Comments Add Comment

एमाले-माओवादीबाट ‘उप’हरुको पद के हुन्छ ?

४ जेठ, काठमाडौं । एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेसँगै दुवै दलबाट उपसभामुख भएकाहरुको पद के हुन्छ भन्ने प्रश्न उठेको छ ।

सभामुख र उपसभामुख फरक-फरक पार्टीको हुनु पर्ने संवैधानिक व्यवस्था छ । धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक-फरक दलको हुनु पर्ने व्यवस्था छ भने धारा १८२ मा प्रदेशसभासम्वन्धी ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा माओवादी केन्द्र र उपसभामुख शिवमाया तुम्बाहाम्फे एमालेबाट हुन् । यस्तै प्रदेश २ बाहेकका ६ प्रदेशमा पनि दुई दलले भागबण्डा गरेर सभामुख र उपसभामुख पद लिएका छन् ।

तर, पार्टी एकता भएपछि एक पद छाड्ने कि नछाड्ने भन्ने नैतिक प्रश्न आएको छ ।

यसबारे नेपाल कम्युनिष्ट पार्टीले औपचारिक रुपमा केही बोलेको छैन । तत्कालीन एमालेका संसदीय दलका उपनेता समेत रहेका पूर्वसभामुख सुवास नेम्वाङ ठट्यौली शैलीमा भन्छन्, ‘उहाँहरुले त पहिल्यै दल त्यागिसक्नु भएको छ । उहाँहरु कुनै दलको होइन, सबैको हो ।’

उनको संकेत एमाले र माओवादीबाट ‘उप’ भएकाहरु कायमै रहन्छन् भन्ने देखिन्छ ।

तर, केन्द्रीय सदस्य पदबाट राजीनामा दिएपनि उनीहरुले दलको साधारण सदस्यता त्यागेका छैनन् । साथै यो प्राविधिक भन्दा पनि नैतिक प्रश्न हो ।

संसद सचिवालयका अधिकारीहरु पनि दुवै दल लिने कि छाड्ने भन्ने नैतिक र राजनीतिक विषय भएको बताउँछन् । ‘एउटै रुपमा दल दर्ताका लागि निवेदन दिइसकेका छन् । त्यसैले ढिलो चाँडो संसदमा पनि जानकारी आउला,’ एक अधिकारीले भने, ‘यो छलफलको विषय बन्छ ।’

प्रमुख प्रतिपक्षी कांग्रेसले पनि एउटै दल भएको औपचारिक जानकारी संसदमा आएपछि धारणा बनाउने बताएको छ । ‘हामीले पहिल्यै भोलि एउटै दल बन्ने भएपछि उपसभामुख नलिनुस् भनेका हौं तर, उहाँहरुले सुन्नु भएन,’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment