Comments Add Comment

मोदीलाई अभिनन्दन गर्न विद्यासुन्दरले बनाए १८ उपसमिति, पखालिँदै सडक

फाइल फोटो

२४ वैशाख, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दन कार्यक्रमको तयारीलाई महानगरले तीव्रता दिएको छ । प्रधानमन्त्री काठमाडौं रहँदा आवागमन गरिने सडकको भौतिक अवस्था तथा सरसफाइमा विशेष ध्यान दिइने छ । केही मुख्य सडकहरु पखाल्ने योजना महानगरको छ ।

यस्तै १० भन्दा स्थानमा स्वागतद्वार बनाउने, सडक किनाराका पोलमा झण्डा राख्ने, कार्यक्रमस्थल राष्ट्रिय सभा गृहको मर्मत, सम्भार, रंगरोगन गर्ने काम पनि गरिँदैछ ।

मोदीको भ्रमणका क्रममा महानगरले पूरा गर्नु पर्ने जिम्मेवारीलाई व्यवस्थित गर्न क्षेत्रगत कामको बाँडफाँड गर्दै १८ वटा उपसमिति गठन भएका छन् । ती उपसमितिले सम्पादन गर्नुपर्ने कामका विषयमा महानगरको वैठक कक्षमा छलफल भएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, कायममुकायम प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला र उपसमितिका संयोजकहरुबीच भएको छलफलमा तयारीका धेरै काम पूरा भएको जानकारी दिइएको छ ।

‘पाहुनाको स्वागतमा कमी नगरौं, तर यसको नाममा एकछिन देखिने, पाहुना गइसकेपछि अवशेष बाँकी नै नहुने गरी काम नगरौं । सँधै नागरिकलाई जस्तो सेवा दिएको छौं, त्यसलाई थप व्यवस्थित गरौं र त्यसबाट प्राप्त भएको अवस्थालाई निरन्तरता दिऔं,’ शाक्यले भने ।

उपमेयर खड्गीले सहरी सुन्दरता र तार व्यवस्थापनमा बढी गुनासो आएको जनाउँदै यसतर्फ समयमै काम गर्न उपमितिलाई आग्रह गरिन् । ‘हामीले हाम्रा कामको प्रभावकारिता बढाउनुपर्छ । त्यसका लागि नियमित बजेटबाट के गर्न सकिन्छ, त्यो पहिले हेर्नोस्, यदि त्यसले नपुग्ने भए अपुग बजेटको कुरा गरौंला । तर बेला यही हो भनेर खर्च नगर्नोस’ वैठकमा प्रमुख प्रशासकीय अधिकृत कोइरालाले उपसमितिका संयोजकहरुलाई भने ।

भारतका प्रधानमन्त्री मोदी बैशाख २८ गते नेपाल आउँदै छन् । बैशाख २९ गते दिउँसो साढे २ बजे उहाँ काठमाडौं महानगरपालिकाले प्रधानमन्त्रीलाई गर्ने नागरिक अभिनन्दन तथा नगरको साँचो बुझाउने कार्यक्रम तय गरेको छ ।

यो समारोहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरबासीका तर्फबाट नागरिक अभिनन्दन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment