Comments Add Comment

ऋणभारले थिचिँदै नेपाली : एक जनाको थाप्लोमा २९ हजार

एक वर्षमै ५ हजारले बढ्यो ऋण

१३ जेठ, काठमाडौं । नेपालीले तिर्नुपर्ने ऋण गत वर्षभन्दा प्रतिव्यक्ति ५ हजार रुपैयाँ बढेको राष्ट्रिय तथ्याङ्कले देखाएको छ ।

सरकारले आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०७४/७५ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको प्रतिव्यक्ति ऋण झण्डै २९ हजार रुपैयाँ पुगेको छ ।

चालू आर्थिक वर्षको प्रथम ८ महिनासम्मको भुक्तानी गर्न बाँकी कुल ऋणलाई आधार मान्दा प्रतिव्यक्ति ऋण २८ हजार ९ सय ६३ पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

गत आवमा प्रतिव्यक्ति ऋण २४ हजार २ सय ७० रुपैयाँ रहेकामा उक्त ऋण चार हजार ६ सय ९४ रुपैयाँले बढेर २८ हजार ९ सय ६३ पुगेको हो ।

यो ऋण गत वर्षको भन्दा १९ दशमलव ३ प्रतिशतले बढी हो ।

आन्तरिक ऋण परिचालनमा उल्लेख्य वृद्धि भएका कारण पनि प्रतिव्यक्ति ऋण गत वर्षको भन्दा बढेर गएको हो ।

चालू आवको पहिलो आठ महिनासम्मको अवधिमा भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण आठ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । जसमा आन्तरिक ऋणको अनुपात ४६ दशमलव १ र बाहृय ऋणको अनुपात ५३ दशमलव ९ प्रतिशत छ ।

अर्थ मन्त्रालयका अनुसार चालू चालू आवमा देखिएको प्रतिव्यक्ति ऋण हालसम्मकै उच्च हो । गत आवमा २४ हजार दुई सय ७० रहेको यस्तो ऋण त्यसभन्दा अघिल्लो वर्ष आव २०७२/७३ मा २१ हजार नौ सय ५८ रुपैयाँ थियो ।

त्यस्तै, आव २०७१/७२ मा १९ हजार तीन सय १९ तथा आव २०७०/७१ मा १९ हजार आठ सय ९१ र आव २०६९/७० मा १९ हजार आठ सय ५९ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment