Comments Add Comment

तिलोत्तमाको बजेट एक अर्ब ३५ करोड

१० असार,बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि एक अर्ब ३५ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

तेस्रो नगरसभाको आइतबारको बैठकमा नगर उप-प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले एक अर्ब ३५ करोड ३२ लाख ५१ हजार रुपैंयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा चालू खर्चतर्फ ५९ करोड २७ लाख अर्थात् ४३ दशमलव ७९ प्रतिशत र पूँजीगत खर्चतर्फ ७६ करोड पाँच लाख ५१ हजार अर्थात् ५६ दशमलव २१ प्रतिशत रुपैंयाँ विनियोजन गरिएको छ । उप-प्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बजेटको मुख्य उद्देश्य ‘समृद्ध नगर : खुसी नगरबासी’ रहेको बताइन् ।

बजेटमा आम्दानी स्रोतको रुपमा आन्तरिक राजस्वबाट ५० करोड ८ लाख ४० हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ८३ करोड १४ लाख ११ हजार र प्रतिनिधिसभा सदस्यमार्फत् २ करोड १० लाख राखिएको छ ।

शिक्षातर्फ कुल बजेटको २० दशमलव ८३ प्रतिशत अर्थात् २८ करोड १९ लाख ८३ हजार रकम विनियोजन गरिएको छ । यसमा शिक्षक, कर्मचारीहरुको तलबका अतिरिक्त सामुदायिक विद्यालयहरुको भवन तथा पूर्वाधार निर्माणमा एक करोड, भवन रंगरोगन तथा मर्मतसम्भारका लागि एक करोड २९ लाख, दिवा खाजाका लागि एक करोड, बाल विकास शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप ३५ लाख ८८ हजार, सामुदायिक विद्यालयहरुमा यातायात सञ्चालन अनुदानस्वरुप २० लाखलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ ।

यसैगरी स्वास्थ्यतर्फ ५ करोड २१ लाख ९३ हजार, कृषि, पशुपालन र सिञ्चाईतर्फ ३ करोड ४३ लाख १० हजार रकम विनियोजन गरिएको छ । भवन, शहरी विकास र पूर्वाधार विकासका लागि १७ करोड रकम विनियोजन गरिएको छ ।

तिलोत्तमा उद्योगग्राम, तिलोत्तमा नगर तालिम केन्द्र, सीपमूलक तालिम सञ्चालन समेतका कार्यक्रम कार्यान्वयन गर्न १ करोड २१ लाख रकम विनियोजन गरिएको छ । वन, वातावरण, हरियाली प्रवर्द्धनमा १ करोेड ८० लाख, खेलकुद र युवातर्फ १ करोड २४ लाख ५० हजार रकम विनियोजन गरिएको छ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ १७ करोड ८ लाख रकम छुट्टाएको तिलोत्तमा नगरपालिकाले भू-उपयोग नीति २०७२ को कार्यान्वयन, सार्वजनिक जग्गा संरक्षण, नगरको पुनरनापी कार्यक्रमलाई व्यवस्थापन गर्न ७५ लाख रकम विनियोजन गरेको छ ।

यस्तै खानेपानी तथा सरसफाइमा ६१ ल्ााख, फोहोरमैला व्यवस्थापनमा १ करोड २० लाख रकम विनियोजन गरिएको छ । बजेटमा संस्थागत विकास, सेवा प्रवाह र सुशासन प्रवर्द्धनका लागि १ करोड १० लाख ! सूचना, प्रविधितर्फ ७० लाख विनियोजन गरिएको छ ।

नगरस्तरीय आयोजना बाहेक जनसंख्या, क्षेत्रफल, खर्चको आवश्यकता, राजस्व परिचालन क्षमता समेतलाई दृष्टिगत गरी प्रत्येक वडालाई एक करोडभन्दा बढी रकमको सिलिङ राखिएको बजेटमा उल्लेख गरिएको छ । आइतबारकै नगरसभा बैठकले आर्थिक विधेयक र विनियोजन विधयेक पनि पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment