Comments Add Comment

झलनाथ खनालले भने : ओली र माधव नेपालले तोकेको वरियता मान्दिन

'नियतवश मलाई बञ्चित गरियो, एकताको श्रेय प्रचण्डलाई दिन्छु'


६ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले माधव नेपालभन्दा तल पारिएको वरियता अस्वीकार गरेका छन् । तत्कालिन एमालेका अध्यक्ष केपी ओली र माधव नेपालको मिलेमतोमा आफूविरुद्ध षडयन्त्र गरिएको आरोपसमेत खनालले लगाएका छन् ।

पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालिन पार्टी एकता संयोजन समितिका सदस्य खनालले आफू अनुपस्थित हुने हिसाब किताबका आधारमा पार्टी एकताको मिति तय गरिएको दावीसमेत गरे । खनालले पार्टी एकता हुने अघिल्लो दिन ओली र आफू एउटै कार्यक्रममा हुँदा पनि एकताको जानकारी नदिइएको बताए ।

पार्टी एकता घोषणा हुँदा खनाल चीनमा थिए । आफू स्वास्थ्य उपचारका सिलसिलामा चीन गएको बेला व्यापारिक प्रयोजनले गएको भनी चरित्रहत्या गर्न खोजिएको समेत उनले बताए ।

आइतबार चीनबाट फर्किएलगत्तै अनलाइनखबरसँगको विशेष कुराकानीमा खनालले आफूमात्र होइन, ईश्वर पोखरेल र भीम रावललगायतका नेतामाथि पनि अन्याय गरिएको आरोप लगाए ।

खनालले ओली र माधव नेपालको मिलेमतोमा पार्टीभित्र दमनचक्र चलाउन खोजिएको आरोप पनि लगाए । कुराकानीका क्रममा अत्यन्त आक्रोशित मुद्रामा प्रस्तुत भएका खनालले आफूखुसी तोकिएको वरियता स्वीकार नगर्ने प्रष्ट पारे ।

खनालले पार्टी एकताको विशेष श्रेय प्रचण्डलाई दिँदै अब आफ्नो साथ प्रचण्डलाई हुन सक्ने संकेत पनि गरे ।

साथै उनले तत्कालिन एमालेका तर्फबाट मनोनित गरिएका ४५ जनाको सूचीमाथि पनि असहमति जनाए ।

प्रस्तुत छ खनालसँग डल्लुस्थित उनकै निवासमा गरिएको कुराकानीः

पार्टी एकीकरणको ऐतहासिक क्षणमा तपाई अनुपस्थित हुनुभयो, यसले तपाईको भूमिका त निकै कमजोर देखियो नि होइन ?

हेर्नस्, दुई पार्टीबीच एकताको वातावरण धेरै अगाडिदेखि बनेको थियो । पटक पटक एकताको टुंगो पनि लागेको हो । कतिपटक मितिसमेत तोकिएको थियो । धेरै अगाडि एकता हुनुपर्ने थियो । तर, पनि त्यो डेटमा एकता हुन सकेन । त्यसले गर्दा एकताका सन्दर्भमा एउटा अनिश्चितता कायम भइरहेको थियो ।

त्यही अनिश्चिताका बेला मेरो बाहिर जाने तय भयो । अहिले म विशेष र गम्भीर प्रकारको शारीरिक समस्याबाट ग्रस्त छु । त्यसको उपचार अन्वेषणका सिलसिलामा म चीनको सेचुवा प्रान्तको छन्दुमा म गएँ । त्यहाँ खासगरी ट्रेडिसनल पद्धतिबाट उपचार गर्ने चर्चित डाक्टरहरु छन् भनेर गएको हो ।

त्यहाँ मैले उनीहरुसँग भेटेर रोग पहिचानको प्रयास गरेँ । अर्को त्यही बेला त्यहाँ एउटा सांस्कृतिक सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोलाएका थिए । दुवै कुरा एकैचोटी हुन्छ भनेर मैले जाने योजना बनाएँ । म जानुभन्दा अघिल्लो दिन जेठ एक गते युवा दिवसका अवसरमा युवा संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी ओली र म सँगै थियौं । दुवैजनाले भाषण पनि गरियो ।

म त्यहाँ हुँदा उहाँले केही पनि भन्नुभएन । भोलि चार बजे स्थायी कमिटी बैठक राख्नुपर्छ होला भन्नुभयो । मैले यस्तो कार्यक्रम बनाएको छु भन्ने जानकारी दिएँ । उहाँले ए मात्र भन्नुभयो । यसरी भोलि एकताको कुरा हुँदैछ भन्ने सूचना दिएको भए सम्भवतः म चीन जाने कार्यक्रम रद्द गर्न सक्थेँ ।

भनेपछि तपाई चीन गएर सजिलो पारिदिए जस्तो पो भयो होइन ?

जे होस्, मेरो अनुपस्थिति हुने हिसाबकिताबका आधारमा यो एकताको कुरा अघि बढाइयो । त्यो ऐतिहासिक क्षणमा म उपस्थित हुन पाइन । मलाई अत्यन्त ठूलो दुःख छ ।

तर, एकता मुलुक र जनताको आवश्यकता थियो, यो इतिहासको आवश्यकता थियो । यो एकता ऐतिहासिक, महत्वपूर्ण र दूरगामी छ । यसलाई म अभिनन्दन र स्वागत गर्छु ।

यो प्रक्रियामा मलाई सहभागी हुनबाट बञ्चित गरियो, त्यसप्रति भने म खेद प्रकट गर्छु ।

तपाईलाई यो अवसरबाट बञ्चित तत्कालिन एमालेबाट गरियो कि तत्कालिन माओवादी पक्षबाट पनि हो ?

तत्कालिन नेकपा एमालेबाट मात्रै भयो त्यो धोका । अन्तबाट भएको मलाई कुनै आभास छैन । यो एकताको सन्दर्भमा कमरेड प्रचण्डलाई म विशेष अभिनन्दन र अभिवादन गर्न चाहन्छु । उहाँको पहल र सक्रियता नभएको भए एकता सम्भव थिएन ।

उहाँलाई लोभ देखाउन प्रतिपक्षले पनि ठूलाठूला मिसन र बल्छी अघि सारेका थिए । तर, ती कुनै पनि कुरामा उहाँ लोभिनुभएन । उहाँले कम्युनिस्ट पार्टीको एकतालाई सर्वोपरी ठान्नुभयो । उहाँको त्यो पहलले नै एकता सम्भव भएको छ ।

अब एकता भइसक्यो, तपाईको भूमिका चाहिँ के हुन्छ ?

त्यो एकता जोगाउन निरन्तर कोशिस गर्छु । एकताको पक्षमा विगतदेखि नै निरन्तर लागिरहेको हुँ । म जतिबेला कम्युनिस्ट आन्दोलनमा लागेँ, त्यतिबेलादेखि नै एकताको पक्षमा लागेको हुँ । ती सबै प्रयत्नको अन्तिम कडी यो एकता हो ।

अझै पनि साना मसिना कम्युनिस्ट समूह बाँकी छन् तर, ठूलो सम्ूहको अन्तिम एकता भएको छ । एकता बचाउन सुदृढ बनाउन त म लाग्छु ।

तपाईले एकीकरणको ऐतिहासिक क्षणमात्र गुमाउनुभएन, वरियता पनि गुमाउनुभयो नि होइन ?

यसप्रति मेरो गम्भीर आपत्ति छ । र म यो दुःख व्यक्त गर्न चाहन्छु । मेरो अनुपस्थितिमा मेरो मुल्यांकन स्वयं कमिटीले पनि गर्न सक्दैन । तर, म अनुपस्थित भएको अवस्थामा कमिटीमा छलफल नगरी जुन ढंगले वरियतालाई तलमाथि गर्ने काम भएको छ, यसप्रति मेरो गम्भीर आपत्ति रहेको सबैमा जानकारी गराउछु । यो कुरालाई म कुनै हालतमा स्वीकार गर्दिन ।

अनि तत्कालिन एमालेका तर्फबाट ४५ जनाको केन्द्रीय कमिटीमा मनोनयन भएको कुरा…?

यो झनै आपजिनक छ । मसँग कुनै सल्लाह भएको छैन । म हेर्दैछु, कसरी पार्टी अगाडि बढ्दैछ । कमिटी प्रणाली र सामूहिकता भन्ने कुुरा पनि हुन्छ कि हुँदैन, म गम्भीर रुपमा हेर्दैछु । केपी ओली र माधव नेपाल भएर गरेको कुरा कमिटीको हुन सक्छ ? म यसबारेमा अहिले बुझ्दैछु ।

तर नवौं महाधिवेशनदेखि त तपाई र माधव नेपालसँगै होइन र ?

नवौ महाधिवेशनमा सँगै हौं तर, सधै सँगै छैनौं ।

तपाईको मतलब दुई नेता मिलेर शीर्ष वरियता खोसे भन्ने हो ?

कतिपय कुराहरुमा पार्टी अध्यक्ष र कमरेड माधवकुमार नेपालबीच विशेष मिलेमतो भएको देखिरहेको छु । नवौं महाधिवेशनले निर्णय गरेर मलाई वरिष्ठ नेता बनाएको हो । अरु कोही पनि वरिष्ठ नेता थिएनन् हाम्रो पार्टीमा ।

तर, अहिले स्वघोषित ढंगले वरिष्ठ नेता निर्माण गर्ने काम भयो । यो आफैंमा अनौठो छ । मेरो त नवौं महाधिवेशनको निर्णय हो । त्यो निर्णयलाई केन्द्रीय कमिटीको बैठमा बकाइदा प्रस्ताव राखेर मेरोसमेत उपस्थितिमा मात्र छलफल गरेर तलमाथि गर्नुपर्ने भए कमिटीले मात्र गर्न सक्छ ।

यी कुरा त म अवश्य उठाउँछु । अन्याय अरु साथीहरुमाथि पनि गरिएको छ । देशभरीबाट गुनासा आइरहेका छन् । नवौं महाधिवेशनबाट निर्वाचित महासचिव ईश्वर पोखरेलमाथि अन्याय भएको छ । भीम रावलमाथि अन्याय भएको छ ।

कतिपय स्थायी कमिटीका साथीलाई अहिलेसम्म काम नदिएर राखिएको थियो । मलाई काम दिइएको छैन । यी चीजहरु त पार्टीमा अब उठ्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment