरात धर्म र लिम्बू धर्ममा के फरक  ?

हामी लिम्बूजातिले मात्र पालन गरी ल्याएको धर्म हाम्रो लिम्बू लोकधर्म हो । लिम्बूजातिको धर्मलाई संस्कृतिप्रधान धर्म भन्न सकिन्छ । लिम्बूजातिले मात्र पालन गरी ल्याएको हुनाले यो लिम्बूजातिको जातीय धर्म हो । त्यसैले लिम्बू समुदायले पालन गर्ने लोकधर्ममा प्रवेशका लागि कान फुक्ने वा शब्दी मन्त्र दिने जस्ता कुनै खास औपचारिक विधिविधान गरिरहन पर्दैन । लिम्बू भएर जन्मे पुगिहाल्छ ।

शदियौंदेखि हाम्रो धार्मिक परम्परालाई मुन्धुमका माध्यमबाट हाम्रा फेदाङ्मा, साम्बा, येबा र येमाले मुखमुखै गाएर ल्याएका छन् । त्यसैले हाम्रो मुन्धुमलाई हामी हाम्रो श्रुतिपरम्परा मात्र नभएर श्रुतिशास्त्र पनि भन्छौं ।

त्यसोभए केही किरात वा लिम्बूहरुले नै मान्दै आएको ‘सत्यहाङमा’ पन्थ नै रुपान्तरित हुँदै किरात ‘हाङसाम साम्यो’ अथवा किरात धर्म बनेको हो ? यही नै किरात वा लिम्बू धर्म होइन त ?

विशुद्ध शास्त्रीय धर्म खास प्रकारको धार्मिक विश्वासमा आस्था राखेर निर्माण भएको हुन्छ । कुनै महान पुरुष अथवा आदर्श गुरुको शिक्षा, उपदेश र वचनमा टेकेर निर्मित हुन्छ । त्यसरी नै त्यस्त्ाा धर्ममा प्रवेशका लागि दीक्षा र केही विधिविधान अनिवार्य हुन्छन् ।

उदाहरणका लागि इसाई धर्ममा लाग्नेहरुलाई पहिले पानीमा डुबाएर दीक्षित गरिन्छ । यसलाई बपतिस्मा गरेको भनिन्छ । यसरी ईसाई धर्म ग्रहण गर्न निश्चित विधिविधानबाट गुज्रनुपर्छ । हिन्दु धर्म पालन गर्नेहरुमा पनि ब्रतवन्धमा गायत्री मन्त्र सुनाउनुपर्छ । महागुरु फाल्गुनन्दले प्रतिपादन गर्नुभएको सत्याहाङमा धार्मिक पन्थमा पनि कान फुक्नुपर्ने अथवा शब्दी दिने विधानको व्यवस्था छ । त्यसो नगरे उसले भनेको किरात धर्ममा प्रवेश सम्भव हुँदैन । तर, माथि भनिएझैँ लिम्बूले पालन गरी ल्याएको लिम्बू लोकधर्ममा यस्तो औपचारिकता हुँदैन । लिम्बू भएर जन्मे भइहाल्छ भनेको हो ।

तर, यसरी लिम्बूको मात्र कुरा गर्दा किरात धर्म नै कमजोर हुने भयो र यसले किरातका चार जातिबीच फुट ल्यायो भन्नेहरु पनि छन् नि ? यसबारेमा के भन्नुहुन्छ ?

मैले लिम्बूको मात्र कुरा नगरेर उदाहरणका रुपमा मात्र लिम्बूजाति र उसले मात्र पालन गरेको धर्मको चर्चा गरेको हुँ । फुट ल्याउन खोजेकै होइन । हिजो पनि लिम्बुहरुका लौकिक धर्म र पर्वहरु अलग थिए, आज पनि अलग छन् । खम्बु (राई) हरुको धार्मिक परम्परा र पर्वहरु अगल छन् । याक्खा र सुनुवारहरुका पनि लौकिक धर्म र पर्वहरु अलग-अलग छन् । सबै आफ्नै स्वत्वको अस्तित्वमा बाँचिरहेका छन् ।

सरकारले अस्ति भर्खरै बुद्धपूणिर्मा र किँरातहरुको उभौली पर्वका लागि किरात चाड भनेर एक दिन छुट्टी दिएको थियो । तर, किरातमा अटाएका चार जातिले यो पर्वलाई आ-आफ्ना मौलिकतासहित फरक-फरक तरिकाले धुमधामसँग मनाए । एउटै भए त सबैले आफ्नो पर्व एकै ठाउँमा मनाउनु पर्दथ्यो । किन मनाएनन् त ? किनभने, हामी आ-आफ्ना विशिष्टताले अलग पनि छौँ र हौं पनिं । यसरी नै हामी सबै एउटै मूलका हुँदा अलग भएर पनि एक छौँ ।

लिम्बुसहित सबै चार किरात जाति (लिम्बू, खम्बू, याक्खा र सुनुवार) ले ०४८ सालको जनगणनामा त किरात धर्म नै लेखाएका होइनन् ?

चार किरात जाति (लिम्बू, खम्बू, याक्खा र सुनुवार) ले किरात धर्म लेख्नु हाम्रो वाध्यता थियो ।

कस्तो बाध्यता ?

सुरुमा इतिहास बुझ्नुहोस् । किरात भनेको एउटा महाजाति अथवा महावंश हो । नेपालको हिमाल तथा पहाडी भूभागमा बस्ने भोटबर्मेली भाषा परिवारको भाषा बोल्ने अधिकांश जातिहरुलाई प्राज्ञिक क्षेत्रले किरात हुन् भनेर जान्दछन् । यसको इतिहास महाभारतकालको किरात र नेपाल उपत्यकाभित्र २९ देखि ३३ पुस्तासम्म नेपालमा शासन गर्ने किरात वंंशसम्म पुग्छ ।

हिन्दूधर्मको वर्चश्व तथा राज्यले लिएको एकल धार्मिक नीति र अन्य धर्मप्रतिको असशिष्णुता र राज्यबाट सिर्जित त्रासका बीचमा आफूलाई बचाउन गाह्रो भयो । त्यसमाथि बढ्दो क्रिश्चियन धर्मको प्रभावलाई रोक्न जरुरी थियो

समय बित्दै गएपछि केहीले आफ्नो परम्परा बिर्सिए र बौद्ध धर्मालम्बी भए । केही हिन्दु भए । बाँकी रहेका लिम्बू, खम्बू याख्या, सुनुवारले मात्र आज पनि गर्वका साथ आफूलाई किरात भनिरहेको अवस्था छ ।

धर्मका सम्बन्धमा हिन्दूधर्मको वर्चश्व तथा राज्यले लिएको एकल धार्मिक नीति र अन्य धर्मप्रतिको असशिष्णुता र राज्यबाट सिर्जित त्रासका बीचमा आफूलाई बचाउन गाह्रो भयो । त्यसमाथि बढ्दो क्रिश्चियन धर्मको प्रभावलाई रोक्न जरुरी थियो । यस्तो अवस्थामा ०४८ सालमा सबै प्रकृतिपूजक तथा कुनै न कुनै रुपमा मुन्धुमलाई मान्ने किरात मूलका जातिहरुलाई एक बनाएर लैजाने प्रस्ताव भयो ।

यसमा तामाङ, गुरुङ, मगरजस्ता जातिलाई पनि समेट्ने प्रयास गरिएको थियो । तर, उहाँहरुले आफूलाई किरात भन्न नमानेपछि लिम्बू, खम्बू, याख्या र सुनुवार गरी चार किरात मूलका जातिहरुले आ-आफ्ना परम्परागत धर्मलाई एकमुष्ठ किरात धर्म भन्ने अभियान शुरु गर्‍यौं ।

यसको कारण के भने छरिएर रहँदा हाम्रा स-साना धर्म र तिनको परम्पराको अस्तित्वको अर्थ रहने अवस्था उसबेला थिएन । थोरै भएकाले राज्यले चिन्न पनि गाह्रो हुन्थ्यो । जनगणनामा उल्लेख पनि नहुने स्थिति थियो, अर्थात अन्यभित्र परेर हराउने अवस्था थियो । त्यसैले एकमतले हामीले किरात धर्म भनेर जाँदा त्यो राज्यको आँखामा पर्दथ्यो र यही कारण ०४८ सालको जनगणनामा यी चार जातिले धर्मको महलमा आफ्नो धर्म भनेर किरात धर्म लेखाए । त्यो निर्णय एकप्रकारले राजनैतिक निर्णयबाट गरिएको गठबन्धनजस्तो थियो ।

त्यसैले किरात धर्म लेख्ने तर लिम्बूले आफ्नै तरिकाले, खम्बूले आफ्नै तरिकाले, याक्खा र सुनुवार आ-आफ्नै तरिकाले किरात धर्म अनुसरण गर्ने कुरा थिए । किरात धर्म नाम हुनासाथ चारै किरातले एउटै धर्म मान्ने भन्ने कुरा थिएन । योबेला त्यसरी आफ्नो अस्तित्व जोगाउन धेरै सफल भइयो । यो क्रम ०६८ सालको जनगणनामासम्म चलेकै हो ।

अब अहिले देश एकप्रकारले धर्मनिरपेक्ष भएको छ । तर, पनि हिन्दुधर्मको हैकम र त्रास जीवितै छ, सकिएको छैन । त्यसमाथि राज्य व्यवस्था बाहेक पनि हामी आफैंभित्रबाट उत्पन्न विविध विचार र कर्मले हाम्रा मौलिकतामा सङ्कट देखा पर्दा आ-आफ्नो मौलिकतासहितको धर्मलाई बुझिने गरी लैजाऔं भन्ने हो । हिजो किरात धर्मको छाहारीभित्र बसेर पनि आ-आफ्नै धर्म मानिरहेका थिए । आज त्यो आवश्यक छैन भनेका हुन् ।

यदि मेरा कुरा बेठीक भए वा असत्य भएमा किरातजन्य जातिहरुले प्रष्ट भनून् कि उनले मानेको किरात धर्म कुन हो ? सत्यहाङमा पन्थबाट रुपान्तरित किरात धर्म तिनको धर्म हो त ?

हिजो किरात धर्म लेखाउन पश्चिमा शक्तिले तपाईंहरुलाई सहयोग गरेको आरोप छ, आज त्यही शक्तिले फुटाएको कुरा पनि गरिँदैछ, यसमा कत्तिको सत्यता छ ?

गणतन्त्रसँगै धर्मनिरपेक्षता हुनुपर्छ भन्नेकुरामा स-साना र सीमान्तकृत विभिन्न धर्महरुको समझदारी थियो होलासम्म भन्न सकिन्छ । किनभने, हामी पनि हाम्रो धार्मिक, सांस्कृतिक परम्परा र अस्तित्व स्वतन्त्र रहेको चाहन्थ्यौं । मुद्दाका आधारमा समान ध्येय भएकाहरुको उसबेलाको समझदारी हुन सक्छ ।

तर, हिजो सहकार्य यिथो भनेर आरोप लगाउनेहरु र धर्म निरपेक्षताको अभियानलाई कमजोर पार्ने तीन तत्वहरु छन् । त्यसको विस्तृत चर्चा गर्न चाहन्छु ।

(१) भारतमा विद्यमान हिन्दू धार्मिक कट्टरपन्थबाट प्रभावितहरुको सुनियोजित आरोप मात्र हो । गुदी कुरा के हो भने केही लिम्बूहरुले युमा धर्म सम्मेलन गरेर युमा धर्म नामाकरण गरी लिम्बूजातिको अस्तित्व नामेट नहोस् भनेर आफ्नो मौलिकताको रक्षाका लागि गरेको प्रयत्न मात्र हो ।

(२) लिम्बूहरुको बहुसंख्या रहेको सत्यहाङमा पन्थ अथवा किरात हाङसाम धर्मका अनुयायीहरुले युमाधर्मी हुँ भन्नेहरुलाई आवेशमा आएर लगाएको क्षुद्र आरोप मात्र हो । आफ्नो मौलिक धर्म, संस्कृति बचाउँछु भन्दा क्रिश्चियन धर्मको प्रभावमा परेर गरेको काम भन्न मिल्छ र ?

(३) अर्को कारण, दाउ हेर्दै बसेका क्रिश्चियन धर्मवालाहरु पनि यस्तो अपि्रय बहसले लिम्बू र समग्र किरात कमजोर हुन थाल्छन् अनि मौकाको फाइदा उठाइहालौं भनेर विवादमा सरिक भएका पनि हुन सक्छन् ।

अहिले हाम्रो जाति वा समग्र किरात महावंशभित्र आएको तरङ्गका पछाडि यी तीन तत्व कारणका रुपमा छन् कि भन्ने अनुमानसम्म गरेको हो । नत्र लिम्बुहरु मिलेर परम्पराको संरक्षण गरौं, सुधारका नाममा हाम्रो अस्तित्व नै मेटिन नदिउँ भन्ने कुरा गर्दा कुन चाहिँले विरोध गर्छ र ? । आखिर युमा धर्मसभाले गर्न खोजेको र भनेको पनि त्यही र त्यति त हो नि ।

त्यसो भनेपछि तपाई ‘युमा धर्म’को पक्षमा हुनुुहुन्छ ?

म पक्ष र विपक्ष दुबैमा छैन । पक्ष र विपक्ष दुई विपरीत कुरा हुन् । केवल सुधारका नाममा लिम्बुहरुको परम्परागत धर्म, संस्कार र संस्कृति मासिनुहुँदैन । किरातको बृहत्तर छातामुनि बस्दा त्यो मासिन्छ भन्ने पनि छैन ।

तर, यो विवादका कारण कतिपयले लिम्बू-लिम्बूबीच र कतिले समग्र किरातहरुबीच समस्या ल्याउँछ भन्ने कुरा गर्छन् । यसमा के भन्नुहुन्छ ?

यस्ता कुरा बढी नै अनुमान र कल्पनाका कुरा हुन् । समग्र किरातबीच फूट आउँदैन । किरात धर्म भनेको लिम्बूले मान्दा किरात (लिम्बू) धर्म हो । राईले मान्दा किरात (राई) धर्म हो । याक्खाले मान्दा किरात (याक्खा) धर्म हो । र, सुनुवार मान्दा किरात (सुनुवार) धर्म हो ।

यदि मेरा कुरा बेठीक भए वा असत्य भएमा किरातजन्य जातिहरुले प्रष्ट भनून् कि उनले मानेको किरात धर्म कुन हो ? सत्यहाङमा पन्थबाट रुपान्तरित किरात धर्म तिनको धर्म हो त ?

अब, लिम्बू-लिम्बूका बीचमा मारामार आदिका विषयमा मैले उक्त सभामा नै भनेको छु, हाम्रो मत फरक हुन सक्छ तर आफ्नो मत राख्दा अरुलाई क्षति पुग्ने गरी राख्नुहुँदैन । अझ महागुरु र गुरुहरुलाई त हामीले नै सम्मान गरौं, श्रद्धा गरौँ । एकअर्का बीच भद्रतापूर्वक वैचारिक कुरा राखौं ।

तर, मुसलमानको सिया र सुन्नीजस्तो, क्रिश्चियनको क्याथोलिक र प्रोस्टेस्टेन्टजस्तो को ठूलो र को असली भन्ने कुरा नगरौं । यो मैले धरानको सभामा पनि भनेको हो, अहिले पनि भन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment