Comments Add Comment

नेकपा एयरलाइन्सः बयलगाडादेखि जेट विमानसम्म !

वाम एकतापछिका चुनौतीः बढ्दो अन्तरविरोध र सरकारको गतिहीनता

एमाले र माओवादीवीच पार्टी एकता भएको केही साता बितेको छ । पार्टी नेताहरु अहिले प्रदेश, जिल्ला र स्थानीय तहमा कसरी भागबण्डा मिलाउने भन्ने गृहकार्यमा जुटिरहेकै छन् । सरकार घिसेपिटे रुपमा घसि्रइरहेकै छ । अनि, वाम एकताको भविश्यबारे पार्टीभित्र र बाहिर दुबै मञ्चहरुमा विचार-मन्थन पनि भइरहेकै छ ।

एमाले-माओवादीको एकीकरणलाई विभिन्न मिथक प्रयोग गरेर प्रष्ट्याउने प्रयास पनि भएको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतालाई ‘जेट’ को संज्ञा दिँदै प्रचण्ड र आफू दुईजना जेटका चालक भएको बताएका छन् । टेम्पो चलाउन एउटा ड्राइभरले पुग्छ भने जेट हाँक्न कमसेकम दुईजना पाइलट चाहिन्छ भन्ने ओलीको वाङमयपूर्ण प्रस्तुति निकै नै रोचक छ ।

मिथक र विम्वहरुकै सम्झना गर्ने हो भने ओलीको भाषामा जनयुद्धताका तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड ‘बयलगाडाका चालक’ थिए । त्यतिबेला ओलीले माओवादीको आलोचना गर्दै भनेका थिए कि बयलगाडा चढेर अमेरिका पुगिन्न ।

तर, नेपोलियन बोनापार्टको १८ औं बु्रमेरमा कार्ल मार्कसले भनेजस्तै अहिले इतिहास दोहोरिएको छ, एउटा प्रहसनका रुपमा । अर्थात ‘बयलगाडाका ड्राइभर’ विमानका पाइलट बनेर ओलीकै सामुन्नेमा बसेका छन् । र, ओलीलाई लागेकै हुनुपर्छ- अब पक्कै पनि ‘अमेरिका’ पुग्न सकिन्छ ।

पार्टी एकता हुँदै गर्दा पूर्वएमाले नेता एवं हाल संघीय समाजवादी फोरमका बरिष्ठ नेता रहेका अशोक राईले अर्को रोचक विम्वको प्रयोग गरे । उनले एमाले र माओवादीको मिसावटलाई कोदो र तोरी मिसिएको संज्ञा दिए ।

हुन पनि कोदो र तोरी मिसिँदा एकैखाले देखिन्छ नै । तर, त्यसलाई पिसेर न पीठो बनाउन मिल्छ, न त पेलेर तेल नै निकाल्न सकिन्छ । आपसमा मिसिएको विजातीय कोदो र तोरीलाई कसरी कसरी सदुपयोग गर्ने ? यो निकै नै ठूलो चुनौती हो ।

यद्यपि, आपसमा मिसिएको कोदो र तोरीमै आफू पनि मिसिनका लागि संघीय समाजवादी फोरमले पनि एकता वार्ता थालेका समाचारहरु आइरहेका छन्, जुन नेपाली राजनीतिको अर्को रस हो ।

विमान छ, विमानस्थल छैन !

नेपाली समाजमा एउटा आहान छ- भुइँमा न भाँडामा ! अहिले एमाले र माओवादीको मिश्रणबाट बनेको नेकपाको अवस्था पनि यही हो कि नयाँ पार्टी ‘भूइँमा न भाँडामा’को अवस्थामा आइपुगेको छ ।

पार्टीले जमीनमा खुट्टा टेकिसकेको छैन । स्थानीय तह र प्रदेशमा एकताको प्रक्रिया पूरा भएको छैन, जसले गर्दा पार्टी भुइँमा छैन । सरकारमा पनि भएकाले नेताहरुले आफूलाई ‘सिकन्दर’जस्तै ठानिरहेका छन् । सरकार र पार्टीमा अहम बढेको छ । पार्टी एकता भइहाल्यो, अब लामो समयसम्म सत्ताभोग गर्न सकिन्छ र समाजवादको यात्रामा अघि बढ्न कसैले रोक्न सक्दैन भन्ने नेताहरुलाई परेको छ ।

ओली सरकारले खासै समाजवादको वृक्षारोपण गर्न सकिरहेको छैन भन्नका लागि अब आइतबार पर्खनुपर्ला जस्तो लाग्दैन । र, सरकारले राम्रो काम गरेन भने नारायणकाजीले भनेकै छन्ः धक्का खाइन्छ !

एकीकृत पार्टी कुनै भाँडो वा संरचनाभित्र समेटिएको अवस्था छैन । कोदो र तोरी एकै ठाउँमा नभएर सिकुवाभरि पोखिएको स्थितिमा छ । यस अर्थमा नयाँ पार्टी संरचनागत हिसाबले पनि र मनोगत हिसाबले पनि न भूँईमा छ, न भाँडामा । छ त, आकाशमा छ । दिगमा वा हावामा छ ।

यो स्थितिलाई फेरि केपी ओलीकै वाङमय प्रयोग गरेर यसो भन्न सकिन्छ कि नयाँ जेट अर्थात नेकपा एयरलाइन्सको विमान यतिबेला आकाशमा छ । पाइलटको सिटमा प्रचण्ड र ओली बसेका छन् । कहाँ पुगेर विमान ल्याण्डिङ गर्ने हो, ओली र प्रचण्डकै हातमा छ ।

तर, एकीकृत पार्टीको राजनीतिक दस्तावेजलाई हेर्ने हो भने यसो भन्न सकिन्छ कि ओली र प्रचण्डसँग विमान छ, विमानस्थल छैन ।

कांग्रेसले ‘विमानस्थल’ कब्जा गर्‍यो भने ?

नेकपाले आफ्नो उडानको गन्तव्य समाजवादलाई बनाएको छ । सरकार अनि पार्टीको मुख्य उद्देश्य भनेकै बडेमाको विमानलाई समाजवादको एयरपोर्टमा लगेर उतार्नु हो ।

नेकपाको दस्तावेजमा ‘आम राजनीतिक कार्यदिशा’ शीर्षकमा भनिएको छ- ‘नेपाली क्रान्तिको दीर्घकालीन र रणनीतिक लक्ष समाजवादको स्थापना हो ।…. हामी शान्तिपूर्ण संघर्ष र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट समाजवाद निर्माण गर्न चाहन्छौं ।’ (पृष्ठ १२)

नेकपाको दस्तावेजले भनेजस्तै ‘शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट’ समाजवादमा पुग्ने वा त्यसका लागि आधार तयार पार्ने हो भने नेकपाको नेतृत्वमा सरकारमा उपस्थिति अनिवार्य शर्त हो । यसका लागि आगामी ५ वर्षको अवधि पर्याप्त हुँदैन र कम्तिमा अर्को ५ वर्ष पनि वामपन्थीकै बहुमतवाला सरकार आवश्यक पर्न जान्छ ।

तर, यो सरकारले राम्रो काम गर्न सकेन र अर्को पटकको चुनावमा कांग्रेसले सरकार कब्जा गर्‍यो भने वामपन्थीहरुले यो सम्झे हुन्छ कि समाजवादी विमानस्थल कांग्रेसको नियन्त्रणमा गयो । र, त्यसरी ५ वर्षपछि ‘शान्तिपूर्ण प्रतिस्पर्धा’ नेकपाले हार्‍यो भने समाजवादी उडानको अवस्था कस्तो होला ?

हामीले केही समय पहिले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई यही विषयमा प्रश्न सोधेका थियौं । जवाफमा श्रेष्ठले यसो भनेका थिए-
‘यतिबेला वर्ग संघर्षको मुख्य मोर्चा सरकारको मोर्चा हो । यो मोर्चामा फेल भयौं भने कम्युनिष्ट आन्दोलन, क्रान्तिकारी आन्दोलन र नेपाली समाज धेरै पछाडि पर्छ । त्यसैले हर हालतमा सफल हुनुपर्छ, यो सरकारलाई असफल हुने छुट नै छैन । त्यसैले अहिले सन्तोष मानेर बस्ने बेला होइन । हामीले सरकारलाई सचेत पार्नुपर्ने र पुर्ण सहयोग गर्नुपर्ने आवश्यकता छ ।’

(अन्तरवार्ता पढ्नुहोस्- सरकारले काम राम्रो नगरे धक्का खाइन्छ)

माथिको यो विश्लेषणबाट के स्पष्ट हुन्छ भने नेकपाको कार्यदिशा कार्यान्वयनका लागि आगामी चुनावमा पनि विमानस्थल आफ्नै पकडमा राख्न आवश्यक छ । र, त्यसका लागि सरकार र पार्टीले जनताको विश्वास जितिराख्ने गरी काम गर्न आवश्यक छ । त्यसो हुन सकेन भने ओली र प्रचण्डका हातमा समाजवादको विमानमात्रै हुनेछ, विमानस्थलचाहिँ उसले भनेको ‘दलाल नोकरशाही पुँजीपति वर्ग’को हातमा जाने छ ।

नेकपा नेतृत्वको सरकारमा देखिएको भवितव्यलाई सामान्यरुपमा लिन सकिँदैन । किनभने, यो नेकपा एयरलाइन्सको जेटको इञ्जिन र इन्धन दुबै सरकारको मोर्चामा निर्भर छ । सरकारको मोर्चा फितलो भयो भने पार्टीको विमान पनि दुर्घटनामा पर्न सक्छ ।

सम्धीज्यूका गफै ठूला !

एमाले-माओवादीवीच पार्टी एकता भएलगत्तै काठमाडौंमा विभिन्न देशका कम्युनिष्ट पार्टीका नेताहरु भेला भए । सो भेलामा ओली र प्रचण्डले बेग्लाबेग्लै कार्यपत्रहरु प्रस्तुत गरे । चीन लगायतका देशबाट आएका कम्युनिष्ट नेताहरुलाई नेपालमा वाम नेताले ‘हामीबाट सिक’ भन्ने ठंगले निकै ठुल्ठुला कुराहरु सुनाएर पठाए ।

एकातिर सरकारमा पुगेको र अर्कोतिर पार्टी एकतासमेत गरेको हुनाले नेपालका वाम नेता निकै नै हौसिनु स्वाभाविकै थियो । तर, चुनावमा गरेको गठबन्धन र केही अंक गणितीय सफलताबाहेक नेकपाबाट सिकिहाल्नुपर्ने कुनै ठूलो आविश्कार भइसकेको चाहिँ छैन । नेकपा नेतृत्वको सरकार त बन्यो, देखिने र संसारले नै सिक्ने गरी कुनै चमत्कार भएको छैन ।

किनभने, सय दिनको अवधिमा ओली सरकारले कुनै चमत्कार देखाएको छैन । सरकारले गफ बढी र काम कम गरिरहेको छ । सरकारले ल्याएको बजेटको आलोचना पार्टीभित्रैबाट भइरहेको छ । प्रदेशहरुमा नेकपाकै मुख्यमन्त्री छन्, जसले सरकारको आलोचना गरिरहेका छन् । एउटै पार्टीका प्रादेशिक र संघीय सरकारवीच अन्तरविरोध बढेको छ ।

‘राष्ट्रवाद र विकास’का दुईवटै नारामाथि जनमानसमा प्रश्न उठ्न थालेको छ । यो स्थितिमा ‘संसारका कम्युनिष्टले नेपालबाट सिक’ भन्ने आग्रहलाई ‘सम्धीज्यूका गफै ठूला’ भन्ने आहानसँग सामान्यीकरण गर्नुपर्ने दयनीय स्थिति छ ।

यो स्थितिमा ‘संसारका कम्युनिष्टले नेपालबाट सिक’ भन्ने आग्रहलाई ‘सम्धीज्यूका गफै ठूला’ भन्ने आहानसँग सामान्यीकरण गर्नुपर्ने दयनीय स्थिति छ ।

हुन त ओली र प्रचण्डले सरकारमा उपेन्द्र यादवलाई पनि समेट्न सफल भएका छन् । गणितको हिसाबले यसलाई एउटा सफलता नै मान्नुपर्छ । अब कोदो र तोरीमा कुनै ‘खेसरीको दाल’ मिसियो भने त्यसले मात्रात्मक प्रगति नै होला । तर, जनताले चाहेको अंकगणित होइन, जनताले चाहेको त सरकारले जनहितमा काम गरोस् भन्ने हो । गणित त चुनावमै जनताले उतीणर्ाङ्गका लागि पर्याप्त हुने गरी दिइसकेकै छन् ।

अन्तरविरोधका छिद्रहरु

केपी ओली नेतृत्वको सरकारमा केही अन्तरविरोधहरु सिर्जना भएका छन् । सुरुमा सानो छिद्रजस्तै लाग्ने यी अन्तरविरोधहरु बेलैमा समाधान भएनन् भने तिनले ठूलो रुप लिन थाल्छन् । अन्तरविरोधका स-साना छिद्रहरुमा औंला घुसार्ने ‘देशी-विदेशी तत्वहरु’ सक्रिय बनिरहेकै छन् ।

अन्तरविरोधका प्राथमिक लक्षणहरुको कुरा गर्दा ओली सरकारले प्रथम आर्थिक वर्षको बजेट संघीयता र विकास दुबै दृष्टिले सन्तोषजनक ल्याउन सकेन भन्ने गुनासो सतहमा आएको छ । सपना र यथार्थको दरार पुर्ने काम बजेटले गर्न सकेन भन्ने गुनासो सत्तापक्षबाटै आउनु सुखद विषय होइन । अहिले गाली खाने र अर्को वर्ष ताली खाने बजेट आउँछ भन्ने अर्थमन्त्रीको भनाइलाई पत्याउनुबाहेक बजेटले सत्तारुढ नेता, कार्यकर्ता र जनतालाई सन्तुष्ट पार्न सकेको छैन ।

त्यसैगरी सरकारले आफ्नै पार्टीको नेतृत्वमा रहेका प्रदेश र स्थानीय तहहरुलाई पनि सन्तुष्ट पार्न सकेन । विपक्षीमात्रै होइन, आफ्नै दलका नेतालाई पनि बजेटले सन्तुष्टि दिएन । सरकारमा देखिएको यो भवितव्य सामान्य होइन ।

त्यस्तै, सरकारमा सहभागी मन्त्रीहरुको ‘परफरमेन्स’लाई लिएर पनि असन्तुष्टिका स्वर सुनिन थालेका छन् । यो असन्तुष्टि नेकपा एयरमा देखिएको धुँवाजस्तै हो । जनताको अपेक्षा र मन्त्रीहरुको कार्यक्षमतावीचको यो अन्तरविरोधलाई पनि नेकपा नामधारी पानीजहाजमा देखिएको सानो छिद्रका रुपमा लिन सकिन्छ ।

सरकारमा मात्रै होइन, नयाँ पार्टीमा पनि छिद्रहरु प्रशस्तै छन् । एकीकरण हुँदा पद नपाएर रिसाएकाहरु, सरकारको स्वाद चाख्न नपाएकाहरु अनि पुराना गुटरुपी ऐंजेरुसहित पार्टी एकता घोषणा भएको छ । गलगाँडहरु बोकेर नेताहरुवीच एकता भएको छ । मलाई अन्याय भयो भन्ने झलनाथहरु तलदेखि माथिसम्मै छन् । पार्टीभित्रको यो स्थिति महाधिवशेनसम्म थिगि्रने अवस्था देखिँदैन, जसले अर्को चुनावमा विपक्षीलाई फाइदा पुर्‍याउने या केही वर्षपछि सरकार फेरवदल गराउने खतरा आइपर्न सक्छ ।

यसअर्थमा अहिलेको सरकार र एकीकृत पार्टी नेकपाका सामु चुनौतीहरु प्रशस्तै छन् । अवसर पनि छन् । तर, अवसरलाई चुनौतीको फोहोरले ढाकिरहेको छ ।

र, सबैभन्दा ठूलो चुनौती त यही नै हो कि बयलगाडा र टेम्पो चलाइरहेका चालकहरुले जेट विमान कसरी उडाउलान् र कहाँ लगेर अवतरण गर्लान् ? आशा र कामना गरौं विमान दुर्घटनामा नपरोस् ।

कतिपयलाई लाग्न सक्छ, नकारात्मक नसोचौं । केहीलाई लाग्न सक्छ, अहिल्यै नकारात्मक नसोचौं । तर, विज्ञानको नियम के हो भने जति नै सकारात्मक सोचे पनि कागतिको बोटमा सुन्तला फल्दैन । सुन्तला खाने हो भने सुन्तला नै रोप्नुपर्छ ।

समाजवादमा जाने हो भने समाजवादै रोप्नुपर्छ । ओली सरकारले खासै समाजवादको वृक्षारोपण गर्न सकिरहेको छैन भन्नका लागि अब आइतबार पर्खनुपर्ला जस्तो लाग्दैन । र, सरकारले राम्रो काम गरेन भने नारायणकाजीले भनेकै छन्ः धक्का खाइन्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अरूण बराल

अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment