Comments Add Comment

ओली लम्पसार परेको भनिहाल्न मिल्दैन : माग्नेबुढा

देशको जल्दोबल्दो विषयमा मुख खोलिहाल्ने कलाकार हुन् केदार प्रसाद घिमिरे अर्थात् माग्नेबुढा । सामाजिक सञ्जालमा आफ्ना विचार खुलेर अभिव्यक्त गर्दा उनी बेलाबेला विवादमा पनि आएका छन् ।

यतिबेला मुलुक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले तातेको छ । सामाजिक सञ्जालमा यो भ्रमणलाई लिएर अत्यधिक नकारात्मक टिप्पणीहरु भइरहेका छन् । तर, माग्नेबुढा यो विषयमा भने मौन छन् । हामीलाई जान्न खसखस लाग्यो, मोदीको नेपाल भ्रमण र उनको स्वागतमा सरकारले देखाएको रवैयाप्रति माग्ने्बुढाको विचार के हो ?

विवादमा पर्ने डरले होला उनले सन्तुलनमा रहेर कुरा गरे । उनले छिमेकी देशको प्रधानमन्त्रीलाई भव्य स्वागत गर्दैमा प्रधानमन्त्रीलाई लम्पसार परेको भनिहाल्न नमिल्ने तर कतिपय कुराहरुमा उनी चुकेको बताए ।

‘छिमेकी देशका प्रधानमन्त्रीलाई भ्रमणमा निम्त्याउनु र भ्रमणमा आउँदा न्यानो आतिथ्य प्रदान गर्नु सरकारको दायित्व नै हो । यस हिसाबले मोदीको स्वागतका लागि भइरहेको तयारीलाई हामीले अन्यथा रुपमा लिनुहुँदैन,’ उनले भने ।

यद्यपि, नेपालमा नाकाबन्दीपछि भारतविरोधी भावना बढिरहेको बेलामा सरकारले केही कुरामा विचार पुर्‍याउन नसकेको उनी बताउँछन् ।

‘मोदीको सुरक्षाका नाममा सिभिल ड्रेसमा सयौं भारतीय सुरक्षाकर्मी आएको र रेकी गरेको सुनेको छु । यो राम्रो होइन । कुनै पनि देशको विशिष्ट पाहुनालाई सुरक्षा दिन हाम्रै सुरक्षा संयन्त्र संक्षम छन् । यसमा नेपाली सेनाले पनि बोल्नुपथ्र्यो,’ माग्नेले भने ।

२ नम्बर प्रदेशको सरकारले भने शिष्टाचारका नाममा बढि नै चाकडी प्रदर्शन गर्न खोजेको उनले टिप्पणी गरे ।

‘भ्रमणको नाममा सार्वजनिक विदा दिने, जनतालाई घरघरमा कलश राख्न उर्दी गर्ने, मास्क लगाएर हिँड्न प्रतिवन्ध गर्ने जस्ता कुराहरु अनावश्यक र अनुचित हुन् ।्

नागरिक अभिनन्दनको विषयमा उनले भने, ‘नेपालको प्रधानमन्त्री भारत जाँदा गुजरातमा नागरिक अभिनन्दन गरिएको थियो भनेर परराष्ट्रमन्त्रीज्यूले भन्नुभएको छ । त्यसो हो भने नेपालमा पनि उहाँलाई अभिनन्दन गर्नु अन्यथा नहोला । कुनै कुरा ऐंचोको पैंचो पनि गर्नुपर्छ ।’

भारतीय प्रधानमन्त्री जनकपुरबाट नेपाल प्रवेश गरेको चाहिँ माग्नेबुढालाई चित्त बुझेको छैन ।

उनी भन्छन्, ‘दुई नम्बर प्रदेश नेपालको संवेदनशील क्षेत्र हो । यो प्रदेशमा पहिलेदेखि नै विभिन्न नाममा लफडा भइरहेको छ । भारतीय प्रधानमन्त्री यही प्रदेशमा भित्रिन चाहनु शंकाष्पद कुरा हो ।’

प्रक्रियाका कुराहरु जे भए पनि यो भ्रमणलाई फलदायी बनाउन सरकार लाग्नुपर्ने उनको सुझाव छ । उनले सिमानामा नेपालीहरुमाथि भारतीय सुरक्षाकर्मीबाट हुने गरेका अत्याचार तथा सिमा अतिक्रमणका कुरालाई जोडतोडले उठाउन सुझाव दिए । यसैगरी सिमावर्ति क्षेत्रमा एकतर्फी बाँधले निम्त्याएका समस्या, १९५० को सन्धी पुनरावलोकन, नोटबन्दीका कारण नसाटिएका भारु नोटहरु लगायतका विषय पनि निर्धक्क उठाउनुपर्ने उनको भनाई छ ।

‘विगतमा बीसौं वर्षसम्म भारतबाट नेपालमा उच्चस्तरीय भ्रमण नभएको अवस्था थियो । अहिले मोदी नै तीन पटक आइसक्नुभयो । यसबाट भारतले नेपाल सम्वन्धलाई प्राथमिकता दिएको नै मान्नुपर्छ,’ माग्नेबुढाले भने ।

फेरि थपे, ‘तर, भुकम्पले थिलथिलो भएको बेला नाकाबन्दी लगाएर भारतले दिएको चोटलाई नेपालीले बिर्सेका छैनन्, र बिर्सने पनि छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment