Comments Add Comment

भाजपा सांसदको अभिव्यक्तिप्रति एमालेको आपत्ति

३० वैशाख,काठमाडौं । नेकपा एमालेले भारतको सत्तारुढ दल भाजपाका सांसद कीर्ति आजादले जनकपुर भारतमा फर्काउनुपर्छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । एमाले वैदेशिक मामिला बिभागले आइतवार प्रेस विज्ञप्ति जारी गरि नेपाल भारत सम्बन्ध सुधारको पयत्न भइरहेका बेला आजादको अभिव्यक्ति निन्दनीय रहेको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेकै बेला भाजपा सांसद आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ’ भनेर ट्वीट गरेका थिए ।

मोदी नेपाल भ्रमणमा रहेका बेला सत्तारुढ दलकै सांसदबाट नेपालका विरुद्धमा आएको उक्त अभिव्यक्ति दुई देशको सम्बन्ध राम्रो हुन नदिने दुराशयबाट प्रेरित देखिएको एमालेले जनाएको छ । दुई देशबीचको मित्रवत् सम्बन्धमा खलल पुर्‍याउने यस्ता अभिव्यक्ति आइन्दा प्रकट नहुने व्यवस्था मिलाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

विदेश विभाग सचिव यादव शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ- नेपालको अस्मिता र भौगोलिक अखण्डतामाथि प्रहार हुने गरी भारतका जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको उक्त उत्तेजनापूर्ण अभिव्यक्तिको नेपाल भ्रमणमा रहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालको अखण्डता एवम् स्वाभिमानका पक्षमा व्यक्त अभिव्यक्तिले स्वतः खण्डित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment