Comments Add Comment

त्रिवि उपकुलपति क्रिकेट कपको उपाधि नेपाल कमर्स क्याम्पसलाई

९ जेठ, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसद्वारा आयोजित उपकुलपति कप अन्तर त्रिवि क्रिकेट प्रतियोगिताको उपाधि नेपाल कमर्स क्याम्पसले जितेको छ । बुधबारको फाइनल खेलमा आयोजक पुल्चोक क्याम्पसलार्इ ५ विकेटले हराउँदै नेपाल कमर्स क्याम्पसले उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पुल्चोकले २० ओभरमा ११८ रन बनाएको थियो । पुल्चोक क्याम्पसकालागि पंकज कुमार दासले ४१ बलमा ५१ रनको योगदान दिएका थिए । बलिङतर्फ नेपाल कमर्स क्याम्पसका प्रकाश विष्टले ३ ओभरमा दश रन खर्चेर ३ विकेट लिए ।

११९ रनको लक्ष नेपाल कमर्स क्याम्पसले १५ ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर हासिल गर्यो । कमर्स क्याम्पसका लागि सुरज बोहोराले ६७ रन योगदान गरे ।

खेल समाप्तिपछि पूर्व गृह तथा उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेत र अनेरास्ववियुका केन्द्रीय सचिव सुदेश पराजुली पनि उपस्थित थिए ।

पुल्चोक क्याम्पसका स्ववियु सभापति रोशन थापामगरका अनुसार गत वैशाख २४ गतेदेखि सुरु भएको प्रतियोगितामा त्रिभुवन विश्वविध्यालय अन्तर्गतका २४ क्याम्पसहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment