Comments Add Comment

फास्ट ट्र्याकका लागि सरकारले छुट्टायो १५ अर्ब ३९ करोड

१६ जेठ, काठमाडौं । सरकारले काठमाडौं निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक)का लागि १५ अर्ब ३९ करोड बजेट छुट्याएको छ ।

आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमा द्रुतमार्गका लागि १५ अर्ब ३९ करोड ७८ लाख बराबरको रकम विनियोजन गरिएको हो । यसमा नेपाल सरकारको ५ अर्ब ६४ करोड र वैदेशिक अनुदानबाट ९ अर्ब ७५ करोड रुपैयाँ खर्च गरिनेछ ।

द्रुतमार्ग निर्माण गरिरहेको सेनाले भने आगामी आर्थिक वर्षका लागि काम अघि बढाउन ३८ अर्ब बजेट माग गरेको थियो । चालु आर्थिक वर्षमा सरकारले यो सडकका लागि १० अर्ब १४ करोड बराबरको रकम छुट्टाएको थियो । तर, सेनाले ८ अर्ब ५३ करोड मात्रै खर्च गरिसक्ने अनुमान गरिएको छ ।

नेपाली सेनाले अहिले डीपीआर निर्माण गर्दैछ । यसअघि भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर सेनाले नकिन्ने निर्णय गरेसँगै नयाँ डिपिआर बनाउनुपरेको हो । लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
चार वर्षमा पूरा हुने लक्ष्य राखिएको आयोजनाको कुल लागत १ खर्ब ११ अर्बको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment