Comments Add Comment

वैकल्पिक पर्यटकीय केन्द्र बन्दै नवलपरासीको अमलटारी


८ जेठ, पोखरा । चितवनबाट नजिकै पर्ने सांस्कृतिक र प्राकृतिक रुपमा भरिपूर्ण अमलटारी शान्त बसाइ र जंगल सफारी दुवै हिसाबले सौराहाको विकल्प बन्नसक्ने देखिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्रै पर्ने अमलटारी नवलपरासी जिल्लाको कावासोती नगरपालिका– १५, बाघखोरमा पर्छ ।

जंगल सफारी अमलटारीको प्रमुख आकर्षण

२०५४ सालमा चितवनको ७५० वर्ग किलोमिटर र पर्साको वन्यजन्तु आरक्षमा रहेको ७३० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर मध्यवर्ती व्यवस्थापन क्षेत्र ‘बफर्जन’ घोषणा गरियो । बफर्जन क्षेत्रमा २२ वटा उपभोक्ता समिति गठन गरिएका छन् । जसमध्ये चितवनमा १२, नवलपरासीमा ८ तथा पर्सा र मकवानपुरमा १–१ वटा उपभोक्ता समिति रहेका छन् । यही १२ उपभोक्ता समितिमध्ये ३ वटा उपभोक्ता समिति मातहत रहेको वन क्षेत्रलाई एउटै बनाएर जंगल सफारी गर्ने गरिएको छ ।

गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, कृष्णसार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह एकीकृत गरेर जंगल सफारी सञ्चालन गर्ने गरिएको स्थानीय अगुवा तथा अमलटारी थारु होमस्टेका व्यवस्थापक धनीराम गुरौले जानकारी दिए ।

नवलपरासीको अमलटारी सबै हिसाबले पर्यटकीय गन्तव्य बन्नसक्ने प्रशस्त सम्भावना र पूर्वाधारको हिसाबले बलियो आधार बन्दै गएको छ । अमलटारी पर्यटकीय केन्द्र बन्नसक्ने मुख्य कारण अमलटारीमा पनि जंगल सफारी गर्न पाउनु हो । जहाँ अमलटारी र नमूना मध्यवर्ती २ नाकाबाट सफारी गर्ने गरिएको छ ।

घना जंगलको बिच बाटो हुँदै जंगल सफारी गर्न पाउँदा पर्यटक मख्ख पर्छन् । जहाँ प्रशस्त जंगली जनावर र चराचुरुङ्गी तथा जलचर भेटिन्छन् । २ वटा नाकाबाट गरिने जंगल सफारी १७ किलोमिटरको छ भने यो सफारीका लागि साढे २ घण्टादेखी करीब ३ घण्टासम्म लाग्छ । जंगल सफारी शुरु भएको केहीबेर देखिनै फाट्टफुट्ट रुपमा मृग, बाह्रसिंगे, कालिज तथा जलचरले पर्यटकलाई स्वागत गर्छन् ।

बफर्जन क्षेत्र भएर बग्ने नारायणी नदीको तिरैतिर सफारी अघि बढ्दै जाँदा बाक्लो मात्रामा मृग, हरिण, बँदेल देखिन्छन् भने मध्यभागमा पुगेपछि मृग र हरिणका बथान भेटिन्छन् । कतै बाह्रसिंगे त कतै मयूर भेटिँदा सफारीको मज्जा छुट्टै हुन्छ । सो क्रममा कतै एकल त कतै जोडा बाँधेर बसेका गैंडाहरु भेटिन्छन् । जसले जंगल सफारीमा छुट्टै आनन्द दिन्छ । जंगलमा चितुवा, भालुलगायतका अन्य बन्यजन्तु पनि भेटिने अमलटारी थारु होमस्टेका व्यवस्थापक धनीराम थारुले बताए ।

जंगल सफारीका दृष्टिकोणले अमलटारी दोश्रो सौराहा भइसकेको कर्मचारी महतोले दाबी गरे । सफारीका लागि आलमटारी र नमूना दुवैतर्फ सफारी भ्यान तैनाथ राखिएका हुन्छन् । हात्तीमा चढेर सफारी गर्नेलाई होमस्टे र होटल दुवैबाट सेवा दिने गरिएको छ । अझ रोचक त के भने अमलटारीमा हात्तीको सुरक्षामा पैदलै सफारी गर्ने व्यवस्था मिलाइने गरिएको छ ।

मोहनी लगाउने अमलटारी होमस्टे

अमलटारी थारु होमस्टेका व्यवस्थापक धनीराम थारु पनि अमलटारी होमस्टे पर्यटकीय केन्द्र बन्दै गएको बताउँछन् । यसको प्रमुख कारक जंगल सफारी नै भएको उनले बताए ।

उसो त अमलटारी पर्यटकीय केन्द्र बन्दै जानुमा जंगल सफारी सँगसँगै होमस्टे र त्यहाँका होटलहरुको सेवाले पनि सघाएको छ । अमलटारीमा रहेको अमलटारी मध्यवर्ती होमस्टे र केहि पर रहेको थारु होमस्टेले पर्यटकको ध्यान खिचेको छ । ग्रामीण पर्यटनको अवधारणामा चलेको अमलटारी मध्यवर्ती होमस्टे गत वर्ष सरकारद्वारा देशकै उत्कृष्ट होमस्टेका रुपमा पुरस्कृत भएको थियो भने सरकारले अमलटारीलाई पर्यटन गन्तव्य गाउँसमेत घोषणा गरेको थियो ।

होटलको गुणस्तरीय सेवा

होमस्टे मात्र होइन होटल र रेस्टुराँसमेत उत्तिकै खुलेका छन् । अमलटारीमा पहिले जंगलको बीचमा रहेका टाइगर टप्स, टेम्पल टाइगर, मचान कन्ट्री भिल्ला रिसोर्टदेखि नाना होलिडेज रिसोर्ट, आइल्याण्ड टाईगर क्याम्प रिसोर्टसम्मकाले सेवा दिदै आएका छन् । त्यस्तै त्यहाँ हिमालय सेञ्चुरी, आदिवासी थारु अतिथि गृहलगायतका मझौला होटलहरुले पनि गुणस्तरीय सेवा दियरहेका छन् ।

अमलटारीको अर्को विशेषता भनेको सस्तो र सुलभ हो । प्राकृतिक र सांस्कृतिक हिसाबले भरिपूर्ण र वन्यजन्तु सजिलैसँग देख्न सकिने जंगल सफारी रहेको यो प्रमुख पर्यटकीय केन्द्र अमलटारी आर्थिक हिसाबले पनि सस्तो छ । होटलमा बस्नेलाई केही महँङ्गो भए पनि होमस्टेमा बस्नेले केवल ६ सय ५० रुपैयाँमै बेलुकाको डिनर, बस्ने कोठा र बिहानको खाजासहितको प्याकेज पाउँछ । जुन अन्य ठाउँको तुलनामा अत्यन्त सस्तो हो । जंगल सफारी पनि प्याकेजमा समय अनुसार ५ हजारदेखि ६ हजार रुपैयाँमा गराइन्छ ।

कसरी जाने ?

चितवन राष्ट्रिय निकुञ्जभित्रै पर्ने अमलटारी नवलपरासी जिल्लाको कावासोती नगरपालिका–१५ बाघखोरमा पर्छ । जुन चितवनको मुग्लिन–नारायणगढ बाटो क्रस गरेलगत्तै आउने नारायणगढ बजारबाट सिजी ग्राम हुँदै ३७ किलोमिटर दक्षिण–पश्चिम गएपछि दण्डा बजार आउँछ । दण्डाबाट ७ किलोमिटर दक्षिण पूर्व गएपछि अमलटारी पुगिन्छ । यो मध्यवर्ती ब्यवस्थापन क्षेत्र (बफर्जन)को महत्वपूर्ण क्षेत्र मानिन्छ । जहाँ पर्यटक बस्नका लागि टाईगर टप्सलगायतका उच्चस्तरका होटलदेखी होमस्टे सम्म व्यवस्थित रुपमा सञ्चालित छन् ।

पूर्वाधारमा सघाउन आग्रह


स्थानियले अमलटारीलाई दिगो पर्यटकीय केन्द्रका रुपमा स्थापित गर्नका लागि सघाइदिन आग्रह गरेका छन् । दिगो पर्यटकीय केन्द्र बनाउने हो भने पर्यटकीय पूर्वाधार निर्माण गरिनुपर्ने र त्यसका लागि सरकारले सघाउनुपर्ने उनीहरुको भनाइ छ ।

अमलटारी मध्यवर्ती होमस्टेका ब्यबस्थापक धनीराम गुरौ बस्ती ब्यबस्थित पार्नेदेखी जंगल र वन्यजन्तुको संरक्षणका लागि जंगल वरिपरि पर्खालसमेत बनाउनुपर्ने बताउँछन् ।

अमलटारीबाट फर्केपछि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment