Comments Add Comment

क्रोएसियाविरुद्ध अर्को प्रयोग गर्दै अर्जेन्टिना, के आउला नतिजा ?

७ असार, काठमाडौं । विश्वकपमा समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा अर्जेन्टिना र क्रोएसिया राति पौने १२ बजे खेल्दै छन् ।

पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना र नाइजेरियालाई हराएर बलियो मनस्थितिमा रहेको क्रोएसियाको खेल समूह चरणकै महत्वपूर्ण खेल हो ।

विश्वकपको सुरुवात नै अर्जेन्टिना र कप्तान लियोनल मेस्सीका लागि राम्रो रहेन । पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डले निराश पारिदियो । कतिसम्म भने मेस्सीले पाएको पेनाल्टीसमेत सदुपयोग गर्न नसक्दा उनको आलोचना भयो ।

अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीले आइसल्याण्डविरुद्ध खेलाएको ४-२-३-१ को फर्मेसनको सट्टा क्रोएसियासँग ३-४-३ को फर्मेसनमा खेलाउँदै छन् ।

अर्जेन्टिनासँगको खेलमा क्रोएसिया निकोला कालिनक बिना नै मैदान उत्रिने छ । पहिलो खेलमा सब्सिच्युडका रुपमा खेल्न नमानेपछि स्ट्राइकर कालिनिकलाई घर पठाइएको हो । प्रशिक्षक लाट्को डालिसले भने उनको स्वास्थ्यमा समस्या भएको बताएका छन् ।

अर्जेन्टिनाका लागि क्रोएसियाविरुद्ध महत्वपूर्ण मानिएका मेस्सीले आइसल्याण्डसँगको खेलमा पनि ११ पटक पोस्ट प्रहार गरेका थिए तर, गोल गर्न सकेनन् ।

अर्जेन्टिना र क्रोएसियाबीच यसअघि चारपटक भेट भएको छ । ती भेटमा अर्जेन्टिना दुई पटक विजयी भएको छ । एक पटक क्रोएसिया विजयी भएको छ भने एक पटक बराबरी भएको छ । जसमा अर्जेन्टिनाले ५ गोल गरेको छ भने ४ गोल खाएको छ ।

दुई टोलीबीच विश्वकपमा भने यसअघि एक पटक मात्रै भेट भएको थियो । सन् १९९८ को विश्वकपमा समूह चरणमा भएको भेटमा अर्जेन्टिना १-० ले विजयी भएको थियो । त्यो बेला अर्जेन्टिना समूह विजेता तथा क्रोएसिया उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका थिए ।

अर्जेन्टिनाले विश्वकपमा आˆना सुरुका दुई खेल जित्न नकसेको पछिल्लो पटक सन् १९७४ मा हो । त्यसयताका विश्वकपमा अर्जेन्टिनाले सुरुका दुई मध्ये कम्तीमा एक खेलमा जित निकालेको छ ।

अर्जेन्टिनाले विश्वकपमा समूह चरणका पछिल्ला १६ खेलमा एकमा मात्रै हार बेहोरेको छ । उसले सन् २००२ को विश्वकपमा इंग्ल्याण्डसँग १-० को हार बेहोरेको थियो । १२ खेलमा विजयी भएको छ । तीन खेलमा बराबरी भएको छ ।

अर्जेन्टिनाले प्रतियोगिताका पछिल्ला १० खेलमा दुई खेलमा मात्रै एक भन्दा बढी गोल गरेको छ । १० खेलमा उसले गरेको गोल संख्या ९ मात्रै हो ।

उता क्रोएसियाले सन् १९९८ यता विश्वकपमा लगातार दुई खेल जितेको छैन । साथै विश्वकपमा दोस्रो खेल अहिलेसम्म हारेको छैन । तीन खेल जितेको छ भने एक खेल बराबरी भएको छ । बिहीबार राति हुने खेल जितेमा उसले २० वर्षअघिको लगातार जितको श्रृङ्खला दोहोर्‍याउने छ ।

क्रोएसियाले विश्वकपमा दक्षिण अमेरिकी देशलाई हराउन सकेको छैन । यसअघि दक्षिण अमेरिकी देशसँग भएका चार खेलमा सबैमा क्रोएसिया हारेको छ । तीन पटक ब्राजिल र एक पटक अर्जेन्टिनासँग क्रोएसियाले हारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment