
६ जेठ, रामेछाप । बीपी राजमार्गबाट सिन्धुली हुँदै रामेछाप भित्रने ढुवानी तथा यात्रुवाहक गाडीलाई प्रहरीले रोक लगाएपछि रामेछापको जनजीवन अस्तव्यस्त बनेको छ ।
बीपी राजमार्गमा १० टन भन्दा बढीका गाडी सञ्चालनको अनुमति नभएको भन्दै सिन्धुली प्रशासनले तराईबाट रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु आउने गाडीलाई चार दिनदेखि सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमै रोकेर राखेको छ ।
गाडी रोकिएपछि रामेछापमा दैनिक उपभोग्य सामान तथा निर्माण सामग्रीको अभाव सुरु भएको छ । तराईबाट आउने उपभोग्य सामान तथा निर्माण सामग्री जिल्ला भित्रन पाएका छैनन् ।
यातायात व्यवस्था विभागबाट १० टनभन्दा माथिका ढुवानीका साधन तथा १९ सिट भन्दा बढी क्षमताका यात्रुबाहक गाडी चलाउन नदिन परिपत्र आएको भन्दै सिन्धुली प्रशासनले तराईबाट आएका यस्ता गाडीलाई सिन्धुलीमाडीमा रोकेको हो ।
सिन्धुली प्रशासनसँग आफूले यसबारेमा कुरा गरे पनि केन्द्रीय निर्णय भएकोले परिवर्तन गरी पत्र नआएसम्म केही गर्न नसक्ने जवाफ आएको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
पूर्वसांसद एवं नेपाल कम्युनिष्ट पार्टीका नेता तारानारायण श्रेष्ठले सिन्धुलीको प्रशासन, राजनीतिक दल, व्यवसायी समेतको मिलेमतोमा रामेछापमाथि सिन्डिकेट लादिएको बताए । ‘सिन्धुलीसम्म १६ चक्के गाडी आउने तर सोही मापदण्ड अनुसार नै बनेको सिन्धुलीबाट खुर्काेटसम्म १० टनका गाडी पनि आउन नपाउने ? अनि यातायात व्यवस्था विभागको स्वीकृति लिएर भने जति क्षमताका गाडी पनि चलाउन मिल्ने ? यो सरसर सिन्डिकेट हो’ श्रेष्ठले भने ।
नेपाली कांग्रेसका सचिव लेखबहादुर कार्कीले सिन्धुलीले नाकाबन्दी लगाएर रामेछापलाई पुन ढुंगेयुगमा फर्काउन खोजेको आरोप लगाए ।
रामेछाप उद्योग वाणिज्य संघ रामेछापले सिन्धुलीबाट रामेछाप आउने यातायात साधन रोकिएकोप्रति प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया 4