Comments Add Comment

केपी ओली र मोदीको ‘केमेस्ट्री’ मिल्यो !

मधेसवादीलाई पनि ओलीसँग मिल्न सुझाव ?


२९ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिकरुपमा नेपालको आन्तरिक राजनीतिबारे टिप्पणी नगरे पनि शीर्ष नेताहरुसँगको छलफलमा नेपाल नीतिका सर्न्दभमा भारतले कोर्स करेक्सन गर्न चाहेको प्रष्ट सन्देश दिएका छन् ।

खासगरी भारतबिरोधी भावनाको उपयोग गर्दै सत्तामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बलियो साझेदारी गर्न चाहेको सन्देश मोदीले नेपालका शीर्ष नेताहरुलाई दिएका छन् ।

राजपा नेताहरुलाई भेट्नासाथ भारतीय प्रधानमन्त्री मोदीले भने, नेपालमा हाम्रो कन्सर्न भनेको राजनीतिक स्थित होस्, विकास होस् । यदि नेपालमा अस्थिरता भयो भने त्यसले पनि भारतलाई पनि असर गर्छ । त्यसैले नेपालको विकासमा भारतको सहयोग रहन्छ ।’

त्यसपछि चुनावमा पाएको सफलताका लागि मधेसी नेताहरु वधाइ दिए र एक भएर अघि बढ्न सुझाए ।

प्रदेश २ मा सरकार चलाउने मौका पाएको भन्दै त्यसको सदपुयोग गर्न पनि सुझाएका छन् । जनकपुरमा पाएको सम्मानप्रति खुसी व्यक्त गर्दै उनले प्रदेश २ को विकासका लागि भारतको सहयोग रहने आश्वासन समेत दिएका छन् ।

राजपाका एक नेता भन्छन्, ‘मोदीले सुरुमै राजनीतिक स्थिरता र विकासको कुरा गर्नु भनेको अहिलेको सरकार अघि बढोस् भन्ने चाहना हो भन्ने बुझ्यौं ।’

मोदीले राजपा नेताहरुसँग मात्र होइन, सार्वजनिक मञ्चहरुमा नै नेपाली समकक्षी ओलीको खुलेर प्रशंसा गरेका छन् । भारतले आफूले अघि सारेको सबका साथ सबका विकास र ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान समान भएको भन्दै यसलाई पुरा गर्न पूर्ण सहयोग गर्ने बचन दिए ।

भारत र्फकनुअघि काठमाडौं महानगरले गरेको अभिनन्दन कार्यक्रममा मोदीले भनेका छन्, एक प्रकारले सगरमाथाको बेसक्याम्पमा छौं र शिखरको चढ्नुछ । जसरी पर्वतारोहीहरुले नेपालका शेर्पाको साथ समर्थन पाउँछन्, त्यसरी नै नेपालको विकास यात्रामा भारत शेर्पाको काम गर्न तयार छ ।’

‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताअनुसार अगाडि बढोस्, तपाईको सफलताका लागि भारत नेपालसँग काँधमा काँध मिलाएर हिड्न तयार छ ।’

जनकपुरबाट काठमाडौंसम्म दिएको सार्वजनिक अभिव्यक्ति र आफूहरुसँग भएको भेटमा व्यक्त भारतीय प्रधानमन्त्रीको धारणा विश्लेषण गर्दै राजपाका एक नेताले भन्छन्, ‘मोदी र ओलीको केमेस्ट्री राम्रै मिलेको देखियो ।’

कतिपयले भने प्रधानमन्त्री ओली नरम रुपमा प्रस्तुत भएर काम गर्न सकिन्छ सकारात्मक ढंगले सोचेको देखिएको बताएका छन् । तर, यसलाई आधार बनाएर भारतले आफ्नो अनुकुल वातावरण बनाउने खतरा हुने बताएका छन् ।

ओली र मोदीको निष्कर्ष पनि एउटै

प्रधानमन्त्री ओली र मोदीको कमेष्ट्री मिलेको यसले पनि पुष्टि गर्छ कि भ्रमणलाई लिएर दुबैको निष्कर्ष एउटै छ ।

नेपालबाट उडे लगतै मोदीले ट्वीट गर्दै भनेका छन्, मेरो नेपाल भ्रमण ऐतिहासिक रहृयो । यस भ्रमणले मलाई नेपाली जनतासँग आत्मीय हुने ठूलो अवसर प्रदान गर्‍यो । प्रधानमन्त्री केपी ओलीसँगको छलफल धेरै फलदायी रहृयो ।’

लगतै अर्को ट्वीट छ, यस भ्रमणमार्फत नेपाल भारत सम्वन्धमा नयाँ उर्जा थपिएको छ । म नेपाली जनता तथा नेपाल सरकारले देखाएको न्यानोपनका लागि आभार प्रकट गर्छु ।’

मोदीले यस्तो ट्वीट गरिरहँदा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली पत्रकारहरुसँग भ्रमणको समिक्षा गर्दै थिए ।

मोदीको नेपाल भ्रमण भ्रमण धेरै दृष्टिले अधिक सफल, ऐतिहासिक र सम्झनलायक रहेको भन्दै उनले भने, ‘नेपाल भारतबीचमा रहँदै आएको सम्वन्ध यो भ्रमणपछि अझ सुदृढ बन्ने नेपाल सरकारको विश्वास छ ।’

तीर्थाटनको नाममा सहज प्रवेश

नाकाबन्दीका कारण भारत र मोदीप्रति नेपालमा ‘भारत बिरोधी भावना’ निकै बढेको थियो । भारतीय विश्लेषकहरुले मानेका छन् कि यो यस्तो कूटनीतिक असफलता थियो, जसले नेपालीको मनमनमा भारत विरोधी भाव पैदा गर्‍यो ।

त्यसैले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली जनतासँगको सम्वन्ध पुनस्थार्पित गर्न सहज थिएन । त्यसको समाधानका लागि उनले धार्मिक यात्रालाई अगाडि सारे । ‘नेपाली जनतासँगको सम्वन्धमा एक प्रकारको अप्ठ्यारोपन थियो, त्यसलाई सहज बनाउन तिर्थाटन गरे’ एक नेता भन्छन् ।

जनकपुर कल्चरल पावर सेन्टर

भारतीय प्रधानमन्त्री मोदीले यसअघि नै जनकपुर जान चाहेका थिए । तर, विभिन्न कारणले सम्भव भएन । त्यसैले उनले यो पटक नेपालको प्रवेश नै जनकपुरबाट गरे ।

यो जनकी मन्दिरमा पूजाअर्चनाका लागि मात्र नभएको मधेस केन्द्रीत दलहरुको बुझाइ छ । एक नेता भन्छन्, यसले जनकपुरलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको मात्र छैन, कल्चलर पावर सेन्टर हो भन्ने स्थापित गराएको छ ।’

मोदीको स्वागतका नाममा प्रधानमन्त्री ओलीले पनि जनकपुरमा सहज इन्ट्री पाए ।

जनकपुरमा मोदी र ओलीको ड्रेस एउटै थियो । मधेस जाँदा ओलीले कुर्ता सुरुवाल लगाउने त स्वभाविक थियो तर, केशरिया रंग रोज्नु अर्थपूर्ण भएको नेताहरु बताउँछन् । ‘पहाडतिरको मात्र नेता हो, मधेसले स्वीकार गरेको छैन भन्ने थियो । तर, मोदीले देशकै नेताका रुपमा स्थापित गरिदिए’ राजपाका एक नेताले भने, ‘ओलीले मोदीका लागि केशरिया रंग लगाए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment