Comments Add Comment

१ असारदेखि राजविराजमा नियमित उडान भर्ने तयारी

२३ जेठ, सप्तरी । श्री एयरलायन्सले राजविराज बिमानस्थलबाट नियमित उडान भर्ने तयारी गरेको छ । यसका लागि राजविराजमा कार्यालय खोल्ने तयारी भइरहेको छ भने केही दिनमै कर्मचारी पुग्दैछन् ।

श्री एयरलायन्सका बजार हेर्ने प्रतिनिधीहरुले बुधबार राजविराजमा संचारकर्मीहरुसँग कुरा गर्दै असार १ गतेदेखि नियमित उडान भर्ने तयारी रहेको बताए । राजविराजस्थित जिल्ला समन्वय समितिको अगाडि मुख्य रोडमै श्री एयरलायन्सको कार्यालय स्थापना भइरहेको जानकारी गराए ।

‘हामीले गर्नुपर्ने कामहरुमध्ये धेरै गरिसकेका छौं’ एयरलायन्सका सौरभ ओझाले भने, हामी जसरी पनि असार १ गतेदेखि विमानस्थलबाट जहाज उडोस् भन्न चाहन्छौं । त्यसका लागि तत्पर छौं ।’

प्रत्येक दिन उडान भर्ने तयारी छ । शुरुमा यात्रुको समस्या भएपनि हाम्रो उडान नियमित हुने उनले बताए । उनका अनुसार काठमाडौंबाट १२ः३० बजे उडेर जहाज राजविराज आउने र यहाँबाट १ः२० बजे काठमाडौंका लागि प्रस्थान गर्नेछ । । राजविराजबाट काठमाडौं पुग्न २५ मिनेट मात्र लाग्नेछ ।

शुरुमा ५० सिटे जहाज उडने र यात्रु बढ्न थालेपछि ७० सिटे जहाज उडाइने श्री एयरले जनाएको छ ।

सरकारी ढिलासुस्ती कायमै

श्री एयरलायन्सका कर्मचारीहरुले जहाज उडाउन तयारी अवस्थामा भएपनि विमानस्थलभित्र काम सुस्त गतिमा भइरहेको बताएका छन् । ‘बिमानस्थलभित्रको डिर्पाचर कक्ष निर्माण सुस्त गतिमा भइरहेको छ’ एयरलायन्सका अर्का कर्मचारी सुजन बिष्टले भने, ‘यात्रु प्रतिक्षालय कहिले बन्ने अतोपतो छैन ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी पनि खटाएको छैन । टावरमा जडान गरिने संचार सेटहरु पनि जडान हुन नसकेको उनले बताए । ‘उपकरणहरु आइसकेको भनेर सुनेको छु तर, जडान गरिएको छैन’ विष्टले भने ।

भीआइपी कक्षहरु निर्माण हुन शुरु भएपनि जेठ मसान्तभित्र सम्पन्न हुनेमा आशंका रहेको उनले बताए ।
विमानस्थलभित्र प्रवेश गरेपछि डिर्पाचर कक्षतिर नगई सिधैं रनवेमा समेत पुग्न सकिने अवस्था रहेको बताउँदै तारको जाली लगाउँदै सुरक्षाको व्यवस्था पनि मिलाउनुपर्ने अवस्था विमानस्थलमा देखिन्छ ।

यसबाहेक ठेकेदार कम्पनीहरुले विमानस्थलभित्रै थुपारिएको निर्माण सामग्री अझै हटाएको छैन । यी समस्याहरु जेठ मसान्तभित्र समाधान भए असार १ गतेदेखि नै जहाज उडने बताउँदै श्री एयरलायन्सका कर्मचारीहरुले भने यदि यसमा ढिलाई भए जहाज पनि सोही अनुसार उड्ने संकेत गरे ।

भाडा कति ?

राजविराज विमानस्थलबाट नियमित जहाज उड्न शुरु हुने भएपछि भाँडा कति लाग्ने भन्ने बिषय आम चासोको बिषय भएको छ । उनीहरुले भने, ‘हामी यहाँको जनचाहना बमोजिम भाँडा दर निर्धारण गर्छौं ।’

एयरलायन्सका कर्मचारी बिष्टले ६ प्रकारका भाडामध्ये ३ प्रकारका भाडा दर मात्रै यहाँ लागू गर्ने तयारीमा श्री एयरलायन्स रहेको बताए । ओझाले एकतर्फी भाडा ३५ सयको हाराहारी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment