Comments Add Comment

नेस्लेले ७ अर्ब १० करोड डलरमा गर्‍यो स्टारबक्सको कफी बेच्ने सम्झौता

२५ वैशाख, काठमाडौं । स्विटजरल्याण्डको कम्पनी नेस्लेले स्टारबक्सको कफी बिक्रीका लागि कम्पनीसँग ७१० करोड डलरको सम्झौता गरेको छ ।

हाल नेस्लेले नेस्क्याफे, नेस्फ्रेसो ब्रान्डका कफी बेच्दै आएको छ । पछिल्लो सम्झौतासँगै नेस्लेले अब स्टारबक्सको कफी पनि बेच्ने छ ।

यो सम्झौतापछि वर्षेनी २ सय करोड डलरको कफी बिक्री हुने नेस्लेको विश्वास छ ।

नेस्लेका मुख्य कार्यकारी अधिकृत मार्क श्नाइडरले कम्पनीका लागि कफीको कारोबार निकै महत्वपूर्ण रहेको र यो सम्झौतासँगै उत्तरी अमेरिकामा कारोबार बिस्तार गर्ने बलियो अवसर मिलेको बताएका छन् ।

श्नाइडर दुई वर्षअघि नेस्लेको मुख्य कार्यकारी अधिकृत बनेका थिए । नेस्लेको एक सय वर्षे इतिहासमा कम्पनीभन्दा बाहिरबाट सीधै कार्यकारी अधिकृतको ओहदा पाउने श्नाइडर पहिलो व्यक्ति हुन् ।

नेस्लेले भनेको छ सम्झौताको माध्यमबाट स्टारबक्सका करिब पाँच सय कर्मचारी नेस्लेमा आवद्ध हुनेछन् । यद्यपि यस सम्झौतालाई रेगुलेटरी मन्जुरी मिल्न बाँकी छ । यो यसै वर्षको अन्तिमतिर पूरा हुने अनुमान छ ।

गत वर्ष नेस्लेले क्यालिफोर्नियाको कम्पनी ब्लु बोटल कफीको ६८ प्रतिशत शेयर ४२ करोड डलरमा किनेको थियो । ब्लू बोटल कफीले ग्राहकहरुलाई अनलाइनमार्फत् कफी बेच्दछ । अमेरिका र जापानमा यसको ठूलो बजार छ ।

नेस्लेले हालै अमेरिकामा आफ्नो चकलेट कारोबार गर्ने फेरेरो ग्रुपलाई बेचेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment