Comments Add Comment

आंशिक प्राध्यापकको आन्दोलन गैरप्राज्ञिक र अभद्र : अखिल क्रान्तिकारी

कक्षा बहिष्कारको आन्दोलन रोकेर नियमित पठनपाठन गर्न अपिल

रञ्जित तामाङ, अध्यक्ष, अखिल क्रान्तिकारी

२६ वैशाख, काठमाडौं । कक्षा बहिष्कारको आन्दोलन तत्काल रोकेर नियमित पठनपाठन गर्न आंशिक प्राध्यापकहरुलाई माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले अपिल गरेको छ । क्रान्तिकारीले अविलम्ब सेवा आयोगको विज्ञापन खुलाई खुल्ला प्रतिस्पर्धामार्फत प्राध्यापक छनौट गर्न पनि त्रिभुवन विश्वविद्यालय सेवा आयोग र विश्वविद्यालयका पदाधिकारीलाई आग्रहसमेत गरेको छ ।

त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुले करारमा नियुक्तिको मागसहित आन्दोलन गर्दै आएका छन् । आन्दोलनमा सहभागीहरुले पढाएका छैनन् । यसलाई अखिल क्रान्तिकारीले ‘गैरप्राज्ञिक गतिविधि’ र ‘अभद्र आन्दोलन’ भनेको छ ।

बुधबार अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले विज्ञप्ति निकालेर भनेका छन्, ‘त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुद्वारा आन्दोलनका नाममा विद्यार्थीहरुको नियमित पठनपाठन अवरुद्घ हुने गरी भए गरेका गैरप्राज्ञिक गतिविधितर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । लोकतन्त्रमा आफ्ना जायज माग राख्ने हक सबैलाई भएपनि विश्वविद्यालयमा पढाउने प्राध्यापकजस्तो बौद्धिक र सम्मानित ठाउँमा रहेका ब्यक्तिहरुले आन्दोलनको माध्यमबाट करार हुँदै स्थायी हुन खोज्नु र त्यसका निम्ति कक्षा वहिष्कारको बाटो अख्तियार गर्नु किमार्थ उपयुक्त देखिँदैन ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘नातावाद, कृपावाद र राजनीतिक पहुँचका भरमा प्रवेश पाएकै आधारमा विनाप्रतिस्पर्धा प्राध्यापक छनौट गर्ने कुराले विश्वविद्यालयको गुणस्तर र प्राज्ञिक मर्यादा कायम रहन सक्दैन । त्यसैले कक्षा बहिष्कारको अभद्र आन्दोलन तत्काल रोकी नियमित पठनपाठन सुचारू गर्न सबै आंशिक प्राध्यापकहरुलाई अपिल गर्न चाहन्छौं ।’

विश्वविद्यालयका प्राध्यापकदेखि लिएर पदाधिकारीसम्म खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्त गरिनुपर्ने दृढ मान्यता अखिल क्रान्तिकारीको रहेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् अखिल क्रान्तिकारीको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment