Comments Add Comment

पार्टी एकता घोषणा गर्दा भावुक भए प्रचण्ड


३ जेठ, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले थुप्रै पटक पुरानो पार्टी भत्काउने र नयाँ पार्टी बनाउने काम गरे ।

मसालबाट नेकपा माओवादी, एकीकृत नेकपा माओवादी हुँदै माओवादी केन्द्र बनाए । थुप्रै नेताहरुलाई टीका लगाएर पार्टीमा भित्र्याए । उनी हरेक पटक उत्साहित हुन्थे, छलाङ हान्ने कुरा गर्थे ।

बिहीबार एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको घोषणा गर्दा भने प्रचण्ड निकै भावुक बने । पुनर्गठित पार्टीका दुईअध्यक्ष मध्येका एक प्रचण्डले सम्बोधन गर्ने क्रममा पटक पटक उनको गला अवरुद्ध भयो ।

एकता सभालाई सम्बोधन गर्ने क्रममा आफूलाई शब्दको दुःख भएको प्रचण्डले बताए ।

आफूले कमजोरी गर्दा देश र जनताले दुःख पाउने र राम्रो निर्णय गर्दा देश अघि बढ्ने गरेको स्मरण गर्दै उनले एमाले र माओवादीको एकता ‘महान छलाङ’ भएको बताए ।

हाइड्रोजन र अक्सिजन मिलाएपछि पानी बनेपछि छुट्याउन नसकिने भन्दै उनले भने, ‘अब न एमाले भेटिन्छ, न माओवादी भेटिन्छ । अर्कै कम्पाउण्ड बनिसक्यो ।’

प्रचण्डले भावुक हुँदै सम्बोधन गरेपछि पुनर्गठित पार्टीका महासचिव विष्णु पौडेलले देशका लागि गरेका योगदानहरुमध्ये यो सर्वोच्च योगदान भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment