Comments Add Comment

विश्वकप समूह ‘जी’: बलियो बेल्जियम, स्पेशल इंग्ल्याण्ड

विश्वकप फुटबलको समूह ‘जी’ मा बेल्जियम, इंग्ल्याण्ड, पानामा र ट्युनिसिया रहेका छन् । खेलाडी छनोटका आधारमा हेर्दा बेल्जियम र इंग्ल्याण्डको सम्भावना प्रबल देखिन्छ । यो समूहमा पहिलो पटक विश्वकप खेल्ने पानामा रहे पनि अघिल्लो चरणमा जाने प्रतिस्पर्धा भने सहज देखिँदैन ।

बेल्जियम

यो समूहको बलियो टोली बेल्जियम हो । फिफा वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमको यो १३ औँ विश्वकप हो । सन् १९३० बाट विश्वकप खेल्न थालेको बेल्जियम सन् १९८६ मा सेमिफाइनलसम्म पुगेको थियो ।

बेल्जियमले १९३० पछि १९३४, १९३८, १९५४, १९७०, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२ र २०१४ मा विश्वकप खेलेको थियो । गएको विश्वकपमा बेल्जियम क्वाटरफाइनलमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो । खेलाडी हेर्दा बेल्जियम टिम सन्तुलित देखिन्छ ।

बेल्जियम हरेक खेलाडी हेर्दा राम्रो देखिने र मैदानमा सामान्य हुने टोली पनि हो । विश्वकपको दाबेदारी दिन सक्ने बेल्जियम यसपटक सेमिफाइनलसम्म पुग्ने अनुमान फुटबल पण्डितहरु गर्छन् ।

प्रमुख खेलाडी – इडन हाजार्ड

तीब्र र कुशल खेल क्षमता हाजार्डको फुटबल विशेषता हो । गोल गर्न सक्ने र गोलका लागि अवसर सिर्जना गर्न सक्ने दुबै कुरामा उनी पोख्त छन् । विश्व फुटबलकै उत्कृष्ट फरवार्ड उनले बेल्जियम टिममा पनि राम्रो प्रभाव पारेका छन् । बेल्जियमलाई विश्वकपसम्म लैजाँदा उनले ६ गोल गरेका थिए । साथै पाँच गोलको अवसर सिर्जना गरेका थिए । सन् २००८ देखि बेल्जियम टिममा रहेका उनले ८३ खेलमा २१ गोल गरेका छन् । क्लब फुटबलमा इंग्लिस क्लब चेल्सीबाट प्रभाव जमाइरहेका उनको खेल रसिया विश्वकपमा पनि उत्कृष्ट हुने आशा गरिएको छ ।

प्रशिक्षक – रोबेर्टो मार्टिनेज

स्पेनका मार्टिनेजसँग इंग्लिस क्लब स्वान्से सिटी र इभर्टन सँगै ६ भन्दा धेरै क्लब सम्हालेको अनुभव छ । पूर्व खेलाडीसमेत रहेका उनले १९९१ देखि प्रशिक्षण सुरु गरेका हुन् । उनी सन् २०१६ देखि बेल्जियम राष्ट्रिय टिमको प्रशिक्षक छन् ।

रसिया विश्वकप रोबेर्टोको पहिलो विश्वकप भए पनि उनले आफ्नो टोलीमाथि पूरा विश्वास राखेका छन् । उनको प्रशिक्षणमा विश्वकप छनोटमा देखाएको खेललाई आधार मान्दा पनि बेल्जियम टोलीले यसपटक राम्रो गर्ने अनुमान गरिएको छ ।

इंग्ल्याण्ड

विश्वभर चर्चामा रहने सबैभन्दा महंगो फुटबल लिग ‘इंग्लिस प्रिमियर लिग’का कारण पनि इंग्ल्याण्ड फुटबल प्रेमिको रोजाइँमा पर्ने गर्दछ ।

इंग्ल्याण्ड यसपटक नाइजेरिया पछिको सबैभन्दा युवा टोली पनि हो । अर्को महत्वपूर्ण विषय इंग्ल्याण्ड मात्रै त्यस्तो टोली हो जसका सबै खेलाडी इंग्ल्याण्डकै लिगमा आबद्ध छन् ।

सन् १९५० बाट विश्वकप खेल्न थालेको इंग्ल्याण्डले १९६६ को विश्वकप जितेको थियो । त्यसपछि आधुनिक फुटबलमा इंग्ल्याण्डको चर्चा भइरहे पनि विश्वकपमा उल्लेख्य खेल देखाउन सकेको छैन ।

सन् २०१४ को विश्वकप र २०१६ को युरोकप हेर्दा इंग्ल्याण्ड टिमको आलोचना हुने गरे पनि यो पटक निकै भिन्नता देखिएको छ । इंग्ल्याण्ड ६ पटक क्वाटरफाइनल र १ पटक सेमिफाइनलमा पराजित भएको छ । इंग्ल्याण्ड विश्वकपमा अभागी टोली पनि हो । राम्रा खेलाडी र राम्रो खेल हुँदा हुँदै पनि त्यसको प्रभाव खेलमा भने देखिँदैन ।

प्रमुख खेलाडी – हृयारी केन

इंग्लिस क्लब टोटनहृयामबाट पि्रमियर लिगमा प्रभाव पारेका केन इंग्ल्याण्ड टिमका भरपर्दा स्ट्राइकर हुन् । इंग्ल्याण्ड राष्ट्रिय टिममा सन् २०१५ देखि रहेका उनले २४ खेलमा १३ गोल गरेका छन् ।

इंग्ल्याण्डबाट विश्वकप छनोटका ६ खेलमा ५ गोल गरेका उनले आफ्नो उत्कृष्टता सावित गरेका छन् । यो सिजन टोटनहृयामबाट खेलेका ४८ खेलमा उनले ४१ गोल गरेका छन् ।

प्रशिक्षक – गेरथ साउथगेट

इंग्ल्याण्ड टिमका पूर्व खेलाडीसमेत रहेका साउथगेट सन् २०१६ नोवेम्बरदेखि मुख्य प्रशिक्षकका रुपमा काम गरीरहेका छन् । उनले क्लब सम्हालेदेखि राम्रा परिवर्तनहरु पनि देखिएको छ । सन् १९९८ को प|mान्स विश्वकप र २००२ को कोरिया/जापान विश्वकपमा खेलाडीको रुपमा अनुभव लिएकाले पनि उनले यसपटक प्रशिक्षकका रुपमा राम्रो गर्ने अनुमान गरिएको छ ।

पानामा

बेल्जियम र इंग्ल्याण्ड जस्तो राम्रो मानिएको समूहमा पानामा आफ्नो पहिलो विश्वकप खेल्दै छ । फिफा वरियतामा ५५ औँ स्थानमा रहेको पानामा विश्वकपमा छनोट भएपछि एक दिन राष्ट्रिय बिदा दिइएको थियो ।

अन्तिम क्वालिफायरमा कोस्टा रिकालाई २-१ ले हराएपछि पानामाले विश्वकपमा स्थान पक्का गरेको थियो ।

चार लाख जनसंख्या रहेको पानामा विश्वकपसम्म आइपुग्नु नै ठूलो उपलब्धी हो । यस्तोमा राम्रा मानिएका टोलीविरुद्ध चुनौती पेश गर्न सके पानामाको विश्वकप सार्थक हुनेछ ।

प्रमुख खेलाडी – ब्लस पेरेज

पानामाका ब्लस पेरेज अनुभवि खेलाडी हुन् । सन् २००१ देखि पानामाको राष्ट्रिय टोलीमा रहेका ३७ वर्षीय उनले ११३ खेलमा ४३ गोल गरेका छन् । फरवार्ड लाइनमा रहेर पनि बल नियन्त्रण गर्ने र खेल मिलाउने उनको शैली राम्रो छ ।

ग्वाटेमालाको म्युनिसिपल क्लबबाट व्यावसायिक फुटबल खेल्ने उनले राष्ट्रिय टोलीबाट पनि राम्रो प्रभाव पारेका छन् । चार पटक विश्वकप छनोट प्रतियोगितामा सहभागी भएका उनले ११ गोल गरेका छन् ।

प्रशिक्षक – हर्नान डेरियो गोमेज

पानामा टिममा अन्य टिममा भन्दा केही राम्रो भिन्नता छ भने त्यो हर्नान डेरियो गोमेज हुन् । सन् २०१४ देखि पानामा राष्ट्रिय टिम सम्हालिरहेका उनले टिममा निकै सुधार गरेका छन् ।

यसैले पानामालाई पहिलो पटक विश्वकपमा पुर्‍याएर उनले इतिहास बनाए । एल बोलिलो उपनामबाट चिनिने उनले १९९८ मा कोलम्बियालाई र सन् २००२ मा इक्वेडरलाई विश्वकपसम्म पुर्‍याएका थिए । पूर्व डिफेन्सिभ मिडफिल्डरसमेत रहेका उनले पानामा, कोलम्बिया, इक्वेडरसँगै ग्वाटेमाला टिम पनि सम्हालिसकेका छन् ।

ट्युनिसिया

फिफा वरियतामा १४ औँ स्थानमा रहेको ट्युनिसियाको यो पाँचौ विश्वकप हो । सन् १९७८ मा पहिलो विश्वकप खेलेको ट्युनिसियाले सन् १९९८, २००२ र २००६ को विश्वकपमा पनि सहभागिता जनाएको थियो ।

१२ वर्षपछि विश्वकपमा फर्किएको ट्युनिसिया यसअघि समूह चरणबाट माथि जान सकेको छैन ।

१९७८ को विश्वकपमा मेक्सिकोलाई ३-१ ले हराएपछि ट्युनिसियाले कुनै खेल जित्न सकेको छैन । विश्वकपमा खेलेका १२ खेलमा ट्युनिसियाले एक खेलमा जित, चार खेलमा बराबरी गरेको छ । सात खेलमा ट्युनिसिया पराजित भएको छ ।

यसपटक भने युवा खेलाडीको वर्चस्व रहेको ट्युनिसियाले समूह चरणमा कडा चुनौती प्रस्तुत गर्ने अनुमान गरिएको छ ।

प्रमुख खेलाडी – वाहबी खजरी

ट्युनिसिया १२ वर्षपछि विश्वकपमा र्फकन अट्याकिङ मिडफिल्डबाट खेल्ने वाहबीको खेल महत्वपूर्ण सावित भएको छ । फ्रेन्च लिग वान क्लब रेनर्सबाट व्यावसायिक फुटबल खेल्ने उनले २०१७/१८ मा करिअरकै उत्कृष्ट खेल प्रदर्शन गरेको फुटबल विश्लेषक बताउँछन् ।

विश्वकप छनोटमा पनि मौरिटानिया र लिबियाविरुद्ध उनले गरेको गोल जितका लागि महत्वपूर्ण सावित भएको थियो । सन् २०१३ देखि ट्युनिसिया राष्ट्रिय टिमबाट खेलेका उनले ३६ खेलमा १२ गोल गरेका छन् ।

प्रशिक्षक – नबिल मालौल

सन् १९८० देखि १९९५ सम्म ट्युनिसिया टिमका मुख्य खेलाडी रहेका नबिल मालौलले सन् २०१७ देखि राष्ट्रिय टिम सम्हालिरहेका छन् ।

खेलाडी जीवनमा मिडफिल्डबाट खेल्ने उनले सन् १९९७ देखि प्रशिक्षण सुरु गरेका हुन् । ट्युनिसियालाई विश्वकपमा फर्काउन उनको शैली प्रभावकारी भएको छ । गेम होल्ड गरेर राख्ने र पाएको अवसरमा गोल गर्ने उनको तरिका ठूला टिमविरुद्ध पनि घातक हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment