Comments Add Comment

माननीयको वयान: हो, दलित भएकै कारण मैले काठमाडौंमा कोठा पाइनँ

अन्ततः तीनकुनेमा बाहुनको घरमा डेरा पाइयो !

१२ असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य कलुदेवी विश्वकर्मा संघीय समाजवादी फोरमका उपमहासचिव दानबहादुर विश्वकर्माकी पत्नी हुन् ।

समानुपातिकबाट सांसद भएकी उनले २१ जेठमा संसदमा बोल्दै दलित भएका कारण आफूले काठमाडौंमा कोठा नपाएको बताइन् ।

सांसद कलुदेवीको अभिव्यक्तिलाई कतिपयले ‘कसैले भन्न नसकेको तर, भित्रभित्रै जकडिएर बसेको पीडा’ भने । कतिलेचाहिँ दलित भएकै कारण साँच्चै नै माननीयले कोठा नपाएकी हुन् त भन्ने प्रश्नसमेत उठाए । किनभने, काठमाडौंमा जुनसुकै समुदायका मानिसका लागि पनि डेरा पाउन सजिलो छैन ।

हालै संसद भवन परिसरमा भेटिएकी सांसद कलुदेवीलाई हामीले सोध्यौं- अहिले कोठा भेट्नुभयो त माननीयज्यू ?

उनले कोठा खोज्दा पाएको दुःखको बेलीविस्तार लगाइन् । काठमाडौंमा त्यसै पनि कोठा पाउन सजिलो छैन । कहीँ पानी हुँदैन त कहीँ पार्किङ, कहीँ चाहिएभन्दा धेरै कोठा । माननीयले फेरि पनि दलित भएकै कारण काठमाडौंबासीले आफूलाई कोठा नदिएको गुनासो दोहोर्‍याइन् ।

संसद हुनुअघि उनीहरु ललितपुरको हरिसिद्धीमा बस्दै आएका थिए । तर, हरिसिद्धीबाट संसद बैठकमा आउजाउ गर्न असहज हुने भएकाले नयाँ बानेश्वर आसपासको क्षेत्रमा कोठा खोजेको उनले सुनाइन् ।

कोठा खोज्दा पाएको सास्तीबारे माननीयकै शब्दमा-

बुढा, म र सहयोगी कोठा खोज्न पेप्पीकोलातिर गएका थियौं । एउटा घरमा तीनवटा कोठा भेटिए । घरबेटीकी पत्नीले तल्लो फ्याट खाली छ, भाडामा दिने भनेरै घर बनाएको हो भनिन् । हामीले कोठा, पानी धारा सबै हेर्‍यौं ।

उनले बस्नुस् भनिन्, चिया दिइन् । कुराकानी भयो । घरबेटी खुसी थिइन् । उनले श्रीमान कोटेश्वर पसलमा हुनुहुन्छ, एकपटक उहाँलाई सोधौं भनिन् ।

फोन गर्दा घरेबेटीका श्रीमानले म आउँदैछु भने । भाडाको कुरा टुंगिने भयो भनेर हामी ढुक्क भएर बस्यौं । कुराकानीका क्रममा उनले हाम्रो थर सोधे । मैले हामी विश्वकर्मा हो, जात छिपाएर किन बस्ने भनेपछि त मैले त कोठा अर्कैलाई दिइसकेँ पो भन्छन् !

अरुको घरमा जबरजस्र्ती गर्नुभएन, हामी हिँड्यौं ।

नजिकै अर्को घर बन्दै रहेछ, त्यो पनि हेर्‍यौं । कुराकानी भयो । तर, त्यहाँ त्यही रोग देखियो ।

अर्का दिन एकजनाले भाटभटेनी छेउमा मेरो घर छ, तीनवटा कोठा छ भने । हामी गयौं, साहुले ठीकै कुरा गरे । उनले पनि थर सोधे, हामीले विश्वकर्मा हौं भन्यौं ।

थर किन सोधेको भन्दा केही होइन भनेर टारे । बुढीसँग सल्लाह गर्छु, साँझ फोन गर्नु भने । राति ९ बजेतिर फोन गर्दा कोठा त बुढीले अर्कैलाई दिइसकिछ भन्ने जवाफ आयो ।

हामी कोठा खोज्दै झण्डै १० ठाउँमा गयौं । सबैले थर सोधे । विश्वकर्मा हौं भनेपछि सबैले ‘कोठा त अर्कैलाई दिइसक्यौं भने ।

अन्ततः बाहुनको घरमा बास !

धेरैतिर चाहार्दा पनि कोठा नपाएकी सांसद कलुदेवीको परिवारले अहिले तीनकुने कोठा पाएको छ ।

‘बामन (बाहुन) को घरमा नै बसेका छौं’ उनले अनलाइनखबरसँग भनिन्, ‘तपाईलाई काटे पनि खुनै आउने, हामीलाई काटे पनि खुनै आउने हो, हामी जातपात मान्दैनौं भनेर कोठा दिए ।’

सांसद विश्वकर्माका अनुसार ‘दलित भएकै कारण कोठा पाइनँ’ भनेर संसदमा बोल्नुअघि नै कोठा भेटिएको थियो । तर, कोठा खोज्ने क्रममा भोग्नुपरेको पीडा पोख्न संसदमा बोलेको उनले सुनाइन् ।

जब उनले संसदमा दलित भएकै कारण कोठा नपाएको कुरा उठाइन्, धेरैले आफूले पनि त्यस्तो पीडा भोगेको उनलाई सुनाए । ‘रोग त मलाई मात्र लागेको होइन, अरुलाई पनि लागेको रहेछ’ उनले भनिन्, ‘सबैलाई समस्या छ भने कुरा उठाऔं ।’

सांसद कलुदेवीको प्रश्न छ, राजधानीमा त यस्तो छुवाछुत छ भने गाउँघरमा कस्तो अवस्था होला ?

सँगै राजनीति, सँगै लडाइँ !

सांसद कलुदेवीका अनुसार उनले राजनीति गरेको दुई दशक बढी भइसक्यो । ‘मेरा बुढा -दाबहादुर विश्वकर्मा) र मेरो योगदान बराबर छ । पञ्चायतकालदेखि नै हामी दुबैजना झण्डा समाएर हिँडेका हौं’ उनले सुनाइन् ।

सुरुमा उनीहरु जनमोर्चामा थिए । लीलामणि पोखरेल, गिरिराजमणि पोखरेलहरु सँगै थिए उनीहरु । तत्कालीन जनमोर्चाका धेरै नेताहरु तत्कालीन एकता केन्द्र हुँदै माओवादीतिर गए । दानबहादुर त्यसबेला जनमोर्चाका उपाध्यक्ष थिए । पछिल्लो समय भने उनी फोरममा छन् ।
राजनीति गर्ने क्रममा थुप्रै पटक दलित भएकै कारण दुव्र्यवहार भोग्नु परेको कलुदेवीले सुनाइन् । बर्दियामा खाएको भाँडा माझ्न लगाएपछि छाडेर हिँड्दा आफ्नो श्रीमानको खुट्टामा आलो लगाएको र लामो समय जेल बस्नु परेको उनले बताइन् ।

छुवाछुतको मुख्य कारण बामन (बाहुन/क्षेत्री) भएको सांसद कलुदेवीको बुझाइ छ । ‘तपाइलाईर् काटे पनि खुनै आउने हो, हामीलाई काटे पनि खुन नै आउने हो’ उनले भनिन्, ‘हामीले बनाउने भाँडावर्तन, गहगहना चल्छ । हामीले सिलाएको कपडा चल्छ । तर, हामीलाई अछुतो किन ? यो छुवाछुत हट्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment