७ असार, काठमाडौं । महानगरीय प्रहरी परिसरले जेठ महिनाको कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका ८ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ ।
बंगलादेश बैंकसँगको सम्झौताबाट स्थापना गरिएको काठमाडौं पुलिस अवार्डबाट प्रहरी नायब उपरीक्षकहरु योगेन्द्रसिंह थापा र विश्वराज खड्का, प्रहरी निरीक्षकहरु राजु लामा र केशवदत्त भट्ट, प्रहरी नायब निरीक्षकहरु अजयजंग थापा र धनसिंह ऐरी, प्रहरी हवल्दार ढालबहादुर क्षेत्री र प्रहरी जवान केशव महतरा पुरस्कृत भएका हुन् ।
प्रहरी नायब उपरीक्षकहरुको पुरस्कार राशी ५० हजार, निरीक्षकको ३५ हजार, नायब निरीक्षकको २५ हजार, हवल्दारको १५ हजार र जवानको १० हजार रुपैयाँ रहेको छ ।
बंगलादेश बैंकको सहकार्यमा हरेक महिना कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका अधिकृत तथा जवानलाई छनोट समितिको सिफारिसको आधारमा पुरस्कार दिने गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।
उनीहरुलाई परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेल र नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले पुरस्कार वितरण गरे ।
परिसरले प्रहरी नायब उपरीक्षक दीपक पोखरेल, महेन्द्र नेपाल र अपिलराज बोहरालाई पनि नगद पुरस्कार प्रदान गरेको छ ।
प्रतिक्रिया 4