Comments Add Comment

वैदेशिक रोजगारीका कारण यौनमा आएको परिवर्तन

अब घरकी श्रीमती सति सावित्री भएर बस्छिन् भन्ने कल्पना परिवर्तन गर्नुपर्छ

करुणाजी,

म समाजशास्त्रको विद्यार्थी भएका नाताले नेपाली अनलाइन पोर्टलहरुले दिने समाजका समाचारप्रति रुचि राख्छु । विशेषगरी समाजमा आएका परिवर्तन र त्यसले निम्त्याएका अप्ठ्यारालाई कसरी कम गर्न सकिन्छ भनेर चिन्तित पनि हुन्छु ।

केही समयअघि सरकारी निकायले गाउँघरमा पुगेर गम्भीर खालको यौन सर्वेक्षणमा गरेको रहेछ । उक्त सर्वेक्षणले धेरैजसो नेपाली महिलाहरु श्रीमान विदेशमा हुँदा पनि नियमितरुपमा तीन महिने सुई अथवा पिल्सको प्रयोग गर्छन् भन्ने उल्लेख छ । यसले नेपाली समाज कतातिर गइरहेको छ र वैदेशिक रोजगारीले कस्ता विकृति ल्याइरहेको छ भन्ने देखाउँछ । तपाई मनोविज्ञ तर, नेपाली समाजको जिम्मेवार नागरिकको हिसाबले नेपाली समाजको यो परिवर्तनलाई कसरी लिनुभएको छ ?

मलाई यो विषयमा तपाईंको विचार चाहिएकाले अनलाइनखबरमार्फत यो सन्देश पठाएको छु । आशा छ, जबाफ दिनु हुनेछ ।

शैलेश पोखरेल, भारत

शैलेशजी, सरकारी निकायले गरेको यो सर्वोक्षणले धेरैलाई झस्काएको मैले बुझेको छु । सामान्य अवस्थामा समाज कतातिर गइरहेको छ भन्ने हामीले ध्यान दिइरहेका हुँदैनौ । यस्ता सर्वेक्षणले अचम्म पार्नु स्वाभाविक नै हो । यद्यपि मेरो दृष्टिमा यो परिवर्तन एकै पटक आएको होइन । हामी दुई दशक लामो समयदेखि वैदेशिक रोजगारीमा छौं । यसले नेपाली समाजका धेरै आयामलाई प्रभावित बनाएको छ । ती मध्ये यौन जीवनमा आएको परिवर्तन पनि हो ।

यो सम्बन्धमा बुझ्नु पर्ने सबैभन्दा महत्वपूर्ण कुरा के हो भने नेपाली समाजले महिलालाई यौनको पाटोमा त्यति ध्यान दिएर हेर्दैन । जसरी पुरुषहरु वैदेशिक रोजगारीमा जाँदा उनीहरुको वाह्य सम्बन्धलाई समान्यरुपमा हेर्ने चलन छ, महिलाहरु वाह्य यौनसम्बन्धलाई असमान्यरुपमा हेर्ने चलन छ । जसरी पुरुषहरु वैदेशिक रोजगारीमा जाँदा बाह्य सम्बन्ध वा हस्तमैथुनको भर पर्छन्, महिलाहरुमा पनि त्यो आवश्यकता महसुस हुन्छ । यो प्राकृतिक कुरा भएकाले यौनेच्छा पुरुषमा बढी हुने र महिलामा कम हुने वा हुँदै नहुने भन्ने हुँदैन । फरक के छ भने महिलामा त्यो पुरुष जस्तो जुनबेला पनि प्रकट हुँदैन । महिलामा प्रकट हुँदा केही फरक तरिकाले हुन्छ । प्राकृतिक विज्ञानका रुपमा पनि यसो हुनु स्वभाविक नै हो ।

वैदेशिक रोजगारीमा जाने जोडीहरुमध्ये अधिकांश विवाह भएको केही महिनामा नै छुट्टिने गरेका छन् । यो जोडी कुनै दुई वर्ष, कुनै तीन वर्ष त कुनै पाँच वर्षसम्म एक अर्काबाट टाढा भैसकेका हुन्छन्

सबैभन्दा रमाइलो कुरा के छ भने वैदेशिक रोजगारीमा जाने जोडीहरुमध्ये अधिकांश विवाह भएको केही महिनामा नै छुट्टिने गरेका छन् । यो जोडी कुनै दुई वर्ष, कुनै तीन वर्ष त कुनै पाँच वर्षसम्म एक अर्काबाट टाढा भैसकेका हुन्छन् । यो लामो समयमा एकअर्काप्रति श्रीमान्–श्रीमतीको नाताबाहेक अन्य भावनात्मक सम्बन्ध कम भैसकेको हुन्छ । जोडीको माया प्रेमका लागि बेला बेलामा शारीरिक सम्बन्ध पनि आवश्यक छ भन्ने विभिन्न अध्ययनले देखाएको छ । सायद यही अध्ययनका विषयमा तपाईंको प्रश्न हुन सक्छ । वा यही अध्ययनलाई आधार बनाएर आएका समाचारहरु तपाईंले पढेको हुनुपर्छ ।

एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा नेपाल सरकारले लामो समय लगाएर गरेको यो सर्वेक्षण वाहिर आउने वित्तकै धेरै व्यक्तिले नेपाली महिलाहरु पहिलेको तुलनामा यौन अराजक बन्दै गएको पनि बुझेका छन् ।

वाह्य सम्बन्ध हुने वित्तिकै महिलामा परिवर्तन आएको भन्न मिल्दैन । कहिलेकाहिँ वल्लो घर पल्लो घरका मानिसले अप्ठेरो परेको बेला धेरै सहायता गरेको अवस्थामा उप्रति भावनात्मक सम्बन्ध स्थापित भएर यौन सम्बन्ध कायम हुन सक्छ । विदेशबाट कुनै युवक फर्किएको अवस्थामा आफ्नो श्रीमान्को न्यास्रोमा पनि सम्बन्ध स्थापित हुन सक्छ ।

कहिलेकाहिँ आफ्नो श्रीमान्को मायाप्रेम नपाइकन ऊबाट टाढा हुनुपरेको अवस्थामा कुनै युवकले वास्तविक माया प्रेम गरेको महसुस गरेको अवस्थामा पनि यौनसम्पर्क स्थापित हुन सक्छ ।

वैदेशिक रोजगारीका कारण अहिले गाउँघरमा युवा पुस्ता नै देखिँदैनन् । केही युवाहरु गाउँबाट सहरमा रोजगारका लागि पुगेका छन् । यस्तो अवस्थामा गाउँघरका धेरै महिलाहरुले नियमित पिल्स वा तीनमहिने सुई प्रयोग गर्छन् भन्नुको अर्थ उनीहरु अस्थाई साधनको प्रयोगमा पहिलेको तुलनामा निकै सचेत छन् भन्ने पनि देखाउँछ । कतिपय अवस्थामा बृद्ध एवं किशोरसँग पनि यस्ता महिलाहरुको यौन सम्पर्क भइरहेको देखिन्छ ।

श्रीमान् वैदेशिक रोजगारमा जाने वित्तिकै घरकी श्रीमती पहिले झैं सति सावित्री भएर बस्छिन् भन्ने नेपालीको कल्पना अब परिवर्तन गर्नुपर्छ

जे होस्, श्रीमान् वैदेशिक रोजगारमा जाने वित्तिकै घरकी श्रीमती पहिले झैं सति सावित्री भएर बस्छिन् भन्ने नेपालीको कल्पना अब परिवर्तन गर्नुपर्छ भन्ने कुरा यो सर्वेक्षणले देखाएको छ ।

यौन इच्छा र श्रीमान्–श्रीमतीको प्रेम फरक कुरा हुन् भन्ने कुरा विस्तारै सबैले बुझ्न आवश्यक छ । निश्चय नै वैदेशिक रोजगारीका धेरै सकारात्मक पाटो होलान् । समाज परिवर्तनका हिसावले भने यसले ठूलो परिवर्तन ल्याएको कुरा सत्य हो ।

अब प्रश्न उठ्छ, समाजमा आएको परिवर्तन ठिक हो कि होइन ? यसले नेपाली समाजलाई कतातिर लगिरहेको छ ? यो गलत हो भने यसलाई रोक्न के गर्नुपर्छ ?

यसको उत्तरमा के भन्न सकिन्छ भने एकातिर नेपालको अर्थतन्त्र चलाउन हामी वैदेशिक रोजगारी तत्कालका लागि अनिवार्य नै छ । अर्कोतर्फ गाउँमा वैदेशिक रोजागरीमा गएकाहरुको परिवारको आर्थिक स्थितिमा सकारात्मक परिवर्तन भइरहेको छ । त्यसैले त्यो परिवार समाजमा इज्यतिलो पनि भएको सर्वेक्षणमा देखिएको छ । गाउँमा बसेका युवाहरुलाई समाजले उति महत्व दिँदैन, जति वैदेशिक रोजगारीमा गएको व्यक्तिलाई दिने गरिन्छ ।

यसरी समाजको दृष्टिकोणमा आएको परिवर्तनले पनि तत्काल युवाहरु वैदेशिक रोजगारलाई महत्व दिइरहेका छन् । यही विप्रेषणले देश पनि चलेको छ । तर, अर्कोतिर समाजमा यौनजीवनमा परिवर्तन आइरहेको छ । यी दुबै कुरालाई स्वीकार गर्नु नै अहिलेको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment