Comments Add Comment

चोकको रोग पुलतिर पनि सर्‍यो, ‘बोटलनेक’ भए पुल


५ असार, काठमाडौं । काठमाडौं उपत्यकामा सवारी जामको समस्या अब चोक र क्रसिङहरुमा मात्रै सीमित रहेन । चोकको ‘जाम रोग’ अब पुलमा पनि सरेको छ । जसले ट्राफिक प्रहरीको टाउको दुखाउँदैछ ।

पछिल्लो समयमा उपत्यकाका पुलहरुमा पनि सवारी जामको समस्या चर्को बन्दै गएको ट्राफिक प्रहरी महाशाखा बताउँछ । यसले काठमाडौंमा सवारी व्यवस्थापन झनै चुनौतिपूर्ण बन्दै गएको छ ।

पछिल्लो समयमा पुलहरुमा विहानदेखि बेलुकीसम्मै अनिवार्य रुपमा ट्राफिक प्रहरी खटाउनुपर्ने अवस्था आएको छ । साना पुलहरुमा झनै बढी समस्या देखिन थालेको छ ।

सवारीको चाप हुने समयमा सार्वजनिक विदाका दिनमासमेत पुलहरुमा ट्राफिक प्रहरी खटाउनुपर्ने अवस्था आएको महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनी बताउँछन् ।

‘बोटल नेक भए पुल’

उनकाअनुसार पछिल्लो समयमा राजधानीका पुलहरु ‘बोटल नेक’ बनेका छन् । सवरीको चापअनुसार पूर्वाधार कमजोर हुँदा काठमाडौंमा जामको समस्या अब नयाँ-नयाँ स्थानमा देखिन थालेका छन् ।

राजधानीका सडक विस्तार गरेर फराकिलो बनाइए पनि पुलहरु भने दुई लेनकै छन् । कतिपय नदी कोरिडोरका पुलहरु एक लेनमै पनि सीमित छन् । त्यसैका कारण राजधानीका पुलहरुमा विहान ८ बजेबाट नै जाम सुरु हुने अवस्था आएको छ ।

‘अहिले सर्भिस लेनमा गुड्ने गाडीलाई पुलमा नआई सुखै छैन । पिक आवरमा पुलहरुमा सवारी आवागनमा निकै निकै समस्या भइरहेको छ,’ डीएसपी मरासिनी भन्छन्,’लेन अनुशासन मिच्ने प्रवृत्तिले थप समस्या गरेको छ ।’

काठमाडौंमा सवारीको संख्या बढ्दै जाँदा पुलहरुमा सवारीको चाप तीव्र रुपमा पर्न थालेको छ ।

सडक फराकिलो भएपनि पुल साँघुरो नै हुँदा सवारीको आवागम प्रभावित हुने अवस्था विकराल बन्दै गएको ट्राफिक डीएसपी मरासिनी बताउँछन् ।

केही समयअघिसम्म राजधानीका मुख्य चोकमा धेरै समय जाममा बस्नुपर्ने बाध्यता थियो । पुलहरुमा नै यो रोग सरेपछि पुलहरुको विस्तारको आवश्यक्ता महसुस गर्न थालिएको छ ।

८ लेनको बनाइएको माइतीघर-कोटेश्वर खण्डमा पर्ने दुई पुलहरुमा यो समस्या सबैभन्दा बिकराल बनेको छ । बिजुलीबजार (धोबीखोला) र तीनकुने -बाग्मती)को पुलमा अहिले विहानैबाट सवारी जाम सुरु हुने समस्या छ ।

पुलमा सर्भिस लेन आवश्यक

सडक विभागले यी दुई स्थान ‘नेटवर्क आर्क ब्रिज’ स्थापनाका लागि काम थालेपनि सन्तोषजनक ढंगले काम भएको छैन । धोबीखोलामा एकातर्फको लेनमा पुल ढलानको काम हुनै लागेको भने बागमती पुलको काम भने ज्यादै सुस्त छ ।

बागमती पुलको ठेकेदार पप्पु कन्स्ट्रक्सनलेले सन्तोषजनक काम नगरेको मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिवहरी सापकोटा बताउँछन् ।  यि दुई पुल मात्रै हैन, ट्राफिक प्रहरीकाअनुसार टेकु, शोभाभगवती, शंखमुल, गोठाटार, धोबीखोला र विष्णुमतिमा बनेका विभिन्न स्थानका पुलहरुमा पनि सवारी जाम हुने समस्या निकै बढ्दो छ ।

‘धेरै पुलमुनिका सडकहरु नचलाउँदा पुलमै मुखबाट सवारीलाई क्रसिङ पनि दिनुपर्छ । त्यसले गर्दा गाडीको चाप हुने समयमा निकै समस्या पर्छ,’ मरासिनी भन्छन्,’एक मिनेट क्रसिङका लागि पुलमा गाडी रोक्दा जाम फैलिने समस्या छ ।’

यो समस्या समाधानका लागि पुलहरुमा पनि सर्भिस लेन जरुरी रहेको मरासिनी बताउँछन् । पुलमुनिका सडकहरु पनि सुचारु गर्नुपर्ने मत ट्राफिकको छ ।

सवारीको चापले पनि समस्या

पछिल्लो समयमा सवारीको आयात अनियन्त्रित रुपमा उकालो लाग्दै गएकाले पनि साँघुरा सडक सहित पुलमा समस्या बढ्दै गएको सडक विभागका निर्देशक सापकोटा बताउँछन् ।

सडक विभागको तथ्यांकअनुसार उपत्यकाभित्रका तीन जिल्लाको करिब २ हजार किलोमिटरमध्ये एक हजार किलोमिटर सडकमा बाह्रैमास सवारीको गुड्छन् । निर्देशक सापकोटाअनुसार यि सडकको कुल क्षेत्रफल करिब ६६ लाख ८५हजार वर्गमिटर हो ।

उपत्यकामा अहिले चल्ने बरिब करिब ११ लाख सवारी छन् । ठूला-साना सबै दर्ता भएका सबै सवारी साधनलाई यात्रु कार एकाइ (१५ वर्गमिटर) मा परिणत गरेर हेर्ने हो भने बाग्मती अञ्चलमा मात्रै झण्डै करिब ८ लाख २० हजार यात्रु कार (एकाइमा) छन् ।

यसअनुसार काठमाडौंको कुल सडक क्षेत्रफलमा यति कार राख्ने हो जम्मा ४ लाख ४५ हजार मात्रै अट्नेछन् । काठमाडौंको सडकको क्षेत्रफलभन्दा सवारी दोब्बर हुन लागेको अवस्थाले पनि साँघुरा पुलहरुमा जाम देखिन थालेको सापकोटाको भनाइ छ ।

अब सडक विभागले सबै शहरी सडकहरु स्थानीय निकायलाई नै हस्तान्तरण गर्न लागेको छ । अब योसँग शहरभित्रका पुलहरु पनि स्थानीय तहकै जिम्मामा आउनेछ ।
त्यसैले अब पुलमा देखिएका समस्यालाई स्थानीय रुपमा नै योजना बनाएर समाधान गर्नुपर्ने अवस्था आएको सापकोटा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment