+
+
Shares

प्रदेश ५ सरकारले मनायो गणतन्त्र दिवस

अधिकार बाँडफाँट नहुँदा सरकार अघि बढ्न नसकेको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १५ गते १४:२३

१५ जेठ, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघ र प्रदेश सरकारबीच अधिकारको बाँडफाँटको विषय अझै निरुपण भइनसकेकाले प्रदेश सरकार पूर्ण सामथ्र्यका साथ अघि बढ्न नसकेको गुनासो गरेका छन् ।

प्रदेश सरकारले अस्थायी राजधानी बुटवलमा आयोजना गरेको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले संविधानले व्यवस्था गरेअनुसार संगठनात्मक समायोजन र अधिकारको बाँडफाँटका विषयहरु अझै निरुपण हुन नसक्दा प्रदेश सरकारले जन अपेक्षा अनुसार पूर्ण गतिका साथ काम गर्न ढिलाइ भएको बताए ।

राजतन्त्रको अन्त्य भइसकेकाले अब रोग,भोक,अशिक्षा र गरिबी नै सरकारका दुश्मन भएको उनले उल्लेख गरे ।

केन्द्रीय सरकारले सुखी नेपाली,समृद्ध नेपालको लक्ष्य अघि सारेकोमा प्रदेश सरकारले उक्त लक्ष्य हासिल गर्न सार्थक योगदान गर्न ‘समृद्ध प्रदेश,खुशी जनता’ नारा अघि सारेको मुख्य मन्त्री पोखरेलले स्मरण गराए ।

तीन तहको चुनाव सम्पन्न भइ तीनै तहमा सरकार बनिसकेकाले जनता विकास र समृद्धिको ब्यग्र प्रतिक्षामा रहेकाले जनअपेक्षा पूरा गर्न प्रदेश सरकार दृढ संकल्पित रहेको पनि मुख्यमन्त्री पोखरेलले बताए ।

आफ्नो सम्बोधनका क्रममा मुख्यमन्त्री पोखरेलले नेपालमा विना कुनै रक्तपात २ सय ३७ वर्ष लामो राजतन्त्रको अन्त्य भइ लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु ऐतिहासिक उपलब्धी भएको उल्लेख गर्दै अब गणतन्त्रलाई शासन व्यवस्था मात्र नभइ नागरिक सम्प्रभुतामा आधारित जीवन पद्दति बनाउनुपर्नेमा जोड दिए ।

मूल समारोह अघि प्रदेश सरकारको आयोजनामा बुटवलको नयां बसपार्कबाट प्रदेश प्रमुख उमाकान्त झा,मुख्यमन्त्री शंकर पोखरेल, मन्त्रीहरु, विपक्षी दलका नेता,प्रदेश सरकार मातहतका सरकारी कार्यालयका प्रमुखहरुको सहभागितामा वृहत प्रभातफेरि भएको थियो ।

प्रभातफेरि बुटवल मण्डपस्थित गणतन्त्र स्तम्भमा पुगेर मूल समारोहमा परिणत भएको थियो । गणतन्त्र दिवसकै अवसरमा प्रदेश सरकारले जेठ १५ मा सार्वजनिक विदा दिएको छ ।

सरकारले जेठ १४ देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा २५१ सदस्यीय गणतन्त्र मूल समारोह समिति गठन गरेको छ ।

गणतन्त्र दिवसको दिन सांझ घरघरमा दीपावली गर्न पनि प्रदेश सरकारले प्रदेशवासीमा आग्रह गरेको छ ।

गणतन्त्र दिवसकै अवसरमा रुपन्देहीको मर्चवारमा स्वास्थ्य शिविर,प्रहरी तालिम केन्द्रमा मैत्रीपूर्ण भलिबल,बुद्ध जन्मस्थल लुम्बिनी र पाल्पाको दोभानस्थित चुनुपार्कमा बृक्षारोपण लगायतका कार्यक्रम आयोजना गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?