Comments Add Comment

सुनकेशरी : डरलाग्दो होइन हाँसउठ्दो

भूत-प्रेतलाई पछौटे समाजको उपज मानिन्छ । चेतनाको निम्न धरातलमा भूत-प्रेत हावी छ । पछौटे एवं अशिक्षित समाजलाई अहिले पनि भूतप्रेतले सताइरहेको छ । बच्चादेखि नै ‘भूतप्रेत’ को डर लिएर हुर्किरहेको हाम्रो समाजमा यो अदृश्य शक्ति कति शक्तिशाली छ भने, धेरै मानिस यसबाट भयभीत छन् । त्रसित छन् ।

जबकी आधुनिक सभ्यताको अगुवाई गरिरहेको समाजमा पनि ‘भूतप्रेत’ छ । तर, उनीहरु ‘भूतप्रेत’बाट आतंकित हुने भन्दा पनि त्यसलाई बजारमा पेश गरेर आर्जन गरिरहेका छन् । फिल्मी बजारमा ।

हलिउडले जति तिलस्मी कथा भन्छ, त्यसमा ठूलो हिस्सा ‘प्रेतात्मा’को पनि छ । हलिउडले ‘हरर’ फिल्म बनाएर दुनियाँलाई तर्साइसकेको छ । यस्तो कर्ममा बलिउड पनि कम छैन । बलिउडमा त ‘हरर’ फिल्मको शृंखला नै बन्छ ।

हामीकहाँ भने यसको सिलसिला भर्खर सुरु भएको छ । यसमा जोडिन आइपुगेको छ, सुनकेशरी । शक्रबारदेखि  प्रदर्शनमा आएको फिल्मले हास्य जनरामा बगिरहेको ट्रेन्डको क्रमभंग गरेको छ । एकपछि अर्को कमेडी फिल्म पट्यारलाग्दो हुँदै गएको अवस्थामा ‘हरर’ फिल्म पक्कै पनि फरक स्वादको लाग्न सक्छ ।

कस्तो छ कथा ?

फिल्म-सुनकेशरी

निर्देशक-अर्पण थापा

जनरा-हरर

कलाकार- ऋचा शर्मा, रवीन्द्र झा, सनी ढकाल, लाउरेन लफवर्व आदि ।

हरर फिल्मको साझा विशेषता भनौं वा रोग, दर्के झरी, कालोनिलो आकाश, सुनसान घर, ऐना, गिद्द, हत्या (आत्महत्या), नाइट गाउन, स्विमिङ पुल आदि । अक्सर हरर फिल्ममा देखिने यी तत्वहरु सुनकेशरीमा नहुने कुरै भएन । यसमा चमेरा देखिदैन । बाँकी सबै कुरा देखिन्छ ।

फिल्मको कथा पनि हत्या वा कुनै रहस्यबाट सुरु हुन्छ । सुनकेशरीले ‘हत्या’को घटनाबाट कथा तन्काएको छ । पत्नी परपुरुषसँग अन्तरंग सम्बन्ध गाँसिरहेको देखेपछि पतिले पत्नीको हत्या गर्छन् । दुई बच्चाको पनि हत्या गर्छन् । र, आफूले गलपासो लगाउँछन् ।

बस्, यति भएपछि ‘प्रेतात्मा’ पैदा भइहाल्छ ।

यो प्रसंग अष्ट्रेलियाको कुनै भव्य घरभित्रको हो । १३ बर्षपछि त्यही घर कुनै नेपालीले खरिद गर्छ र होटल बनाउँछ । अब यो भूताह घरमा बस्न आइपुग्छिन्, सुनकेशरी (ऋचा शर्मा) । खासमा उनी ब्रेकअपको पीडा छल्ने बाहना खोज्दै त्यहाँ आइपुगेकी हुन्छिन् । संयोग पनि कस्तो जुर्छ भने, त्यही होटलमा हनिमुन मनाउन एक जोडी आइपुग्छन्, जो सुनकेशरीकी धोकेबाज प्रेमी हुन्छन् । अब कथा कता मोडिन्छ ? त्यसका लागि भने फिल्म हलमा १ घण्टा ३० मिनेट बिताउनुपर्छ ।

किन हाँसउठ्दो

शंका छैन, फिल्म ‘हरर’ हो । हरर भनेको डरलाग्दो, तर्साउने वा भयभीत तुल्याउने हो । दर्शकको मनमा डर पैदा गरेर फिल्मले मनोरञ्जन दिलाउने हो ।

तर, फिल्मले डर पैदा गर्दैन । बरु हसाउँछ । हसाउनका लागि एक पात्र थपिएका छन्, रवीन्द्र झा । उनी होटलमा सहयोगीको रुपमा खटिन्छन्, जो प्रेतात्माको फेला पर्छन् र, खुब सताइन्छन् । भूत-प्रेतको डरबाट उनमा जे-जति उथलपुथल आउँछ, त्यसले दर्शकमा भय होइन हाँसो पैदा गर्छ । अवैधानिक रुपमा अष्ट्रेलिया बस्दै आएका उनलाई हसाउनकै लागि कथामा घुसाइएको हो भनेर बुझ्न सकिन्छ । र, अधिकांश समय उनको ठट्यौलीमै व्यतित हुन्छ ।

किन कमजोर ?

फिल्मको लोकेसन अष्ट्रेलियाको हो भनिएको छ । दृश्य समुन्द्रपारका मुलुककै हो । त्यहाँ अनन्त समुन्द्र छ । भिन्न शैलीका घर छन् । फिल्मको फ्रेमभित्र समेटिने यिनै पृष्ठभूमिमा भूतको कथा पेश गरिएको छ ।

विदेशी भूमिमा छायांकन गरिनुको औचित्य के हो ? कुनै कोणबाट त्यो यथोचित लाग्दैन । यतिका कथा भन्नका लागि अष्ट्रेलियाको महल र समुन्द्री किनार देखाउनु आवश्यक छैन । यदि देखाउनु नै थियो भने, त्यति झुर ढंगले देखाउनु हुँदैनथ्यो । यसको सिनेम्याटोग्राफी यति झुर छ कि, मानौ त्यो मोबाइलले खिचिएको सर्ट मूभि हो ।

फिल्ममा न प्रेम घुसाइएको छ । त्यही सन्दर्भमा एउटा गीत पनि समावेश गरिएको छ । तर, प्रेमको आयतन र गहिराई केही पनि छैन ।

हरर फिल्ममा डर पैदा गर्ने कुनै परिस्थिति र परिवेश छैन । चर्को ध्वानिकै बलमा दर्शकलाई आतंकित बनाउने प्रयास पनि त्यति सफल छैन । न कथाको बनावट घतलाग्दो छ, न प्रसंग र प्रस्तुति डरलाग्दो छ । फिल्म हेरिसक्दा झर्को लाग्छ, डर लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment