Comments Add Comment

असारमा बजेट सक्ने हतारो : वाम सरकारको ‘बिरालो बाँध्ने’ नीति

बाह्र दिनमै ४३ अर्ब खर्च, एकैदिन साढे ५ अर्ब निकासा !


३ असार, काठमाडौं । ठेकेदारहरुले वर्षभरी काम नगर्ने अनि आर्थिक वर्षको अन्त्यमा असार लागेपछि सरकारी निकायसँग मिलेर बजेट सिध्याउने विगतकै परम्परा वाम सरकारका पालामा पनि दोहोरिएको छ ।

यतिसम्म कि सरकारले एकै दिन ५ अर्ब ५६ करोडसम्म (जेठ ३१ गते) बजेट निकासा गरेको जानकारी कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिएको छ ।

चालु आर्थिक वर्षको बजेट इतिहासमै पहिलोपटक जेठ महिनामै आएको थियो । त्यतिबेला सरकारको दाबी थियो कि अब साउनबाटै विकास निर्माणका काम सुरु हुनेछन् र आर्थिक वर्षको अन्त्यमा बजेट सक्नका लागि जथाभावी खर्च गर्ने क्रम रोकिनेछ । तर, सरकारले विगतकै ‘बिरालो बाँध्ने’ परम्परालाई निरन्तरता दिएको छ ।

त्यसो त सरकारले यतिबेला काम नगर्ने ठेकेदारहरुको सूची बनाउँदै उनीहरुमाथि कारवाही गर्ने प्रचार गरिरहेको छ । तैपनि परिणाममा कुनै पनि विकास निर्माणका कामहरुमा विगतको भन्दा फरकपन र गति देखिएको छैन ।

पछिल्लो दुई हप्ताको बजेट निकासालाई हेर्दा सरकारको दाबी र काम गराइ फेरि पनि पुरानै ढर्रामा चलेको स्पष्ट हुन्छ । असारे विकास र खरिदको मेला चलाएर जसरी पनि बजेट सक्ने विगतको मेलो यस वर्ष झनै फस्टाएको छ । जेठ २० देखि शनिबार (असार २ गते) सम्मको बजेट निकासाले यसलाई पुष्टि गर्छ ।

जेठ २० गतेसम्म ६ खर्ब ९ अर्ब (७४.७९ प्रतिशत) चालु खर्च गरेको सरकारले असार २ गतेसम्म ६ खर्ब २२ अर्ब (७७.५२ प्रतिशत) बजेट खर्चेको छ ।

यस अवधिमा ४२ अर्ब ५७ करोड ६२ लाख ११ हजार रुपैयाँ बजेट निकासा भएको छ । असार २० गतेसम्म ८ खर्ब २० करोड रुपैयाँ (बजेटको ६४.१५ प्रतिशत) खर्च गरेको सरकारले असार ३ गते आइपुग्दा ८ खर्ब ६३ अर्ब खर्च गरिसकेको देखिएको छ । यो आँकडाअनुसार औसतमा सरकारले अहिले दैनिक ३ अर्ब रुपैयाँ खर्च गरिरहेको छ ।

यो बीचमा चालु आर्थात कार्यालय व्यवस्थापन तथा सामान खरिद लगायतका प्रक्रियामा सरकारले १३ अर्ब ८८ करोड ३० लाख रुपैयाँ खर्चेको छ । वर्षभरि काम नगरेका सरकारी निकाय, विकासे अड्डा र आयोजनाहरु अहिले बजेट निकासा गरेर खर्च देखाउन अग्रसर छन् ।


विकास खर्चमा पनि यस्तै हविगत छ । काम नभएका आयोजनामा पनि भुक्तानी दिने काम चलिरहेको छ । अधिकांश आयोजनामा वषर्ाका कारण देखाउँदै काम रोकिएका छन् । तर, बजेट भने ठूलो मात्रात्रा निकासा भइरहेको छ ।

यो १२ दिनमा २१ अर्ब ९४ करोड ९१ लाख रुपैयाँ विकास खर्च भएको सरकारी तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार जेठ २० गतेसम्म सरकारले १ खर्ब ४८ अर्ब (४४.४३) बजेट खर्च गरेको थियो । असार २ गतेसम्म आउँदा त्यो बढेर १ खर्ब ६२ अर्ब (४८.५७ प्रतिशत) मा पुगेको छ ।

सरकारले यो १२ दिनमा ६ अर्ब ७३ करोड वित्तीय बजेट खर्च गरेको छ ।

सरकारले असार २ गतेसम्म जम्मा ६ खर्ब ३१ करोड (८६.४३ प्रतिशत) राजश्व संकलन गरेको छ । तर, खर्च भने ८ खर्ब ६३ अर्ब गरेको छ । आँकडाअनुासर सरकारका राजस्व चालु खर्चकै हाराहारीमा छ ।

सरकारले ६ खर्ब ३१ अर्ब राजस्व उठाउँदा चालु खर्च ६ खर्ब  २२ अर्ब नाघेको छ । अब राजस्वलाई चालु खर्चले भेटाउन ९ अर्बले मात्रै बाँकी छ । यही गतिमा आर्थिक वर्षको अन्तसम्म चालु खर्च भइरहेमा राजस्वभन्दा साधारण खर्च बढी हुने देखिन्छ । सरकारलाई ११ महिनाभित्रमा २ अर्ब २३ करोड बजेट घाटा छ ।

अब सरकारले पुरै बजेट सक्ने हो ३० दिनमा ४ खर्ब १५ अर्ब बजेट खर्च गर्नुपर्ने देखिएको छ । यसअनुसार सबै बजेट खर्चन सरकारले दैनिक झण्डै १४ अर्ब बजेट खर्चनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment