Comments Add Comment

सिन्धुपाल्चोकको पुनर्निर्माण तीव्र, २२ हजार घर बने

फाइल फोटो

भूकम्प प्रभावित सिन्धुपाल्चोकको पुनर्निर्माणले तीव्रता पाएको छ । यही गतिमा पुनर्निर्माण अघि बढ्ने हो भने अबको केही महिनामा अस्थायी टहरोमा रहेका सबै भूकम्प पीडितहरु स्थायी संरचनामा बस्न पाउने छन् ।

भूकम्प गएको एक वर्षपछि अर्थात् ०७३ वैशाख १२ देखि जिल्लामा औपचारिक रुपमा पुनर्निर्माण सुरु भएको थियो । पुनर्निर्माण सुरु भएको २१ महिनाको अवधिमा २२ हजार १ सय ७७ घर निर्माण सम्पन्न भएको छ ।

तेस्रो किस्ता लिनेको संख्या हेर्दा २२ हजार मात्रै घरहरु पुनर्निर्माण भए पनि योभन्दा बढी रहेको निजी आवास निर्माणमा प्राविधिक सहयोग गरिरहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । वैशाखदेखि पुनर्निर्माण सुरु भए पनि असोजदेखि मात्रै अनुदान वितरण सुरु गरिएकाले पनि पुनर्निर्माणको समय जम्मा १९ महिना मात्रै पूरा भएको छ ।

तेस्रो किस्ता प्राप्त गर्नेको संख्या २७ प्रतिशत मात्रै भए पनि पुनर्निर्माण सम्पन्न भएको प्रतिशत योभन्दा धेरै भएको शहरी विकास तथा भवन डिभिजन कार्यालयका निमित्त प्रमुख इञ्जिनियर टंक गौतमले जानकारी दिए ।

गुनासो सहित सिन्धुपाल्चोकमा ८८ हजार ७ सय ८९ लाभग्राही मध्ये ८२ हजार १७ घरधुरी रहेको थियो योमध्ये नेपाल सरकारबाट ७६ हजार ६१४ र संघ संस्थाले ५ हजार ४०३ गरी ८२ हजार १७ जनाले पहिलो किस्ताबापतको ५० हजार प्राप्त गरिसकेका छन् ।

डीपीसीसम्म गरेपछि प्राविधिकहरुले नापजाँच पछि लाभग्राहीहरुले दोस्रो किस्ता पाउँछन् । सिन्धुपाल्चोकमा डीपीसीसम्मको लेभल सक्ने लाभग्राहीको संख्या ६८ हजार ३९३ पुगेको छ । प्रतिशतमा हेर्दा डीपीसी लेभल सकेर दोस्रो किस्ता पाउने ८३ प्रतिशत रहेको छ । वर्षा अगाडि नै जिल्लामा तेस्रो किस्ता लिएर घर निर्माण सम्पन्न गर्नेको संख्या ४० प्रतिशत सम्म पुग्न सक्ने शहरी विकास तथा भवन डिभीजन कार्यालयले अनुमान गरेको छ ।

ट्रस्टको छानो भएका र केही मापदण्ड नपुगेकोसम्म हिसाब गर्ने हो भने जिल्लामा करिब करिब पुनर्निर्माण ५० प्रतिशतभन्दा माथि पुगेको कार्यालयहरुको दाबी छ ।

जनप्रतिनिधि आएपछि पुनर्निर्माणमा गति

स्थानीय तहमा जनप्रतिनिधि आएपछि पुनर्निर्माणले तीव्रता पाएको छ । स्थानीय तह निर्वाचनताका सबै राजनीतिक दलका उम्मेदवारहरुले पुनर्निर्माणलाई पहिलो एजेण्डा बनाएका थिए । जनप्रतिनिधिहरुले आफ्नो गाउँ र नगर भित्रका बस्तीहरुमा पुनर्निर्माणलाई सजिलो बनाउने र निर्माण सामग्री ढुवानीमा सहजताका लागि स्थानीय तहको बजेटबाटै कच्ची सडकहरु धमाधम निर्माण गरिदिएका थिए ।

पुनर्निर्माणलाई सहज होस् भनेर हामीले प्राय सबै बस्तीहरुमा सडक पु¥याएका छौ बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशीला पा्रख्रिनले भनिन्, ‘केही समस्या हुनासाथ वडा अध्यक्षहरु सम्बन्धित निकायसम्म पुगेर काम गरिदिने भएकाले पुनर्निर्माणमा सजिलो भएको छ ।’

अबको एक वर्षमा पुनर्निर्माण सकिन्छ

शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख डिभिजन इन्जिनियर गौतम अर्को वैशाखसम्म करिब–करिब निजी आवास पुनर्निर्माण सकिने दाबी गर्छन् । ‘कर्मचारीहरु फुल फेजमा छन्, लाभग्राहीहरुमा पनि चेतना आएको छ’, गौतमले भने, यही गतिमा अघि बढ्ने हो भने ०७६ वैशाखसम्म पुनर्निर्माण सकिन्छ ।’ लाभग्राहीहरुमा पनि जसरी पनि घर निर्माण गर्नुपर्छ भन्ने चेतना आएको र जनप्रतिनिधिका कारण पनि पुनर्निर्माणले गति लिएको गौतमको भनाइ छ ।

गुनासो सम्बोधन छिटो नहुँदा समस्या

अनुदान लिनका लागि पहिचान भएका लाभग्राही बाहेक गुनासोमा हालेका अन्य लाभग्राहीहरुको गुनासो छिटो सम्बोधन नहुँदा समस्या भने भएको छ । विभिन्न कारणले यस अघि छुट भएका लाभग्राहीहरुले गुनासोमा फारम भरेका छन् तर पुनर्निर्माण प्राधिकरणले गुनासोलाई छिटो सम्बोधन नगरेको पीडितहरुले बताएका छन् । गुनासो पनि सम्बोधन हुने हो भने तोकिएको समयमा नै पुनर्निर्माण सकिने गौतम बताउँछन् ।

अनुदान पचाउन घर बनाउनेको संख्या बग्रेल्ती

बन्देउ चौतारा सडक खण्डको नर्सरी नजिकै सडक मुनि ३ घर लस्करै देख्न सकिन्छ । ती घर बस्न मिल्ने किसिमका छैनन् ।

यो त एउटा उदहारण मात्रै हो, सरकारी अनुदान ‘पचाउन’का लागि घर निर्माण गर्नेको जमात जिल्लामा धेरै छन् । सरकारले निश्चित मापदण्डको घर बनाउनका लागि नियम बनाउन नसक्दा अनुदान पचाउने नियतले जिल्लामा १० हजार बढी यस्ता घरहरु निर्माण भएको हुन सक्ने सरकारी तथ्यांक छ । पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रतिरोधी घर निर्माण गर्न मात्रै भनेको र त्यसको साइज उल्लेख नगर्दा अनुदान पचाउन यस्ता घरहरु बनाइएको सरकारी अधिकारीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment