+
+
Shares

ट्रम्प–किम वार्तामा सिंगापुरले खर्चने छ १ अर्ब ६० करोड

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २८ गते १०:३४


२८ जेठ, काठमाडौं । विश्वको नजर अहिले सिंगापुरमा छ जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच वार्ता हुँदैछ । मंगलबार हुने वार्ताका लागि दुवै नेताहरु सिंगापुरमा पुगिसकेका छन् ।

सिंगापुरका प्रधानमन्त्री ली शियन लुंगका अनुसार विश्वका यी दुई शक्ति राष्ट्रका प्रमुखको ऐतिहासिक वार्तामा २० मिलियन सिंगापुर डलर खर्च हुनेछ । यो भनेको नेपाली रुपैयाँ १ अर्ब ६० करोड हो ।

यो रकमको आधा त सुरक्षा प्रवन्धमा मात्रै खर्च हुने छ । वार्ता स्थलको सुरक्षा जिम्मा गोर्खा प्रहरीलाई दिइएको छ ।

प्रधानमन्त्री लीले भनेका छन्– एक अन्तर्राष्ट्रिय पहलको लागि यो खर्च जायज छ र यसमा सिंगापुरको पनि हित छ ।

मंगलबार सिंगापुरको सेन्टोसास्थित होटेल क्याम्पेलामा ट्रम्प र किम जोंगबीच भेटवार्ता हुने छ । किम जोंग चाइना एयरलाइन्सको जहाज चढेर सिंगापुर पुगेका थिए । प्रधानमन्त्री ली शियेन लुंगसँग कुराकानी गरेपछि किम जोंगले भने, ‘यदि शिखर सम्मेलनमा कुनै सम्झौता भएमा इतिहासमा सिंगापुरको सम्झना रहिरहने छ ।’

अमेरिका र उत्तर कोरियाबीचको वार्ता परमाणु हतियारको विषयमा केन्द्रित हुनेछ । किम जोंग उनले परमाणु हतियार त्याग्ने प्रतिवद्धता जनाउने अमेरिकाको विश्वास छ ।

वार्ता सिंगापुरमै किन ?

यस वार्ताको लागि सिंगापुरलाई मंगोलिया, स्वीडेन, स्वीजरल्याण्ड र दुवै कोरियाली देशको बीचमा पर्ने असैन्यकृत इलाकाको रुपमा लिइएको छ ।

सिंगापुरका विदेशमन्त्री विवियन बालकृष्णनले भनेका छन्, ‘हामी निष्पक्ष, विश्वासयोग्य र सुरक्षित छौं, त्यसैले हामीलाई चुनिएको हो । मलाई लाग्छ सिंगापुरका जनताले यस वार्तामा गर्व गर्नेछन् ।’

उनका अनुसार सिंगापुर आफैले वार्ताको स्थान प्रस्ताव गरेको थिएन बरु अमेरिकीहरु आफैले सधैं भन्ने गरेका थिए ।

विश्वमै सिंगापुर एक सुरक्षित र व्यवस्थित शहरको रुपमा चिनिन्छ, जहाँ अभिव्यक्ति स्वतन्त्रता र जनसभालाई सुक्ष्म निगरानी गरिन्छ ।

सिंगापुर र उत्तर कोरियाबीच कुटनीतिक सम्बन्ध ७० को दशकदेखि हो । तर, उत्तर कोरियाले छैठौं परमाणु परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघले लगाएको प्रतिवन्धलाई मध्यनजर गर्दै सिंगापुरले उत्तर कोरियासँग कारोबारको सम्बन्ध तोडेको थियो ।

सिंगापुर उत्तर कोरियाको राजधानी प्योङ्याङ्गसँग अपेक्षाकृत निकट छ ।

सिंगापुरमा अमेरिका र उत्तर कोरिया दुवै देशका दूतावास छन् । यसको मतलव यहाँ दुवै देशबीच गोप्य सम्वादको सम्भावना पनि छ ।

यस शिखर सम्मेलन आयोजनाका लागि सिंगापुर नै किन उपयुक्त विकल्प भयो ? यस प्रश्नको जवाफ सिंगापुरका नेताहरुले दिँदै आएका छन् । प्रधानमन्त्री ली शियन लुंगका अनुसार सिंगापुर दुवै देशका लागि राजनीतिक रुपमा स्वीकार्य छ किनकि दुवै देशसँग सिंगापुरको मित्रतापूर्ण सम्वन्ध छ ।

उत्तर कोरियाले यस शिखर सम्मेलनमा लाग्ने खर्च अन्तर्राष्ट्रिय प्रतिवन्धको कारण व्यहोर्न नसक्ने बताएको खबर पनि सार्वजनिक भएको थियो । यसबारे सिंगापुरका नेताहरुले भनेका छन्, ‘यसको खर्च व्यहोर्न सिंगापुर इच्छुक छ र ऐतिहासिक वार्तामा हाम्रो सानो भूमिका रहने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?