Comments Add Comment

विदेशी औषधिको प्रयोगशाला बन्दै नेपालीको शरीर, भवितव्य परे कसले व्यहोर्ने ?

बेइजिङमा भारतको ट्याग लगाएर नेपालको श्रीपेच !


२४ जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा एकै विषय नपरेर विविध विषयहरु परेका छन् । कुनैले स्वास्थ्य क्षेत्रको संवेदनशील विषय उठान गरेका छन् भने केहीले फास्ट ट्याक, बढ्दो बलात्कार, दातृ राष्ट्रको सहयोग, ठेकेदारको लापरबाही, वन अतिक्रमणलगायत विषयहरु उधिनेका छन् ।

नेपालीको ज्यानः विदेशी औषधि परीक्षण

नयाँ पत्रिका दैनिकले आज नेपालीको शरीर विदेशी औषधिको प्रयोगशाला बन्दै गएको गम्भीर विषय उठाएको छ । विदेशी औषधि कम्पनीहरुले आफ्ना नयाँ उत्पादनले शरीरमा पार्ने असर, प्रभावलगायतको परीक्षण गरिरहे पनि सरोकारवाला निकाय भने संवेदनहीन देखिएका छन् ।

नयाँ पत्रिकाका अनुसार बर्सेनि हजारभन्दा बढी संघसंस्थाले नेपालीमाथि अनुसन्धान गर्दै आएकोमा केही औषधि, इन्जेक्सनस, भ्याक्सिन र मेडिकल डिभाइस परीक्षण पनि हुने गरेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई उद्धृत गर्दै नयाँ पत्रिकाले लेखेको छ– सन् २०१७ मा मात्र परिषद्बाट ५ सयभन्दा बढी संस्थाले नेपाली जनतामा अनुसन्धान गर्न अनुमति लिएका छन् । सन् २०१८ को अप्रिलसम्ममा चार महिनामा मात्रै परिषदबाट १ सय ७६ संस्थाले अनुसन्धानका लागि अनुमति लिइसकेका छन् । यसबाहेक मेडिकल कलेजलगायत ३० संस्थाले पनि स्वास्थ्य अनुसन्धानको अनुमति दिने गर्छन् ।

समाचार अनुसार औषधि, भ्याक्सिन परीक्षण गर्नुअघि बिरामी तथा सम्बन्धित व्यक्ति र तिनका परिवारका सदस्यलाई जानकरी गराउनुपर्ने भए पनि त्यसो गर्ने गरिएको छैन । ललितपुरका २० हजार बालबालिकामाथि टाइफाइडको भ्याक्सिन परीक्षण गरिएको छ भने ललितपुरको लेलेस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगसम्बन्धी नयाँ औषधिको परीक्षण गरिएको छ ।

बेइजिङमा भारतको ट्याग लगाएर नेपालको श्रीपेच

चीनको राजधानी बेइजिङस्थित दरबार संग्रहालय (प्यालेस म्युजियम) फोर्डिडन सिटीमा चलिरहेको प्रदर्शनीमा नेपालमै रहेको भनिएको श्रीपेच राखिएको समाचार कान्तिपुर दैनिकले आज एंकर बनाएर छापेको छ ।

कान्तिपुरले लेखेको छ– श्रीपेच भन्नेबित्तिकै सबैले सम्झन्छन्, तत्कालीन राजाका मुकुट वा राजतन्त्रको प्रतीक । प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालीन श्री ५, श्री ३ वा अरु कुनै कसैको हो भन्ने यकिन नभए पनि यसले धेरैको ध्यान तानेको छ । नेपाल र नेपालीबारे चासो राख्नेहरुले यसलाई अभिरुचिपूर्वक हेर्ने गरेका छन् ।

तर नेपालको श्रीपेचलाई जेम्स एन्ड जेवल्स अफ इन्डिया अर्थात् भारतका बहुमूल्य वस्तु तथा अनमोल गहना शीर्षक दिएर प्रदर्शनीमा राखिएको छ । नेपालको श्रीपेच यसरी भारतीय वस्तुको प्रदर्शनीमा कसरी पुग्यो भन्नेमा कसैले चासो दिएको पाइन्न । श्रीपेच सक्कली या नक्कली के हो भन्ने यकिन छैन । प्रदर्शनीअघि नेपालसँग यसबारे कुनै अनुमति नलिएको समाचारमा उल्लेख छ ।

आरक्षण अब ८ क्लस्टरमा

सरकारले संघीय निजामती प्रशासनमा ८ क्लस्टरलाई ४५ प्रतिशत सिट आरक्षण गर्ने प्रस्ताव गरेको छ । यसअघि सरकारले ५ क्लस्टरलाई ४५ प्रतिशत सिटमा आरक्षण दिँदै आएको थियो ।

कान्तिपुरका अनुसार संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तहरुको व्यवस्थ ागर्न बनेको विधेयकमा संघीय निजामती प्रशासनलाई अझ बढी समावेशी बनाउन सरकारले मुस्लिम, थारु र विपन्न खस आर्यलाई छुट्टै आरक्षणको प्रस्ताव गरेको छ । विधेयकअनुसार खुलाबाट ५५ र आरक्षणबाट ४५ प्रतिशत कर्मचारी भर्ना गरिनेछ ।

उडान कार्यविधि डिजाइन नबनाइ पोखरा विमानस्थल निर्माण  !

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उडान कार्यविधि नै डिजाइन नगरी निर्माण शुरु गरिएको पाइएको छ । सिभिलक कन्स्ट्रक्सन शुरु हुनुअघि तयार हुनुपर्ने उडान कार्यविधि डिजाइनबिना नै निर्माण कार्य थालेको कारोबार दैनिकमा खबर छ ।

लामो विवादकाबीच निर्माण शुरु भएको पोखरा विमानस्थलको हालसम्म पनि कस्तो जहाजले उडान गर्न सक्छ भन्ने डिजाइन तयार भएको छैन । अन्तर्राष्ट्रियस्तरमा विमानस्थल निर्माण शुरु हुनुअघि उडान कार्यविधि डिजाइन हुन्छट र सोहीअनुसार बजार प्रबद्र्धन गर्ने व्यवस्था हुन्छ ।

ओली सरकारले ३ महिनामै बाड्यो १ करोड

सरकारले उपचार खर्च र आर्थिक सहायताका नाममा ३ महिनामा १ करोडभन्दा बढी रकम बाँडेको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएयता मन्त्रिपरिषद् बैठकमार्फत् १ करोडभन्दा बढी आर्थिक सहयोग बाँडिएको हो ।

कतिपय सहयोग लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित बनेका , विभिन्न आन्दोलनका घाइते तथा अंगभंग भएकाको जीविकोपार्जनका लागि उल्लेख गरिए पनि बाँकी सहयोग पहुँच र प्रभावका आधारमा बाँडिएको कारोबार दैनिकमा खबर छ ।

यो अवधिमै सरकारले एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङका लागि सवारी, निजामतीका चालक र इन्धनबापतको मासिक रकम दिने निर्णण् मन्त्रिपरिषदबाट अनुमोदन गराएको छ ।

नेपाली वित्तीय संस्था साइबर हमलाको जोखिममा

नेपालका वित्तीय संस्था अन्तर्राष्ट्रियस्तरका ह्याकरको उच्च जोखिममा रहेका छन् । बैंकको साइबर सेक्युरिटी अडिट नियमित नहुने तथा अपराध अनुसन्धानका लागि प्रहरीमा अझै पनि कम्प्यूटर सेक्युरिटी रेस्पोन्स टिम (सीआईआरटी) नहुँदा साइबर हमलाको उच्च जोखिममा छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले नयाँ पत्रिकासँग कुरा गर्दै अन्य क्षेत्रमा समेत साइबर आक्रमण हुनसक्ने बताएका छन् ।

ह्याकरबाट हुने साइबर हमलाकै कारण पछिल्लो समय नेपाल राष्ट्र बैंकले मुलुकभरका बैंकलाई साइबर सेक्युरिटी अडिट अनिवार्य गरेको छ । तर बैंकहरुले यसलाई खासै प्राथमिकता दिएका छैनन् ।

र, यो पनि–बाँदर नियन्त्रणका लागि बजेट, समात्न युवा भर्ती गरिने !

बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि पर्वतको महाशिला गाउँपालिकाले बजेटै छुट्याएर नियन्त्रण गर्ने योजना अघि सारेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको कान्तिपुरमा समाचार छ ।

सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लाडि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्ताव पेश गरेका थिए । गाउँसभामा बाँदर नियन्त्रणको संकल्प प्रस्ताव शतप्रतिशतले पारित गरेको गाउँपालिकाले जनाएको छ ।
बाँदर समात्न गाउँकै युवालाई अवसर दिइने छ । शुरुमा तालिम दिने र त्यसपछि बाँदर समात्ने जागिरमा लगाउने योजना गाउँपालिकाको छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment