Comments Add Comment

मुख्यमन्त्री र अर्थमन्त्री समृद्धिको गोल हान्न आतुर !

चुनावमा ५ हजार खल्तीमै खत्रक्क भन्ने, अहिले बेइमानी गर्ने ?

३ असार, पोखरा । अहिले विश्वभर फुटबलको महाकुम्भ विश्वकपले ध्यान खिचेको छ । प्रदेश ४ को संसदमा बोल्ने सांसदले पनि फुटबलसँग जोडेर भनाइ राखेका छन् ।
सांसद राजीव पहारीले विश्वकप फुटबलको प्रसंग निकाल्दै प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्री समृद्धिको गोल हान्न आतुर रहेको बताए ।

तर, अर्जेन्टिनाका मेस्सीलाई गोल हान्न सकस भएजस्तै सम्भाव्यता अध्ययन र पूर्वाधार निर्माण केन्दि्रत बजेट आउँदा कार्यान्वयन चुनौतिले विकास समृद्धिको गोल हान्न समस्या आउने त होइन भन्ने आशंका पनि रहेको बताए । बजेटले सांसदहरुलाई समेत उत्साह थपेको उनको भनाइ थियो ।

प्रदेश ४ को संसदमा सरकारले ल्याएको बजेटमाथि छलफल चलिरहेको छ । छलफलमा सत्ता पक्षका अधिकांश सांसदले बजेटको प्रशंसामात्रै गरेका छन् भने प्रतिपक्षले आलोचना र व्यंग्य गरेका छन् ।

आइतबार बसेको सांसद बैठकमा सांसदका फरकफरक र रोचक आवाज सुनिए । सत्तापक्षका सांसदले बजेटलाई जनमुखी र समृद्धिको आधार भनेका छन् भने प्रतिपक्षले प्रतिवद्धताबाहिरबाट कार्यान्वयन गर्न नसकिने बजेट ल्याएको बताएका छन् ।

कांग्रेस सांसद कृष्णचन्द्र नेपालीले नीति तथा कार्यक्रम सुन्दा रोमाञ्चित भएको तर बजेट आउँदा शंका गर्ने गरी आएको बताए । सत्तारुढ दलले सामाजिक सुरक्षा भत्ताको विषय भजाएर चुनाव जितेर अहिले बेइमानी गरिएको बताए । ‘चुनावमा सामाजिक सुरक्षा भत्ता खल्तीमै खत्रक्क आउँछ भनेर भनियो,’ नेपालीले भने, ‘अहिले बजेटमा त्यसको पूरै व्यवस्था गरियो, राजनीतिक बेइमानी हो ।’

नेपालीले गोलमोटल शैलीको बजेट आएको भनेका छन् । सरकारले यही पूर्वाधार र जनशक्तिले २०२२ सम्म २० लाख पर्यटक भित्राउँछु भन्नु उपयुक्त नरहेको समेत बताए । ‘यो जनशक्ति र यही पूर्वाधारले कसरी २० लाख पर्यटक भित्राउन सकिन्छ,’ नेपालीले भने, ‘यही जनशक्तिले प्रदेशको बजेट नै खर्च गर्न सकिन्छ भन्ने मलाई लाग्दैन ।’

निर्वाचन विकास कोषको माग

संसदमा बोल्ने केही सांसदले निर्वाचन क्षेत्र विकास कोष हुनुपर्ने मागसमेत गरेका छन् । माओवादी सांसद रामजी बरालले निर्वाचन क्षेत्र विकास कोष राख्नुपर्ने माग गरे ।
‘निर्वाचन क्षेत्रमा एक स्तरीय सडक निर्माण गर्न बजेट छुट्याइएको, यसमा अझै कम्तिमा १ करोड थप हुनुपथ्र्यो,’ बरालले भने, ‘सांसदका लागि निर्वाचन क्षेत्र विकास कोष नै स्थापना गर्न जोडदार माग गर्दछु ।’

नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले संघले अन्याय गरेका प्रदेश सांसदलाई समन्वयात्मक भूमिका निर्वाह गर्ने भनेर प्रदेश सरकारले पनि अन्याय गरेको बताए । संसदमा रहेका सांसदको टाउकाको मूल्यका विषयमा पनि सोच्न आग्रह गरे । ‘आज संसदमा रहेका टाउकाहरुलाई ठिक ढंगले सोचोस्,’ आचार्यले भने ।

नेपाली कांग्रेसका सांसद डोबाटे विश्वकर्माले प्रदेश सरकारले ल्याएको बजेटमार्फत अपमानितको महसुस भएको बताए । ‘निर्वाचित सांसदलाई क्षेत्र विकास कोषजस्तै घुमाउरो पारामा बजेटको व्यवस्था गर्ने अनि समानुपातिक सांसदलाई चाहिँ अपमानित गर्ने काम भयो,’ विश्वकर्माले भने, ‘अवमानित हुनुभन्दा समानुपातिक निर्वाचन प्रणाली नै खारेज गर्न म माग गर्दछु ।’ उनले चुनावमा सामाजिक सुरक्षा भत्ता पाँच हजार दिन्छु भनेर सरकारले झुक्याएको बताए ।

एमाले सांसद रोशन गाहामगरले सरकारले ल्याएको बजेट कनिका छरेजस्तो नभइ विकास र जनमुखी भएको बताए । सांसदहरु मधुमाया अधिकारी, दिलमाया रोकामगर, जुनादेवी नेपाली पुष्पा केसी भण्डारी, मीना गुरुङ, चन्द्रबहादुर बुढा लगायत सत्ता पक्षका सांसदले बजेट समृद्धिको आधार बनेर आएको बताए ।

कांग्रेस सांसद प्रकाशचन्द्र दवाडीले यसअघि सरकारले ल्याएको बजेट नै खर्च हुन नसकेर असफल भइसकेको अवस्थामा पूर्ण बजेट पनि खर्च हुने कुरामा आशंका व्यक्त गरे । जनमोर्चाकी सांसद पियारी थापाले देश संघीयतामा गइसकेको अवस्थामा सरकारले ल्याएको बजेट पोखरा केन्दि्रत भएर आएको बताइन् ।

अर्थमन्त्री किरण गुरुङले खर्च गर्न सक्ने गरी वैज्ञानिक हिसाबले बजेट ल्याएको बताए । ‘विधिसंगत ढंगले खर्च गर्न पुग्ने गरी बजेट ल्याएका छौं,’ अर्थमन्त्री गुरुङले भने, ‘हामीले बजेटको आकार ठूलो बनाउन सक्थ्यौं तर हामीले त्यसो नगरी मध्यकालीन खर्च संरचना तयार पारेर बजेट ल्याएका छौं ।’

बजेट कार्यान्वयनका लागि संसदभित्रका सबै सत्ता पक्ष तथा प्रतिपक्ष दलको आलोचना र असहयोग होइन सहकार्य चाहिने उनको भनाइ थियो ।

अर्को बैठक सोमबार बिहान ११ बजे फेरि बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment