Comments Add Comment

गौतमबुद्ध विमानस्थलः तीन वर्षसम्म जग्गाधनीले मुआब्जा पाएनन्

२५ वैशाख, बुटवल । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थलको स्तरोन्नतिका लागि जग्गा उपलब्ध गराएका स्थानीयले तीन वर्षसम्म पनि मुआब्जा पाउन सकेका छैनन् ।

विमानस्थल स्तरोन्नतिका लागि स्थानीय १७ सय ६५ परिवारले जग्गा उपलब्ध गराएकामा हालसम्म २० प्रतिशत परिवारले मात्रै मुआब्जा पाएका छन् ।

७९ विघा क्षेत्रफलमा फैलिएको विमानस्थललाई अन्तर्राष्ट्रिय रुपमा स्तरोन्नतिका लागि आयोजनाले प्रथम चरणमा २ सय ८ विघा र दोस्रो चरणमा १ सय ४० विघा जग्गा अधिग्रहण गरिसकेको छ ।

मुआब्जाका लागि तीन वर्षअघि २३ अर्ब रुपैयाँ अनुमान गरिएकामा हालसम्म ६ अर्ब रुपैयाँ मात्रै वितरण भएको गौतमबुद्ध विमानस्थल सुदृढिकरण आयोजनाका प्रमुख ओम शर्माले बताए ।

मुआब्जा पाउने मध्ये अधिकांशले आंशिक मात्र पाएका छन्, पूरा मुआब्जा पाएका छैनन् । ‘अहिलेसम्म ६ अर्ब बांड्यौं, अब यही आर्थिक वर्षभित्र ५ अर्ब बांड्नका लागि अर्थ मन्त्रालयबाट निकासा भइसकेको छ,’ आयोजना प्रमुख शर्माले भने-‘आउंदो आर्थिक वर्षमा सबै जग्गाधनीलाई मुआब्जा बांड्ने लक्ष्यमा छौं ।’

स्थानीयले भने मुआब्जा वितरणमा ढिलाइ र अनियमितता भएको भन्दै रोष प्रकट गरेका छन् । उनीहरुले क्रमसंख्या अनुसार र एकमुष्ट मुआब्जा दिन माग गरेका छन् ।

जग्गाधनीहरुले मुआब्जामा सरकारले लाभकर लिएकोमा पनि असन्तुष्टी जनाउंदै लाभकर फिर्ता दिन माग गरेका छन् ।

उद्योग ब्यापार संगठन रुपन्देहीले विमानस्थल निर्माण र मुआब्जा वितरणमा भइरहेको ढिलाइ सम्बन्धमा सरोकारवालासंग मंगलबार गरेको अन्तरक्रियामा स्थानीय फैज अहमद खानले आयोजनाले मुआब्जा वितरणमा ढिलाइ गर्दा स्थानीय जग्गाधनी मारमा परेको बताउँछन् ।

अर्का स्थानीय बैजनाथ गुप्ताले आयोजनाले मुआब्जा वितरणमा विभेद गरेको र टाठाबाठालाई मात्र वितरण गरेको गुनासो गरे ।

जग्गाधनी ज्ञानराज पाण्डेले सर्वसाधारणलाई आयोजनाले मुआब्जा दिन आनाकानी गरेको तर जग्गा प्लटिङ गर्ने व्यवसायीलाई चलखेलका आधारमा मुआब्जा वितरण गरिरहेको आरोप लगाए ।

काठमाडौंको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको यो विमानस्थलको काम सन् ०१७ मै सक्ने लक्ष्य लिइएको भएपनि चिनिया ठेकेदार र नेपाली ठेकेदारबीच लेनदेनमा विवाद, निर्माण सामग्रीको अभाव,मधेश आन्दोलन लगायतका कारण निर्माणमा ढिलाइ भएको छ । हालसम्म विमानस्थलको करिब ४० प्रतिशत काम पूरा भएको आयोजना प्रमुख ओम शर्माले बताए ।

स्थानीयको गुनासो सुनेपछि रुपन्देही २ का प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले सबै जग्गाधनीलाई एकमुष्ट मुआब्जा वितरणका लागि आफूले अर्थमन्त्रीसंग अनुरोध गरेको जानकारी गराए । ‘सबै जग्गाधनीले एकमुष्ट मुआब्जा पाउनुपर्छ भन्ने मेरो मान्यता छ,’ भुसालले भने-‘सोही अनुसार मैले अर्थमन्त्रीसंग अनुरोध गरेको छु ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीले मुआब्जा वितरणका लागि गठित प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समितिले प्रभावकारी ढंगले काम नगर्दा ढिला भएको स्वीकार गरे ।

०७१ सालदेखि स्तरोन्नतिको काम शुरु भएको विमानस्थल २०७५ साउन भित्र सम्पन्न गर्ने लक्ष्य छ ।
सन् २०१९ सेप्टेम्बरदेखि अन्तराष्ट्रिय उडान भर्ने लक्ष्य रहेको विमानस्थलमा २०१८ डिसेम्बरसम्म टर्मिनल भवन र २०७५ चैतभित्र धावनमार्ग -रन वे) निर्माण पूरा गर्ने लक्ष्य छ । यो विमानस्थल निर्माण सम्पन्न भएपछि दैनिक १६ देखि २५ हजार यात्रु अवतरण गर्ने अनुमान छ ।
विमानस्थल स्तरोन्नति भएपछि भैरहवामा २ लाख जनालाई रोजगारी सिर्जना हुने आयोजना प्रमुख शर्मा औंल्याउँछन् ।

०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध बिमानस्थललाई स्तरोन्नती गर्न चीनको नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अन्तराष्ट्रिय बिमानस्थलको निर्माण सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment