Comments Add Comment

तेल ढुवानी नभएपछि राजधानीमा पेट्रोल अभाव


२१ जेठ, काठमाडौं । भारतीय प्रहरीले चालक कुटपिट गरेको विरोधमा नेपाली ट्यांकर व्यवसायी तथा चालकले इन्धन ढुवानी रोकेपछि काठमाडौंमा पेट्रोल अभाव देखिएको छ । राजधानीका अधिकांश पेट्रोलपम्प बन्द छन् भने खुलेका पम्पहरुमा उपभोक्ताको लामो लाइन छ ।

वीरगञ्जबाट इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले सुरक्षाको माग गर्दै आइतवारदेखि इन्धन ढुवानी रोकेका हुन् । आइताबर काठमाडौंमै पनि तेलको ढुवानी रोकिएको थियो ।

नेपाल आयल निगमले अहिले १ लाख लिटर पेट्रोल र १ लाख ३० हजार लिटर डिजेल बजार पठाउन लागिएको बताएको छ ।

‘ढुवानी रोकिएपछि समस्या भएको हो । हामी तेल पम्पहरुमा पठाउँदैछौं,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने,’अब अभाव हट्छ ।’

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष सुरेन्द्र श्रीवास्तवका अनुसार शनिवार भारतीय प्रहरीले ७ जना नेपाली ट्याङ्कर चालकमाथि कुटपिट गरेका थिए । कुटपिटबाट ती चालक घाइते भएको उनले बताए ।

भारतीय प्रहरीले वीरगञ्ज सुक्खा बन्दरगाहमा नेपाली चालकमाथि हमला गरेका श्रीवास्तवले जानकारी दिए । उक्त कुटपिटको घटनापछि सुरक्षा प्रत्याभूति माग गर्दै चालकहरूले इन्धन ढुवानी रोकेका हुन् ।

भारतीय पुलिसले कुटेको उक्त घट्नापछि वीरगञ्ज नाकाबाट इन्धन ढुवानी नै रोकिएको छ भने नेपाल आयल निगमको थानकोट र अमलेखगञ्ज डिपोमा इन्धन लोड/अनलोड पनि ठप्प छ ।

‘कुटपिट भएपछि चालकहरूले ढुवानी गर्न नसकिने भन्दै कामै गरेका छैनन्,’ श्रीवास्तवले भने । इन्धन ढुवानी रोकिएपछि महासंघले सुरक्षाको प्रत्याभूतिको माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमलाई पहल गरिदिन आग्रह गरेको छ ।

महासंघका उपाध्यक्ष श्रीवास्तवका अनुसार विगत ५/६ दिनदेखि नै भारतीय पक्षबाट कुटपिटका घटना भएका छन् । वीरगञ्ज नाकाबाट दैनिक डेढ सयको हाराहारीमा नेपाली ट्याङ्करले इन्धन ढुवानी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment