Comments Add Comment

‘नाकाबन्दी बिर्सिएका छैनौं, भारतसँग ढुक्क हुन सकिँदैन’

२५ वैशाख, काठकाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता नारायणकाजी श्रेष्ठले दुई देशका प्रधानमन्त्रीको भ्रमण आदान प्रदान हुँदैमा भारतसँग नेपालले ढुक्क हुने आइनसकेको बताए ।

पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका माओवादी नेता श्रेष्ठले अनलाइनखबरसँग भने- प्रधानमन्त्री वा राजनीतिक दलका शीर्षनेताहरु भारत भ्रमणमा जाँदा हरेकपटक राम्रो भयो, नेपाल भारत सम्वन्ध नयाँ उचाइमा पुग्यो भन्ने गरेका छ्न् । तर म यसमा सहमत छैन ।’

माओवादी नेता श्रेष्ठले अगाडि भने- ‘थुप्रै अरु विषयहरु छन्, जुन नेपाल भारतबीच भएका सम्झौता अनुसार भारतले कार्यान्वयन गर्नुपर्ने थिए, जसमा कुनै प्रगति भएको छैन ।’

श्रेष्ठसँग गरिएको नेपाल भारत सम्बन्धबारे कुराकानीः

प्रधानमन्त्री केपी ओली भारतसँग झुकेको भन्नेखालका टिप्पणी सामाजिक सञ्जालमा आउन थालेका छन् । शेरबहादुर देउवाले त ओलीलाई ‘लम्पसारवादी’ नै भनिसके । तपाईले यस घटनाक्रमलाई कसरी लिइरहनुभएको छ ?

नेपाली जनताले नाकाबन्दी त्यति सजिलै बिर्सन सक्दैनन् । नाकाबन्दी खाली आर्थिक मात्र थिएन, नेपाली जनताले ६०/७० वर्षको संघर्षपछि आफ्नो संविधान आफैंले बनाउने-निर्णय गर्ने प्रक्रियामा भारतले हस्तक्षेप गरेको नाङ्गो घटना हो

यो सरकारलाई जनादेश तीन कारणले प्राप्त भएको हो – पहिलोः राष्ट्रिय स्वाधीनता र हितको पक्षमा उभियोस् । दोस्रोः राजनीतिक स्थायित्वका लागि स्थिर सरकार बनोस् र तेस्रोः राजनीतिक परिर्वतनलाई सामाजिक आर्थिक तहसम्म विस्तार गरेर देशलाई समृद्ध बनाउन सकियोस् ।

अहिले प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उहाँले गल्ती गर्नुभयो, भारतसँग झुक्नुभयो, अझ शेरबहादुर देउवाको भाषामा भन्दा लम्पसारवादको शिकार हुनुभयो भन्ने कुरा सत्य होइन । त्यस्तो देखिन्न ।

हो, यत्रो जनादेश प्राप्त सरकारका प्रधानमन्त्री, जसको मुख्य पहिचान राष्ट्रियतासम्वन्धी अडान हो, उहाँ भारत भ्रमणमा जाँदा अलि गुणात्मक ढंगले नै नेपाल-भारत सम्वन्धलाई नयाँ दिशा दिने गरी निष्कर्ष निकालिएला कि भन्ने अपेक्षा थियो । त्यो स्तरको सफलता अहिले नै हात लाग्ने स्थिति भएन, यो सत्य हो । तर, भारतसामू झुक्नुभयो, राष्ट्रियताको अडानमा विचलित हुनुभयो भन्ने सत्य होइन ।

अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणले ओलीको भ्रमणको जगमा टेकेर नेपाल-भारत सम्वन्धलाई नयाँ दिशा दिन सक्छ त ?

आशा गरौं । गम्भीर छलफल होस् ।

तर, मोदी नेपाल आउँदै गर्दा धेरै मानिसले नाकाबन्दी सम्झिरहेका छन नि ?

त्यो त स्वाभाविक छ । नेपाली जनताले नाकाबन्दी त्यति सजिलै बिर्सन सक्दैनन् । नाकाबन्दी खाली आर्थिक मात्र थिएन, नेपाली जनताले ६०/७० वर्षको संघर्षपछि आफ्नो संविधान आफैंले बनाउने-निर्णय गर्ने प्रक्रियामा भारतले हस्तक्षेप गरेको नाङ्गो घटना हो । तर, अब सम्वन्ध सकारात्मक दिशातर्फ जान्छ भने त्यसलाई सम्झिराख्नु वा नकारात्मकरुपमा हेरिराख्न आवश्यक पनि छैन ।

त्यसैले अहिले धेरै भन्न सकिने स्थिति छैन । प्रधानमन्त्री वा राजनीतिक दलका शीर्ष नेताहरु भारत भ्रमणमा जाँदा हरेक पटक राम्रो भयो, कतिपयले त नेपाल भारत सम्वन्ध नयाँ उचाइमा पुग्यो भन्ने गरेकोमा म सहमत छैन ।

अहिले पनि नेपाल-भारत समस्या समाधान भइसक्यो वा सम्वन्ध नयाँ उचाइमा पुग्ने आधार तयार भइसक्यो भन्ने बेला भएको छैन । यसका लागि अझै कुर्नुपर्छ । किनभने थुप्रै समस्याहरु छन् । त्यसलाई कसरी समाधान गरिन्छ, व्यवहारमा हेर्न बाँकी छ ।

भारतले परम्परागतरुपमा जुन दृष्टिकोण राख्दै आएको छ र जुन नीति लिँदै आएको छ, त्यो नीतिमा परिर्वतन साँच्चै भएको हो कि होइन भन्ने प्रष्ट भएको छैन । नेपाल र भारतको असल सम्वन्धका लागि भारतको त्यो दृष्टिकोणमा नै परिर्वतन आवश्यक छ । त्यसैले यसबारे नेतृत्व तहमा गम्भीरतापूर्वक छलफल होस् र नयाँ आधार तयार होस् ।

तर, प्रधानमन्त्री ओलीले त मेरो भ्रमण सफल भयो, नेपाल भारत सम्वन्ध नयाँ उचाइमा पुग्ने आधार बन्यो भन्नेखालकै अभिव्यक्ति दिनुभएको थियो । तपाईले छैन भन्नुभयो । ओलीको भ्रमणमा के हुनुपर्थ्यो ?

पहिलो त, भारतसँगको हाम्रो सम्वन्धको सन्दर्भमा जुन समस्याबाट हामी जुगि्ररहेका छौं, त्यो भ्रमणमा भएको छलफलले मात्र समाधान भयो भन्न सकिने स्थिति हुँदैन । त्यसै पनि व्यवहारमा हेर्नुपर्छ ।

दोस्रोः अहिले नै समाधान गर्नुपर्ने कतिपय विषय वार्तामा उठेका छैनन् र ती विषयहरु समाधान नगरी सम्वन्ध नयाँ ठाउँमा पुग्यो भन्ने आधार हुँदैन । त्यसैले उहाँले के-के गर्नु भएको भए हुन्थ्यो भन्नुअघि म के भन्न चाहन्छु भने भारतीय नेतृत्वसँग एकपटक कुरा गरेकै भएमा अहिलेसम्म भारतले लिएको नीति परिर्वतन भयो भनेर ढुक्क हुने स्थिति हुँदैन । यो गल्ती हुन्छ ।

दोस्रो, केही कुरा त हाम्रै अगाडि छ । नेपालको सार्वभौमिकतामाथि अत्यन्तै भद्दा अतिक्रमणका रुपमा रहेको बिराटनगरको फिल्ड अफिस के भयो ? त्यो त छँदैछ । थुप्रै अरु विषयहरु छन्, जुन नेपाल भारतबीच भएका सम्झौता अनुसार भारतले कार्यान्वयन गर्नुपर्ने थिए, जसमा कुनै प्रगति भएको छैन ।

नेपाली पक्षले कुरा नै राखेन कि राख्दा पनि प्रगति भएन ?

भारतीय नेतृत्वसँग एकपटक कुरा गरेकै भएमा अहिलेसम्म भारतले लिएको नीति परिर्वतन भयो भनेर ढुक्क हुने स्थिति हुँदैन । हामी धेरै पटक ठगिएका छौं, धेरै पटक यस्ता भनाइहरुबाट धोका पाइसकेका छौं

केही छलफल गर्नुभयो । केही छलफल गर्नुभयो कि भएन भन्ने बाहिर आएको छैन ।

सबै कुरा नीतिगतरुपमा सहमति भएको भए पनि विश्वास गरिहाल्ने आधार हुँदैन । त्यसैले छलफल भयो भएन नै थाहा छैन, काम त देखा परेकै छैन । त्यसैले नेपाल भारत सम्वन्ध नयाँ उचाइमा पुग्यो भनेर अतिरञ्जित रुपमा बुझ्नु गलत हुन्छ ।

हामी धेरै पटक ठगिएका छौं, धेरै पटक यस्ता भनाइहरुबाट धोका पाइसकेका छौं । त्यसको अर्थ प्रधानमन्त्री झुक्नुभयो भन्ने पनि होइन । तर, नेपाल भारत सम्वन्ध नयाँ उचाइमा पुग्यो भन्ने पनि सही होइन ।

भन्नाले, मोदी र ओलीबीच एकाध वार्ता गर्दैमा हुँदैन ?

हुँदैन । हाम्रा त एजेण्डाहरु छन् । नेपालको राष्ट्रिय स्वाभिमान, स्वाधीनता र हितको पक्षमा कार्यान्वयन भयो भने अँ ! साँच्चै सुध्रियो भन्ने ठाउँ रहन्छ । यो देखिएको छैन । तर, यो भ्रमणमा जसरी छलफल भयो र विज्ञप्ति आयो, त्यसले विग्रियो भन्न पर्ने ठाउँ भएन ।

मोदीको भ्रमणमा जनकपुरमा नागरिक अभिनन्दन हुँदैछ, प्रधानमन्त्रीले जानकी मन्दिरमा मोदीसँगै पूजापाठ गर्नेछन् । यसलाई कसरी लिने ?

नेपाल र भारतको सम्वन्धमा रहेका समस्याको चर्चा गर्दा हाम्रै पक्षमा भएको दृष्टिकोणको कमजोरी र हीनताग्रन्थीको एउटा प्रवृत्तिलाई पनि ध्यान दिनुपर्छ । हामीले हाम्रो मित्रसँग सौहार्दपूर्ण सम्वन्ध कायम गर्नुपर्छ, नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हित विपरीत छैन भने जायज चासो र सरोकारलाई सम्बोधन गर्न तत्परता पनि देखाउनुपर्छ ।

तर, मानसिकरुपले नै दुई सार्वभौमसत्ता सम्पन्न मुलुक हौं, सम्मान हैसियत राख्ने मुलुक हौं भन्ने विचार र भावनामा दृढ नहुँदासम्म हामीले आफैंलाई तल्लो श्रेणीमा राखेर व्यवहार गरेको देख्नु परिरहन्छ ।

अहिले म धेरै कुरा भन्न चाहन्नँ, छिमेकी मुलुकको प्रधानमन्त्री नेपाल आउँदैहुनुहुन्छ, स्वागत गरौं । तर, मुख्य कुरा नेपाल र भारतको बीचमा रहेका समस्या समाधान गरेर सम्वन्धलाई नयाँ उचाईमा पुर्‍याउनै पर्छ । यसका लागि नयाँ धरातल खडा गर्नुपर्छ । त्यो भनेको भारतले नेपालमाथि गरिरहेको हस्तक्षेपकारी, उत्पीडनकारी व्यवहारलाई अन्त्य गर्नुपर्छ । मुख्य कुुरा यही हो ।

मोदीको आसन्न भ्रमणमा हामी यसरी नै प्रस्तुत हुँदैछौं त ? हिजो नाकाबन्दी लगाउनु गलत थियो, अब यस्तो हुँदैन र नेपालमाथि गरिरहेको हस्तक्षेपकारी व्यवहार अन्त्य गछौर्ं भन्ने प्रतिवद्धता भारतबाट आउनुपर्छ भन्ने अडान हाम्रो सरकारसँग छ त ?

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा मैले यो विषयमा छलफल गरेको छु भन्नुभएको छ । प्रधानमन्त्रीलाई विश्वास गरौं कि उहाँले छलफल गर्नु भएकै हो । अझै आशा गरौं कि उहाँले यसबारे थप छलफल गर्नु हुन्छ ।

तर, मुख्यतः व्यवहारबाटै पुष्टि गर्नुपर्छ । यो सरकारलाई अरुलाई जस्तो छुट छैन । यो सरकारको मुख्य पहिचानमध्ये एक राष्ट्रियतासम्वन्धी अडान हो र त्यसकै निम्ति जनादेश पनि हो । त्यसैले यसले एकातिर नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका पक्षमा दृढतापूर्वक उभिएको र गतकालको नकारात्मक विरासतलाई तोडेको देखिनुपर्छ ।

अर्कोतिर हाम्रो भूराजनीतिक परिवेशप्रति संवेदनशील भएर दुबै छिमेकी मुलुकसँग समनिकतामा आधारिम मैत्रिपूर्ण सम्वन्ध राख्न सफल हुनुपर्छ ।

कतिपय मानिसहरुले भारतसँग सम्वन्ध सुधार गर्ने नाममा चीनसँगको सम्वन्ध प्राथमिकतामा परेन कि भन्ने आशंका गर्छन् नि ?

भारतसँगको सम्वन्ध सुधार चीनबाट टाढा जाने कुनै कारण हुनुहुँदैन । त्यस्तो हो भन्ने पनि मलाई लाग्दैन । भारतसँग सम्वन्ध सुधार गर्ने प्रयत्न गर्नुपर्छ, त्यो भनेको फेरि जोड दिएर भन्न चाहन्छु- हामीले गरेको कुनै गल्ती भए सच्याउने हो तर, मुलभूत रुपमा भारतको दृष्टिकोण, नीति र व्यवहारमा भएको कमजोरी उसैले सच्याउने हो । त्यसका निम्ति हामीले पहल गर्ने हो ।

तर, चीनसँगको सम्वन्धलाई कमजोर पार्ने कुरा पनि हुन सक्दैन । यो मुखले भन्न मात्र होइन, भारत र चीन दुबैसँग समनिकताका आधारमा सम्वन्ध कायम राख्न सफल हुनैपर्छ । एउटासँग निकट हुने, अर्कोलाई अलि पर धकेल्ने भन्ने कुरा नेपालको राष्ट्रिय हितसँग मेल खाँदैन । त्यसैले चीनबाट टाढा जाने भन्ने यो सरकारको नीति छैन ।

भ्रमणको हकमा मलाई व्यक्तिगतरुपमा भन्नुहुन्छ भने यो सरकारले नयाँ सुरुवात गरेको भए पनि हुन्थ्यो । पहिला भारत भ्रमणमै जानुपर्ने, अनि केही तयारी नगरी भारत गइहाल्नुपर्ने ? अलिकति काम गरेर गएपनि हुन्थ्यो नि । सरकार बनेपछि भारत गइहाल्ने, यो मानसिकताको पनि प्रश्न हो र, यो छ भन्ने अहिले पनि देखियो ।

तर, यो प्राविधिक कुरा बन्यो । नेपाल र भारतको सम्वन्धलाई हाम्रो राष्ट्रिय हितअनुसार बनाउन पहल गर्छौं कि गर्दैनौं भन्ने मुख्य कुरा हो ।

तपाई त सत्तारुढ दलको शीर्षनेता पनि हो, मोदी आउँदा सरकारले उठाउने एजेण्डाहरुबारे कत्तिको गृहकार्य भएको छ ?

अहिले छलफल भएको छैन । पार्टी एकता संयोजन समितिकै बैठक पनि बोलाउनुपर्ला । सरकारले आफ्नोतर्फबाट सबै दल, विज्ञ लगायतसँग पनि छलफल गर्ला नै । हामीसँग चाहिँ छलफल भइरसकेको छैन ।

अन्तिममा, हालै मात्र चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भयो । दुई देशको सम्वन्धको असर नेपालमा के पर्ला ?

जहाँसम्म चीन र भारतको सम्वन्ध सुधारको पहलकदमी हो, त्यसलाई हामीले स्वागत गर्नुपर्छ । हामीले यो कुराप्रति सचेत हुनुपर्छ कि दुई ठूला शक्तिहरु मिल्दा उनीहरुले आफ्नो स्वार्थमा मात्र ध्यान दिए भने हामी पिल्सिन्छौं कि Û तर, ठूला छिमेकी सकारात्मक परीणाम आउँछ भन्ने सोच्नुपर्छ र आफ्ना हितहरुको रक्षा कसरी गर्ने भनेर पहल कदमी लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment