२२ जेठ, सप्तरी । विश्व वातावरण दिवसको अवसरमा सप्तरीका बिभिन्न सरकारी कार्यालय र विद्यालयहरुमा बृक्षारोपण गरिएको छ । दिवसको अवसर पारेर सप्तरी युथ नेपालले कार्यालयहरुलाई बिरुवा उपलब्ध गराउँदै रोप्नसमेत सहयोग गरेका छन् ।
सप्तरी युथ नेपालको बृक्षारोपण अभियान करिब १० दिनसम्म चल्ने सचिव आयुष श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै सरकारी कार्यालय र विद्यालयहरुमा कम्तीमा दुई वटा बिरुवा रोपिनेछ । फलफूल, मसालाका बिरुवा सप्तरी युथले रोप्न लागेको हो ।
वातावरण दिवसको अवसर पारेर युथ नेपालले शुरु गरेको अभियानको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्घाटन गरे । जिल्ला प्रशासन कार्यालयमा बिरुवा रोप्दै प्रजिअ पौडेलले अभियानको उद्घाटन गरेका हुन् । अर्काे एक बिरुवा भने सहायक प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले रोपे ।
मंगलबार नै सप्तरी युथका सदस्यहरुले राजविराज नगरपालिका, बोदेबर्साइन नगरपालिकासहित बिभिन्न वडा कार्यालय र विद्यालयहरुमा समेत दुई वटा बिरुवा उपलब्ध गराएर रोपेको सप्तरी युथ नेपालका सदस्य जयकृष्ण यादवले बताए ।
पुरस्कारको घोषणा
सप्तरी युथ नेपालले बिरुवा रोपेर त्यसको फोटो सार्वजनिक गर्न आह्वान गरेको छ । बिरुवा रोपेको, रोप्दै गरेको फोटोहरु सप्तरी युथको फेसबुक पेजलाई ट्याग गरेर पोष्ट गर्न युथ नेपालले जिल्लाका युवाहरुसँग आग्रह गरेको छ ।
सार्वजनिक भएका फोटोमध्ये सबैभन्दा राम्रो फोटोलाई पुरस्कार दिइनेछ । सप्तरी युथ नेपालका कोषाध्यक्ष बिष्णु यादवले उत्कृष्ट फोटा खिंच्नेलाइ दुई हजार एक सय रुपैयाँ पुरस्कार दिइनेछ ।
प्रतिक्रिया 4