३१ जेठ, कैलाली । प्रदेश ७ को सरकारले आर्थिक वर्ष ०७५/७६ का लागि सार्बजनिक गर्न लागेको बजेट यथार्थपरक रहने बताइएको छ ।
बजेटको पूर्व सन्ध्यामा बिहीबार आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी सतप्रतिश कार्यान्वयन गर्न सकिने यथार्थपरक बजेट ल्याउन लागेको दावी गरेको छ ।
आर्थिक वर्ष ०७५/७६ को बजेट महत्वकांक्षी नरहने आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए ।
उनले आगामी बजेटमा कुनै पनि महत्वङ्क्षी योजना, कार्यक्रमलाई नसमेटेको बताउँदै बजेट सजिलै कार्यान्वयन गर्न सकिने यथार्थपरक रहने बताए ।
असार १ गते शुक्रवार दिउँसो तीन बजे बस्ने प्रदेश संसद बैठकमा आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरिएको छ ।
बजेटले कृषि, पर्यटन, भौतिक निर्माण, स्वरोजगार, सामाजिक विकास/सुरक्षा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर ल्याउन लागेको मन्त्री बोहराले बताए ।
यसैगरी, प्रदेशमा स्वदेशी तथा विदेशी लगानीको उद्योग स्थापनार्थ प्रदेश सरकारले कर छुटमा नीतिगत व्यवस्था गरिने जनाइएको छ ।
उद्योग स्थापना बीना प्रदेशको समृद्धि असम्भव रहेकाले करमा छुट, बिजुली, पानी लगायतमा सहुलियत दिने नीतिगत व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरिएको मन्त्री बोहराले बताए ।
उद्योगमा लगानी, रोजगारी र आयात प्रतिष्ठापनलाई आधार बनाएर कर छुटको नीतिगत व्यवस्था हुने मन्त्री बोहराले बताए ।
उनले महिला, दलित, जनजाति, राजी, राउटे, पिछडिएका वर्गलाई राज्यको मूलप्रवाहीकरणमा ल्याउने प्रदेश सरकारको योजना अनुरुप सामाजिक सशक्तिकरणका लागि बजेट विनियोजन गरिने सकेत बताए । मन्त्री बोहराले करीव २५ अर्ब सम्मको बजेट आउन सक्ने बताए ।
प्रतिक्रिया 4