२४ जेठ, बर्दिवास । महोत्तरीको बर्दिवासस्थित यातायात ब्यवस्था सेवा कार्यालयले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) बितरण सुरु गरेको छ ।
बिहीबार आयोजित एक कार्यक्रममा प्रदेश २ का सांसद शारदा थापाले सेवाग्राही दिनानाथ पोखरेललाई सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।
कार्यालयले एक कार्यक्रमका बीच ४१ जना सेवाग्राहीलाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । यातायात ब्यवस्था कार्यालय जनकपुरबाट जारी भएका लाइसेन्सको नवीकरण प्रतिलिपी स्मार्ट लाइसेन्स सेवाग्राहीलाई वितरण गरिएको कार्यालयका प्रमुख पोषण थापाले जानकारी दिए ।
कार्यालयले जेठ १ गतेदेखि सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सेवा विस्तार गरेको हो । ६४ जना सेवाग्राहीबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि दरखास्त आएकोमा बिहीबार ४१ जनालाई स्मार्ट लाइसेन्स वितरण गरिएको कार्यालयले जनाएको छ ।
हाल कार्यालयले नवीकरण र प्रतिलिपी स्मार्ट लाइसेन्स जारी गरेको भए पनि छिटोभन्दा छिटो सवारी चालक अनुमतिपत्रको नयाँ दरखास्त आवहान गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख थापाले जानकारी दिए ।
यस अघि कार्यालयबाट बाटो इजाजत नवीकरण, सवारी साधनको ब्लुबुक नवीकरण, सवारी जाँचपास हुँदै आएको थियो । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सेवा थपिएपछि महोत्तरी, सर्लाही, सिन्धुली, रौतहट, रामेछापसम्मका सेवाग्राहीलाई सजिलो हुनेछ ।
पटक पटकको प्रयासपछि भएको सेवा विस्तारले यस क्षेत्रका सेवाग्राही लाभान्वित भएको बर्दिवास नगरपालिकाका बिदुर कार्कीले बताए । कार्यालयले विभिन्न सेवा बापत २१ करोड २५ लाख राजश्व सकलन गरेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4