Comments Add Comment

बालबालिकाका अगाडि कडा रूपमा प्रस्तुत हुनुहुन्छ ? नतिजा भयानक हुनसक्छ है !


अन्त हेर्नैपर्दैन, हाम्रो नेपाली समाज नियाले हुन्छ । अक्सर आमाबाबुहरू आफ्ना बालबालिकामाथि कडा रूपले प्रस्तुत हुने गर्छन् । बालबालिकालाई अनुशासित बनाउने वा आज्ञाकारी बनाउने निहुँमा गरिने यस्ता कृत्य कति भयानक छ ? त्यसबारे भने मनन गर्नैपर्छ ।

आमाबुबाहरूमा आफ्नो छोराछोरीले भनेको मानेनन् भने कराउने, गाली गर्ने, पिट्ने बानी हुन्छ । यसले बालबालिकाहरूको मनोविज्ञानमा नकारात्मक असर पुग्ने कुरामा भने धेरैले ध्यान दिँदैनन् ।

के तपाईं पनि आफ्नो बालबालिकासँग धेरै कडा रूपमा प्रस्तुत हुनुहुन्छ ? के तपाइर्ं पनि आफ्नो बालबालिकालाई केही कुरा सिकाउन कडा रूप अपनाउनुहुन्छ ? तपाईंको यस्तो बानी छ भने तपाईंले धेरै ठूलो भुल गरिरहनुभएको छ ।

यति भयानक असर

विशेषज्ञहरूका अनुसार बालबालिकाहरूसँग कडाइको साथ प्रस्तुत हुनाले तपाईंको बालबालिका रिसाहा, जिद्दी र छुच्चा हुनसक्छन् । यसले पछि तपाइर्ंलाई धेरै खालको समस्यामा पार्न सक्छन् ।

भनिन्छ, आमाबुबाले जस्तो व्यवहार देखाउँछन् बालबालिकाले पनि त्यही कुरा सिक्ने गर्छ र त्यस्तै व्यवहार देखाउने गर्छन् । जुन घरमा बालबालिकालाई माया र स्नेह मिल्दैन त्यस घरमा हुर्कने बालबालिकाहरू उग्र र अराजक हुन्छन् ।

यसले उनीहरूको आत्मविश्वास कमजोर हुन थाल्छ र उनीहरू हीन भावनाले पनि ग्रस्त हुँदै जान्छन् । यति मात्रै होइन यी सबै कुराले उनीहरूको दिमागमा पनि नराम्रो प्रभाव पर्छ र कहीँ न कहीँ उनीहरू यसैकारण जीवनमा पछि पर्छन् । बालबालिकाको आमाबुबा भएको नाताले तपाईले आफ्नो बालबालिकालाई सही मार्गनिर्देशन गर्न आवश्यक हुन्छ । त्यस्तै उनीहरूको रुचि भएको कुराहरू गर्न प्रोत्साहित गर्नुपर्छ । यसले उनीहरूको आत्मविश्वास बढ्छ र उनीहरू दृढतासँग जीवनमा अगाडि बढेर सफलता हासिल गर्न सक्छन् ।

याद राख्नुहोस्, बालबालिकालाई सहि मार्गनिर्देशनको साथसाथै माया र स्नेहको पनि जरुरी हुन्छ । तपाईं आफ्नो बालबालिकाका साथमा कडा रूपमा प्रस्तुत हुनु हुँदैन ।

बालबालिका सधैँ डराइरहने हुन्छ

बालबालिकासँग आवश्यकभन्दा धेरै कडा भएर प्रस्तुत हुने गरिएको छ भने बालबालिका सधैँ डराइरहन्छन् । उनीहरू ससाना कुरामा पनि डराउँछन् । उनीहरू आफ्नै घरमा पनि असुरक्षित भएको महसुस गर्छन् । त्यसैले तपाईले आफ्नो बालबालिकालाई माया गर्नुहोस् र कुनै कुरा सम्झाउँदा सानो आवाजमा नरम भएर सम्झाउनुहोस् ।

उनीहरूलाई तपाई उनीहरूको राम्रो भएको हेर्न चाहनुहुन्छ भन्ने भरोसा दिलाउनुहोस् । यसो गर्नाले उनीहरू कुनै पनि परिस्थितिमा नहिच्किचाइ तपाईसँग मद्दत माग्न आउनसक्छन् ।

बालबालिकाको व्यवहारमा परिवर्तन हुन्छ

जुन घरमा बालबालिकालाई स्नेहको र उपयुक्त हेरविचारको वातावरण मिल्दैन त्यस घरको बालबालिकाको व्यवहारमा पनि ठूलो परिवर्तन देख्न सकिन्छ । बालबालिकाहरूलाई हरेक कुरामा गाली गर्ने गरेमा उनीहरूको स्वभाव रिसाउने, र जिद्दी हुन थाल्छ ।

साथै रिस उनीहरूभित्र ज्वालामुखी बनेर बस्छ । जसले कुनै पनि समयमा ठूलो समस्यालाई निम्त्याउँछ । बालबालिकाहरूले चाहेका ससाना कामहरू गर्नबाट रोक्दा पनि उनीहरूको स्वभावमा परिवर्तन हुन्छ ।

बालबालिका कहिल्यै पनि खुसी हुँदैनन्

असल आमाबुबाको कर्तव्य आफ्नो बालबालिकालाई एक राम्रो र खुसी जीवन दिने हुन्छ । उनीहरूलाई सधैँ राम्रो काम गर्न प्रेरित गर्नुहोस् । कहिल्यै पनि उनीहरूको भित्री मनमा डरको भावना पैदा गरेर असुरक्षित महसुस नगराउनुहोस् । तपाई उनीहरूलाई आफ्नो कुरा गाली गरेर पिटेर भन्दा पनि मायाप्रेम गरेर राम्रोसँग सम्झाउन सक्नुहुन्छ ।

बालबालिकाहरूको जीवनप्रतिको सोच नै बदलिन्छ

जो आमाबुबा आफ्नो बालबालिकासँग कडा रूपमा प्रस्तुत हुन्छन्, उनीहरूको दिमागमा यसले धेरै नै गहिरो प्रभाव पर्छ । उनीहरूको दिमाग नकारात्मक रूपले प्रभावित हुन्छ । खासगरी कुनै भाइबहिनी नभएका अर्थात् जो आफ्नो आमाबुबाको एक मात्र सन्तान हुन्छन् उनीहरूको लागि घरमा यस्तो माहौल धेरै हानिकारक साबित हुन्छ ।

तपाई आफ्नो बालबालिकालाई एक उज्ज्वल भविष्य दिन चाहनुहुन्छ र जीवन सफल बनाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले उनीहरूलाई एक असल मानिस बनाउनुहोस् ।

यसका लागि तपाईले हरेक सानो सानो कुरामा उनीहरूलाई गाली गरेर कराएर लगाउन जरुरी छैन । तपाई उनीहरूलाई माया गरेर र स्नेहको साथमा प्रस्तुत हुने प्रयास गर्नुहोस् । यस्तो गरेमा तपाईको बालबालिकाहरूले आफ्नो घरपरिवारसँग सुरक्षित र खुसीको अनुभव गर्न सक्छन् र तपाईंले भनेको मान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment