Comments Add Comment

हेडमास्टरमाथि लाग्यो महिलालाई बली दिने प्रयास गरेको आरोप

न्यू गोल्डेन लाइफ इंग्लिस स्कुल

२२ जेठ, नवलपरासी । हेडमास्टरमाथि सुन पाउने अन्धविश्वासमा छिमेकी महिलालाई बली दिने प्रयास गरेको आरोप लागेको छ । बालकलाई बली दिएको घटना बिर्सन नसकिरहेका नवलपरासीबासीलाई यो घटनाले फेरि झस्काएको छ ।

नवलपरासीको प्रतापपुर गाउँपालिका-३, अमुवास्थित न्यू गोल्डेन लाइफ इंग्लिस स्कुलका संचालक तथा प्रिन्सिपल हरेन्द्र शर्मामाथि छिमेकी फूलमती मुसहरलाई बली दिने प्रयास गरेको आरोप लागेको हो ।

यसका लागि उनले विद्यालय परिसरभित्रै ४ फिट गहिरो डेढ फिट लम्बाई र चौडाईको खाल्डो खनेका थिए । पीडित महिलाले भागेर ज्यान जोगाएको स्थानीयले बताएका छन् ।

घटना जेठ १८ गते शुक्रबार रातिको हो । शर्माले धामी बोलाएर स्कुलको प्राङ्गण अगाडि रहेको टहरोमा करिब ४ फिट गहिरो खाल्डो खनेर विशेष पूजा गरेका थिए । लगत्तै, स्कुलमा कार्यरत फूलमतीका देवर–देउरानीको सहयोगमा फूलमतीलाई राति १२ बजे त्यहाँ पुर्‍याएका थिए ।

पूजा गरिरहेको स्थानमा गहिरो खाल्डो र धारिलो हतियार देखेपछि फूलमती भागेर छिमेकीको घरमा पुगेकी थिइन् । स्थानीयले खबर गरेपछि राति २ बजे इलाका प्रहरी कार्यालय, समेमरीको टोली पुग्दा खाडल देखेको र पूजाआजा गरेको पाइएको प्रहरी नायब निरीक्षक झलक श्रेष्ठले जानकारी दिए ।

धामी कृष्ण प्याकुरेलले त्यहाँ मानव हड्डी भेटिएको र मानव बली दिए सुन पाइने बताएको र त्यसअनुसार हेडमास्टर हरेन्द्रले बली दिन खोजेको स्थानीयको दाबी छ ।

हेडमास्टर हरेन्द्रले भने लामो समयदेखि बिरामी रहेको आफ्नो श्रीमतीको पनि धामीले झारफुक गर्दा सञ्चो भएकाले फूलमतीलाई पनि ल्याएको दाबी गरेका छन् ।

तर, फूलमतीलाई यसबारे कुनै जानकारी थिएन । साथै, फुलमतीको परिवारसँग देवर पञ्चराम र देउरानी चन्दाको बोलचाल समेत नरहेको र शुक्रबार राति जबरजस्ती पूजा स्थलमा लगेकालले घटना शंकास्पद भएको छ ।

प्रहरीले गरायो मिलापत्र

जेठ १९ गते स्थानीय बसेर झैझगडा भन्दै घटनालााई गाउँमा नै मिलाउने प्रयास गरेका छन् ।

तर, घटनाबारे गाउँमा हल्ला फैलिएपछि हरेन्द्रले फुलकुमारीलाई यसका कारण विद्यालयमा असर पुगे ठीक नहुने भन्दै धम्याएका छन् । यसबारे फुलमतीले सोमबार ईलाका प्रहरी कार्यालय, सेमरीमा निवेदन समेत दिएकी छन् ।

तर, प्रहरीले पनि घटनाको छानविन गरी दोषीलाई कारबाही गर्नुको साटो मिलापत्र गरेर पठाएको छ । स्थानीय भद्रभलाद्मीको रोहवतमा दुबै पक्षलाई बोलाएर आपसी झैझगडा नगर्ने र कुनै पनि निकायमा उजुरबाजुर गर्न नपाउने सहमति जुटाइएको ईलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायब निरीक्षक श्रेष्ठले बताए ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइएको बताएका छन् । ‘मैले खबर पाउने वित्तिकै तत्काल प्रहरीलाई सुक्ष्म अनुसन्धान गर्न निर्देशन दिइसकेको छु’, प्रजिअ लामिछानेले अनलाइनखबरसँग भने, ‘जहाँसम्म मानव बलीको कुरा छ, त्यसो भएको हो भने त्यो एकदमभ गम्भीर र आपत्तिजनक कुरा हो ।’

यो पनि पढ्नुस् 

आफ्नो छोरा सञ्चो बनाउन छिमेकीका १० वर्षे छोराको बली !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment