Comments Add Comment

अनमोल भन्छन्ः ‘पैसाको लागि ‘ब्याक टू ब्याक’ फिल्म साइन गरेको होइन’


नेपाली चलचित्रमा अत्यधिक चुजी नायकका रुपमा चिनिन्छन् अनमोल केसी । उनी एक पटकमा एउटा मात्र चलचित्र हातमा लिन्छन्, र त्यसमा आफ्नो सम्पूर्ण उर्जा खन्याउँछन् । यही शैलीका कारण अनमोलले पाँच वर्षमा पाँच वटा मात्र चलचित्र गरे ।

तर, यतिबेला अनमोलसँग एकै साथ तीन फिल्म छन् । दुई दिनको अन्तरालमा उनले २ वटा चलचित्रमा साइन गरे । आफ्नै होम प्रोडक्शनको चलचित्र ‘क्याप्टेन’को छायांकन चलिरहँदा अनमोलले ‘ए मेरो हजुर ३’ र निर्देशक मिलन चाम्सको चलचित्रमा साइन गरेका हुन् । उनले, महंगो पारिश्रमिक लिएर चलचित्र साइन गरेको चर्चा पनि चलेको छ । तर, पारिश्रमिकको बारेमा अनमोल र निर्माता दुबै मौन छन् ।

अनमोलले चलचित्र क्षेत्रमा आएसँगै बर्षमा एउटा मात्र चलचित्र खेल्ने बताउँदै आएका थिए । तर, यसपटक भने उनले एकैसाथ २ वटा चलचित्र साइन गर्दा विभिन्न टिप्पणी पनि भैरहेको छ । ‘पैसाका लागि फिल्म गरेको, आफ्नै बोली तोडेको’ लगायतका टिप्पणी बजारमा सुनिन्छ ।
आखिर, किन ब्याक टू ब्याक चलचित्र साइन गर्ने सोच बनाए त अनमोलले ?

उनले अनलाइनखबरसँग कुरा गर्दै भने-‘ब्याक टू ब्याक चलचित्र साइन गर्नुको अर्थ एकैसाथ दुबै चलचित्र रिलिज हुन्छन् भन्ने होइन । यो मेरो चलचित्रको पाइपलाइन हो । जुन, केही ग्यापमा रिलिज हुन्छ ।’

अनमोलले भने-‘कुनै पनि कलाकारले राम्रो कथा आयो भने छोड्नुहुदैन भन्ने मलाई लाग्छ । मैले यसअगाडि राम्रो कथा पाएको थिइनँ । यसैले धेरै चलचित्र गरिनँ । तर, यसपटक दुबै चलचित्रको कथा उत्कृष्ट लागेकाले साइन गरेको हुँ ।’

पैसा महंगो पाएकाले साइन गरेको विषयमा उनले भने-‘पैसा सेकेन्डरी कुरा हो । म यसलाई प्राथमिकतामा कहिले पनि राख्दिनँ । पैसाकै लागि चलचित्र खेल्ने हो भने ५ बर्षमा मैले करोडौ कमाइसक्थे । तर, मलाई त्यसरी अगाडि बढ्नु छैन ।’

अनमोलले अगाडि भने-‘मेरो चलचित्र बर्षमा २ वटा रिलिज हुनु नै हुँदैन भन्ने छैन । मेरो चाहना यो हो कि ‘झुर’ चलचित्र रिलिज नहोस् । दर्शकलाई मनपर्ने चलचित्र २ वटा रिलिज हुँदा त्यसले घाटा हुँदैन ।’

आफूभन्दा पछि आएका हिरोहरुले आफ्नो भन्दा बढी चलचित्र खेलिसकेको भन्दै अनमोलले संख्याको पछि आफू कहिले नलाग्ने स्पष्ट पारे ।
उनले अगाडि भने-‘एउटा खेलाडी मैदानमा कतिपटक दौडियो भन्ने कुराले अर्थ राख्दैन । उसले, कति गोल गर्‍यो भन्ने कुराले अर्थ राख्छ । चलचित्र नै नबनीकन टिप्पणी गर्नु तर्कसंगत हुँदैन । यी दुबै चलचित्र रिलिज भएपछि दर्शकले किन मैले साइन गरे भनेर बुझ्नुहुनेछ ।’

अनमोल अगाडि भन्छन्-‘दुईवटा चलचित्रको छायांकन सक्दा मलाई कम्तीमा पनि डेढ बर्ष लाग्छ । यसैले, मन परेको कुनै कथा आयो भने साइन गर्छु, तर त्यो पाइपलाइनमा बस्छ । बलिउडमा पनि सलमान खान, साहरुख खान जस्ता स्टारको ५ बर्षका लागि चलचित्र पाइपलाइनमा छन् । यसको अर्थ, उनीहरुले पैसाकै लागि एकैचोटी चलचित्र साइन गरे भन्ने होइन ।’ २ चलचित्र साइन गर्दा खुशी देखिएका अनमोलले भने-‘उपरवाला देता हे तो छप्पड फाड के देता हे’ भनेजस्तै भएको छ ।’

अनमोल अहिले चलचित्र ‘क्याप्टेन’को गीतको छायांकनका लागि मुस्ताङ पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment