Comments Add Comment

नेपालका वस्तु निर्यातमा सहज पहुँच दिन भारतीय प्रधानमन्त्री मोदीसँग उपराष्ट्रपति पुनको आग्रह


२८ वैशाख, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ शिष्टाचार भेट गरेका छन् ।

उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भएको भेटवार्तामा नेपाल-भारत सम्बन्ध, आपसी हित र द्विपक्षीय चासोका बारेमा छलफल भएको छ । उपराष्ट्रपति पुनले भारतीय प्रधानमन्त्रीसँगको भेटमा परापूर्वकालदेखिको नेपाल-भारतबीचको सौहार्द र सहयोगात्मक सम्बन्ध भारतीय प्रधानमन्त्री मोदीको कार्यकालको तेस्रो पटकको नेपाल भ्रमणले अझै बलियो र प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

उनले दुई देशबीचको उच्चस्तरीय भ्रमणले सम्बन्धमा उच्च विकास र भावनात्मक रुपमा निकटता ल्याउने काम गरेको बताउँदै नेपाल राजनीतिक रुपमा स्थायित्व हासिल गर्दै समृद्धिको मार्गमा अगाडि बढिरहेकाले नेपालको समृद्धिमा भारत सधैँ सहयोगी हुने विश्वास व्यक्त गरे ।

उनले नेपालको व्यापार घाटा कम गर्दै आर्थिक रुपमा समृद्ध बन्न भारतको सहयोग आवश्यक पर्ने बताए । नेपालले वस्तु निर्यातमा सहज पहुँच र व्यापारमा सन्तुलन चाहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले नेपालले पारवहन तथा आपूर्तिमा बेलाबेला देखापर्ने समस्या सधँैका लागि समाधान चाहेको बताए । उनले नेपालको विभिन्न क्षेत्रमा भारतको ठूलो लगानीको नेपालले अपेक्षा गरेको उल्लेख गर्दै सीमा क्षेत्रमा हुने डुबान र आवतजावतमा देखापर्ने समस्या हल हुँदै जाने अपेक्षा व्यक्त गरे ।

उनले विगतमा दुई देशबीच भएको सहमति र सम्झौता कार्यान्वयनका लागि आवश्यक संयन्त्रको विकास गर्नुपर्ने तथा सम्झौता र सन्धि दुवै देशको पारस्परिक हितअनुकूल र समयानुकूल हुने गरी पुनरवलोकन हुने विश्वाससमेत व्यक्त गरेका उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

भेटमा उपराष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण सफल रहेकामा खुशी व्यक्त गर्दै मुक्तिनाथ भ्रमणको सफलताका लागि शुभकामना दिए ।

उपराष्ट्रपति पुनले भारतीय प्रधानमन्त्रीमार्फत भारतका उपराष्ट्रपतिलाई बधाई तथा शुभकामना दिँदै उचित समय मिलाएर नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिए ।

उपराष्ट्रपतिसँगको भेटमा भारतीय प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न भारत सधैँ तयार रहेको बताउँदै दुई देशबीचको सहकार्यलाई अझै फराकिलो बनाउनुपर्नेमा जोड दिए । भारत र नेपालबीच सहकार्य भए जस्तोसुकै काम पनि गर्न सकिने उनले बताए ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो जनकपुर भ्रमण अत्यन्त सफल र ऐतिहासिक भएको उल्लेख गर्दै नेपाली जनताको उत्साह देखेर आफू थप उत्साहित भएको बताए । भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा भारतका उपराष्ट्रपतिको नेपाल भ्रमण हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment