Comments Add Comment

बार्सिलोनाका लेजेण्ड इनिस्टा जापान लागे

१० जेठ, काठमाडौं । बार्सिलोनाका लेजेण्ड आन्द्रेस इनिस्टा जापान गएका छन् । आफू आफ्नो साथीसँग ‘नयाँ घर’तर्फ भन्दै उनले ट्वीट गरेका छन् ।

सिजनको अन्त्यसँगै बार्सिलोनाबाट बिदा भएका आन्द्रेस साथी हिरोशि मिकितानीसँगै जापान गएका हुन् । हिरोशी जापानको शीर्ष लिगको क्लब भिसेल कोबेका मालिक हुन् । यसैले इनिस्टाले आउँदो सिजन आफू जापानमा रहने सन्देश दिएका हुन् ।

इनिस्टाले मिकितानीसँगै निजी जेटमा बसेको तस्बिर ट्वीट गरेका हुन् । ३४ वर्षका मिडफिल्डर इनिस्टाले बार्सिलोनासँगको २२ वर्षको यात्रा यो सिजन सकिएसँगै अन्त्य गरेका थिए । जापानी क्लब भिसेल कोबे जे–लिगमा १५ खेल सकिँदा छैटौँ स्थानमा छ ।

इनिस्टा बार्सिलोनाको बिदाइपछि चाइनिज सुपर लिगमा आबद्ध हुने, इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा सहायक प्रशिक्षक र खेलाडीका रुपमा रहने खबर आइरहेको भए पनि जापान लागेर सबैलाई चकित पारेका छन् ।

भेट्रान इनिस्टा

बार्सिलोनाको सिनियर टिममा १६ वर्षमा इनिस्टाले २२ वटा महत्वपूर्ण उपाधि जिते ।

बार्सिलोनाबाट बिदा हुँदै गर्दै उनले भनेका थिए, ‘यो निकै कठीन दिन हो । मैले बार्सिलोनामा आफ्नो उत्कृष्ट २२ वर्ष बिताएको छु । यहाँ रहनु र टिमको नेतृत्व गर्नु मेरा लागि निकै खुशी र गर्वको कुरा हो । मेरा लागि विश्वकै उत्कृष्ट अवसर बार्सिलोना हो’ उनले भावुक हुँदै भने, ‘मेरा सबै खेलाडी साथीहरुलाई धन्यबाद । सबैजनालाई धेरै सम्झने छु । समर्थकहरुलाई पनि धेरै धन्यबाद ।’

इनिस्टा सन् १९९६ मा १२ वर्षको उमेरमा बार्सिलोना गएका थिए । जुनियर टिम र बार्सिलोना बी टिम हुँदै उनी सन् २००२ मा बार्सिलोनाको सिनियर टिममा पुगे । सिनियर टिमबाट उनले ६७४ खेल खेले ।

उनी बार्सिलोनामा रहँदा ९ पटक ला लिगा, ४ च्याम्पियन्स लिग, ३ क्लब विश्वकप र ६ कोपा डेल रे उपाधि जिते ।

स्पेनको राष्ट्रिय टिमबाट १२९ खेल खेलेका उनले सन् २०१० को विश्वकपमा गरेको विजयी गोल सबैको सम्झनामा ताजा छ । साथै सन् २००८ र २०१२ को युरो कप जित्दा पनि इनिस्टा टिमको महत्वपूर्ण सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment