Comments Add Comment

वन पदाधिकारी र कार्यालयकै मिलेमतोमा वन फडानी

१ जेष्ठ विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका १० स्थित पशुपति सामुदायिक वनका पदाधिकारी र सेक्टर वन कार्यालयको मिलोमतोमा अनाधिकृत रुपमा सालका लकडी कटान गरिएको पाइएको छ ।

सेक्टर वन कार्यालय मंगलवारेको सिफारिषमा उपभोक्ता समितिका पदाधिकारीले वन क्षेत्रबाट १८ सय २९ किवी लकडी कटान गरेका हुन ।
वन क्षेत्रबाट रुख कटानका लागि सेक्टर वन कार्यालयबाट सिफारिस लिएको भएपनि जिल्ला वन कार्यालयको अनुमतिविना रुख कटान गरिएको छ ।

सेक्टर वनले हावाहुरीले ढालेको रुख कटानका लागि दुई साताअघि सो सामुदायिक बनलाई ढलापडा २० वटा रुख कटानका लागि अनुमति प्रदान गरेको थियो ।

सेक्टर वनले १८ सय ४२ किवी लकडीका लागि सामुदायिक वनलाई रुख कटानको लागि अनुमति दिएको पाइएको छ ।

वन क्षेत्रमा ढलेर रहेका सालका रुख कटान गरी पशुपति सामुदायिक वनले अहिले आफनो घाटगद्धी थुपारेको छ ।

सामुदायिक वन क्षेत्रमा समेत रुख कटानका लागि वन मन्त्रालयले अनुमति दिनुपर्ने कानुनी प्रावधान छ ।

पशुपति सामुदायिक वनले आफनो वाषिर्क कार्ययोजना अनुसार यो वर्ष वन क्षेमा रहेको ४६ वटा रुख कटानको लागि वन मन्त्रालयबाट१२ मंसिरमा अनुमाति दिएको थियो ।जसमा यसले २६ सय ७१ किवी लकडी कटानको अनुमति पाएको थियो ।

अनुमति पाएसगै रुख कटनाको काम भइरहँदा घाटगद्धीमा धेरै लकडी देखेपछि उपभोक्ताले आशंका गरी घाट गद्धीमा राखिएका लकडी नापजाच गराउने क्रममा ५२ सय १५ किवी फिट काठ फेला परेपछि अवैध रुख कटानको रहस्य बाहिर आएको हो ।

पशुपति सामुदायि वन समुहका उपभोक्ता ज्ञानेन्द्र लिम्बुले उपभोक्तालाई समेत थाहा नदिई सिक्टर वन र समूहका पदाधिकारीको मिलोमतोमा अवैध रुपमा रुख कटानको काम भएको बताए ।

उनले वन मन्त्रालयले अनुमति दिएको २६ सय ७१ किवी लकडी कटान गरी वन क्षेत्र बाट निकाल्ने क्रममा थप १८ सय ४२ किवी लकडीपनि कटान गरी ल्याइएको बताए ।

सेक्टर वन र सामुदायिक वनका पदाधिकारीको मिलोमतोमा अवैध रुपमा रुख कटान गरी ल्याएको काठको बिषयमा उपभोक्तालेपनि थाहापाएपछि हतार हतार सेक्टर वनवाट कागजात बनाइएको लिम्बुले जानकारी दिए ।

अर्को उपभोक्ता खेम भट्टराईले विगतका वर्षमा पनि सामुदायिकका पदाधिकारी र वनका कर्मचारीहरुले यसरी नै वन क्षेत्रबाट अवैध रुपमा काठ कटान गरी ल्याएर बाहिर विक्री वितरण गर्ने गरेको दाबी गरे ।

उनले भने, ‘विगतका बर्षमा पनि यस्ता अवैध काम हुदै आएको थियो,यो बर्ष बढी नै काठ आएकाले उपभोक्ताको अाशंकाले अनुसन्धानबाट तथ्य बाहिर आएको छ ।’

वन क्षेत्रको काठ अनाधिकृत रुपमा कटान गरिएको लकडीको अनुसन्धान गरी दोषीमाथि कार्वाही हुनु पर्ने भट्टराईले माग गरे । उनले अनाधिकृत रुपमा निकालिएको लकडी १८ सय ४२ किवी को मुल्य करिव ५४ लाख हुने पनि जानकारी दिए ।

उपभोक्ताहरुले पुशपति सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा मंगलबार सम्मेलन समेत गरेर अवैध रुख कटानको विषयमा छानबीन गरी दोषीलाई कार्वाही हुनुपर्ने माग समेत राखेका छन ।

यता सेक्टर वन कार्यालय मंगलवारेमा सहायक वन अधिकृत तराणीप्रसाद चौधरीले पशुपति सामुदायिक वन उपभोक्ता समितिको बैठक गरी आएको निवेदनको आधारमा वन क्षेत्रमा रहेका ढलापडा रुख कटानका लागि जिल्ला वन कार्यालयमा सिफारिस दिएको जानकारी दिए ।

उनले ढलापडा रुख कटानको लागि सिफारिस गरिएको मिति भने खुलाएनन् । ‘मैले ढलापडा रुख निकाल्नका लागि समूहबाट परेको निवेदनको आधारमा जिल्ला वन कार्यालय समक्ष सिफारिस गरेको हो, तर जिल्ला वन कार्यालयबाट अनुमति आएको नआएको बारेमा मलाई थाहा छैन ।’ सहायक वन अधिकृत चौधरीले भने ।

यता पशुपति सामुदायिक वन समूहका अध्यक्ष र्इश्वर चौहानले वन क्षेत्रबाट ढलापडा रुख चोरी हुने र आगालागी हुँदापनि नोक्सानी हुने भयले त्यस्ता रुख कटान गरी निकालिएको बताए ।

उनले वनको बैठकबसी निर्णय गरे अनुसार सेक्टर वन कार्यालयले दिएको सिफारिषमा अर्को वर्ष प्रयोग गर्ने गरी समुहको घाटगद्धीमा राख्न निकालिएको जानकारी दिए ।

उपभोक्ता समितिको अध्यक्ष चौहानले भने विधान, कार्ययोजना र वनको आदेशमै काठ काटिएको र घाटगद्दी भएको बताए ।

अध्यक्ष चौहानले वन कार्यालायबाट कटान आदेश आएको २६ सय ७१ र कुकाठ ७९ सहित १८ सय ४१ गरी जम्मा ४५ सय १२ क्युफिट काठको फरक मितिको दुईवटा कटान आदेश रहेको बताए ।

मोरङ जिल्ला सहायक वन अधिकृत सरोजकुमारी कोइरालाले सेक्टर वन कार्यालयले पछिल्लो ढला पडा रुख कटान निकाल्नका लागि सिफरिस मागेपनि जिल्ला वन कार्यालयवाट सहमति भइ नसकेको जानकारी दिइन् ।

उनले पशुपति सामुदायिक वन उपभोक्ता समूहको घाट गद्धीमा अनुमिति दिएको भन्दा बढी लकडी भए नभएको विषयमा छानीवन भइरहेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment