Comments Add Comment

‘हाउ फन्नी’देखि ‘कोहलपुर एक्सप्रेस’सम्मः महिला केन्द्रित फिल्म कति पावरफूल ?


पुरुषप्रधान नेपाली समाजको प्रतिबिम्ब नेपाली चलचित्रमा राम्रैसँग देख्न सकिन्छ । प्रायः नेपाली चलचित्रहरु नायक केन्द्रित छन् । अझै पनि चलचित्रको पर्दामा नायिकाको काम नायकसँग डाँडामा नाच्ने र रोनाधोन गर्नेमै सिमित छ । समग्रमा उनीहरु ‘शो पिस’भन्दा माथि उठ्न सकेका छैनन् । नायिकाको सामान कसैले चोर्‍यो भने पनि नायक नै आइपुग्नुपर्छ, नायिकालाई गुण्डाले जर्बजस्ती गर्न लाग्यो भने पनि नायक नै आएर फाइट खेल्नुपर्छ ।

हुन त नेपाली फिल्ममा यो रोग भित्रिएको बलिउडबाट हो । तर, पछिल्लो समयमा बलिउडमा नारीप्रधान चलचित्रहरु बढिरहेका छन् । विद्या बालन, श्रीदेवी, दीपिका पादुकोण, माधुरी दिक्षित, रानी मुखर्जी लगायतका नायिकालाई केन्द्रमा राखेर ‘मम, इङ्लिस बिङ्लिस, पद्यमावती, हिच्की’ जस्ता चलचित्र बनेका छन् ।

नेपालमा पनि फाट्टफुट्ट केही चलचित्र बनेका छन्, जसले महिलालाई सेन्ट्रल पोइन्टमा राखेर कथा बुनेका छन् । पछिल्लो कालखण्डको कुरा गर्दा गत वर्ष चलचित्र ‘हाउ फन्नी’ रिलिज भएको थियो । यो चलचित्रमा नायिका प्रियंका कार्की र केकी अधिकारी सेन्ट्रल क्यारेक्टरमा थिए । हुनत, यो चलचित्रमा नायक दयाहाङ राई पनि थिए, तर हाबी दुई नायिका नै भए ।

चलचित्रले औषत व्यापार गर्‍यो । कमेडी जनरामा बनेको यो चलचित्रले हलमा दर्शकलाई हँसायो, तर खासै बलियो प्रभाव भने पार्न सकेन । कारण, यो चलचित्रमा गहन बिषयवस्तु भन्दा पनि हल्काफुल्का कमेडी संवादले भरिएको थियो ।

केही बर्ष अगाडि नायिका प्रियंका कार्कीलाई केन्दि्रय भूमिकामा राखेर चलचित्र ‘सुन्तली’ बनेको थियो । यो चलचित्रले उल्लेख्य व्यापार गर्न सकेन । तर, प्रियंकाले संभवत आफ्नो करिअरमा सबैभन्दा बढी तारिफ यो चलचित्रबाट पाएकी थिइन् होला ।

केही बर्ष अघिसम्म नेपालमा महिला केन्द्रित चलचित्र धेरै संख्यामा बन्थे । नायिका निरुता सिंह, रेखा थापाले यो ट्रेन्डको नेतृत्व गरेका थिए । निरुता त्यतिबेला नायक सरहको पारिश्रमिक लिने नायिकाको रुपमा चिनिन्थिन् । चलचित्रका कथा उनले बोकेकी हुन्थिन् । त्यसपछि, आएकी नायिका रेखा थापाले पनि महिला केन्द्रित चलचित्रमा फोकस नगरेकी होइनन् ।

‘काली, हिम्मतवाली, रामप्यारी, रुद्रप्रिया’ लगायतका चलचित्रमा रेखा हाबी छिन् । तर, यी चलचित्र कमर्सियल भ्यालूमै घुम्दा त्यस्तो पावरफूल प्रभाव पार्न भने सकेनन् ।

यो बर्षको सुरुवातमा प्रदर्शनमा आएको ‘कोहलपुर एक्सप्रेस’ महिला केन्द्रित चलचित्र हो । ३ नायिकाले चलचित्र बोकेका छन् । नायिका केकी अधिकारी, प्रियंका कार्की र ऋचा शर्माको वरिपरी चलचित्र घुमेको छ ।

चलचित्र सफल भयो भन्दै यसको निर्माण यूनिटले केक काट्दा निर्देशक विशाल भण्डारीले भनेका थिए-‘नायिकालाई सेन्ट्रल क्यारेक्टरमा राखेर चलचित्र बनाउँदा जोखिम लागेको थियो । तर, अब यस्ता प्रयास अरुले पनि गर्नुपर्छ ।’

चलचित्रले अहिले हलमा राम्रै व्यापार गरिरहेको छ । केकीको भूमिकाले सर्वत्र प्रशंसा पाउँदा ऋचाको भूमिका भने आलोचित बनिरहेको छ । तर, पनि ३ नायिकाको बलियो उपस्थितिले चलचित्रलाई दमदार बनाएको छ । यो चलचित्र दर्शकले हलमा हेरुन्जेल मनोरञ्जन लिन्छन् ।

बलिउडमा महिलालाई सेन्ट्रल क्यारेक्टरमा राखिएका चलचित्रले गहन बिषय बोकेका हुन्छन् । ती चलचित्रमा समाजमा प्रत्यक्ष प्रभाव पार्न सक्ने क्षमता हुन्छन् । ‘मम, इङलिस बिङलिस, हिच्की’ लगायतका चलचित्र यसका उदाहरण हुन् ।

तर, नेपालमा अझै पनि पावरफूल बिषयमा महिला हिरो भएका चलचित्र बनेका छैनन् । केकी अधिकारी, प्रियंका कार्कीले यस्ता चलचित्रमा काम गरे पनि ती चलचित्र हल्काफुल्का मनोरञ्जनमा सिमित छन् ।

यसैले, ‘हाउ फन्नीदेखि कोहलपुर एक्सप्रेस’सम्म आइपुग्दा यसले संकेत त सुखद गरेको छ । तर, प्रभाव न्यून पारेको छ । दर्शकले रेखा थापा, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा जस्ता नायिकाबाट यो भन्दा गहन बिषयको अपेक्षा गरिरहेका छन् ।

चलचित्र ‘छक्का पन्जा’ हेरिरहँदा महिलालाई चड्कन लगाउने दृश्यले आफूलाई निकै रिस उठेको बताएकी थिइन् नायिका ऋचा शर्माले । उनैले चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा पुरुषको मनोरञ्जनको साधन मात्र बन्न कसरी स्विकार गरिन्, यो आफैमा उदेकलाग्दो छ । पुरुषको अगाडि अर्धनग्न भएर नाच्ने, पैसाका लागि ३ जना पुरुषसँग रात बिताउने र गर्भ बोक्ने बिषयले ऋचाको भनाई र गराइमा धेरै नै अन्तर देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment