हामीकहाँ एउटा गम्भीर ठट्यौली प्रचलनमा छ, ‘नेता जति रोगी छन्, देश कसरी हाँक्न सक्छन् ?’
रोगमाथि ठट्टा गर्नु त त्यती राम्रो कुरा होइन । यद्यपी यो सत्य कुरा चाहि हो । हाम्रा देशका अधिकांश नेता रोगी छन् । कसैलाई उच्च रक्तचापले गाँजेको छ, कसैलाई मधुमेहले । कसैलाई कोलोस्टोरले त, कसैलाई थाइराइड । सबै रोगले ग्रस्त छन् । औषधी खाइरहेका छन् । उपचार गराइरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपण गरेका हुन् । अन्य नेताहरु चाहे पुष्पकमल दाहालकै कुरा गरौं वा रामचन्द्र पौडेलको । माधवकुमार नेपालको कुरा गरौं वा त झलनाथ खनालको सबै दीर्घरोगी छन् । दिर्घरोगकै कारण नेपालका बरिष्ठ ब्यक्तित्वहरु खुम बहादुर खड्का, सुशिल कोईराला, डा.उपेन्ऽ देवकोटाको निधन समेत भईसकेको छ ।
सर्बसाधरणको घर-घरमा पनि दीर्घरोग प्रवेश गरिसकेको छ । बुवा, आमा, काका, काकी, हजुरबा, हजुरआमा कोही न कोही दीर्घरोगले सताइएका छन् । बद्लिदो जीवनशैली, अस्वस्थ खानपान तथा ब्यायामको कमीका कारण आजकाल धेरै मानिसहरु उच्च रक्तचाप, मधुमेह,मृगौलाको समस्या, मुटुरोग, क्यान्सर जस्ता प्राणघातक दिर्घ रोगको उच्च जोखिममा छन् ।
खानपान मूल जरो
अब प्रश्न उठ्छ, किन यतिविध्न दीर्घरोगी भए होलान् ?
पहिलो जवाफ हो, खानपान । नेपालमा दीर्घरोग लाग्नुको मुख्य कारण खानपानलाई नै मानिन्छ । बिभिन्न तथ्यांकहरु हेर्दा पनि बद्लिदो जीवनशैली तथा गलत खानपानकै कारण नेपालमा दिर्घरोगको संख्या दिनानुदिन बढ्दै गएको पाईन्छ । सरकारले दिर्घरोगसँग लड्न बिभिन्न उपायहरु अवलम्बन गरेता पनि ठोष प्रगति भने हासिल गरेको देखिन्न ।
कतिसम्म भने सरकारले बिभिन्न संचार माध्यमहरुबाट नसर्ने रोग सम्बन्धि जनचेतना मूलक सन्देश प्रवाह गर्दै आएको छ । तर, यसबाट खास प्रतिफल लिन सकिएको छैन । आखिर किन ?
टाउको दुखेको दवाई ….
सरकारका स्वास्थ्यसम्बन्धि नीति तथा कार्यक्रम दिर्घ रोगसँग लड्न सकिरहेको छैन त भन्ने प्रश्नमा एउटै उत्तर पाउन सकिन्छ, रोग लाग्ने मुख्य कारक -रुट कज) सँग लड्ने भन्दा पनि असरसँग जुधिरहेको छ । अर्थात रोग के कारणले फैलदैछ भन्ने कुराको जरा नखोतलेर रोगको असरलाई न्युनिकरण गर्ने प्रयास मात्र भइरहेको छ । नेपालीमा एउटा उखान छ, ‘टाउको दुखेको दबाई, नाईटोमा लाई ।’ ठीक यस्तै भइरहेको छ । समस्याको जरा एकातिर छ, समाधान अर्कोतिर खोजिदैछ ।
उदाहरणका लागि मृगौल फेल भएका ब्यक्तिलाई सरकारले डायलासिस सेवा निशुल्क उपलब्ध गराउँदै आएको छ । क्यान्सर लागेका बिरामीलाई केमोथेरापीमा सहुलियत दिनुका साथै अन्य दिर्घरोगको उपचारमा सरकारले करोडौं रकम निकासा गर्दै आएको छ ।
मृगौला र क्यान्सर पीडित ब्यक्तिलाई रकम दिनु राज्यको जायज काम भएतापनि नेपालमा बढ्दै गएको दिर्घरोगले भोलिका दिनमा राज्यलाई निकै व्ययभार थपिने देखिन्छ । र, यो अन्तहिन समाधान हो । अर्थात यसको अन्त्य छैन । जति जति रोगी थपिदै जान्छन्, राज्यले पैसा पनि उत्तिनै खर्च गर्नुपर्ने हुन्छ । आखिर यो सिलसिला कहिलेसम्म ?
रोगको जरा के हो ?
रोग लागिसकेपछि रोगीको उपचार गर्नु वा सहुलियत खोज्नुभन्दा रोग लाग्नै नदिने वातावरण वनाउनु वुद्धिमानी हुनसक्छ ।
हामीकहाँ दीर्घरोगले किन यति धेरै सताइरहेको छ भन्ने प्रश्न गर्दा त्यसको उत्तर हो, गलत खानपान । विशेषगरी, हामी नेपालीहरुलाई खानपानमा ‘के खाने’ भन्ने त थाहा छ । तर पनि ‘नेग्लीजेन्सी’ धेरै छ । अर्थात, भन्ने बेलामा त हामी दिनमा तीन ग्राम भन्दा कम नुनको सेवन गर्नु पर्छ भन्छौ । तर यहाँ तीन ग्राम नुन खाउ भनेर कसैलाई सल्लाह दियो भने यता नुन त कम खान्छ ।तर उता चाउचाउ उमालेर खाइदिन्छ । जबकी चाउचाउमा पहिले नै २ देखि ३ ग्राम नुन समावेश गरिएको हुन्छ । दालमोटमा पनि त्यही नै हो ।
र, यसबारे विरामीलाई बुझाउन सक्ने पोषणविद्हरु पनि नेपालका अस्पतालहरुमा पर्याप्त छैनन् ।
नेपालका अस्पतालहरुबारे कुरा नै गर्ने हो भने पनि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा त अस्पतालले पोषणविद्कोे व्यवस्था गरेको छ । तर नेपालकै जेठो अस्पताल वीर अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौ मेडिकल कलेजहरु लगायतका अस्पतालहरुमा समेत पोषणविद्को व्यवस्था छैन । जबकी सरकारी नियमलाई आधार मान्ने हो भने मात्र पनि तीन सय शैश्याको एउटा मेडिकल कलेज भएको अस्पतालले कम्तीमा चार जना पोषणविद् (न्युट्रीसनिष्ट) राख्नु पर्ने व्यवस्था छ ।
कसरी समाधान गर्ने त दिर्घरोगको जोखिम:
नेपालमा दिनहुँ बढ्दै गईरहेको दिर्घरोग न्युनिकरण गर्नकालागि बिभिन्न उपायहरु अवलम्बन गर्न सकिन्छ ।
१.फुड सेफ्टीका उपाय:
नेपाली बजारमा बिक्री बितरण हुने खाद्य वस्तुहरुमा बिभिन्न रसायन मिश्रति भएको देखिन्छ । उदाहरणका लागि सागसब्जीमा विषादीको प्रयोग, फलफूलमा रंग र वैक्स (मैन), माछामा फर्मालिन, कुखुरामा एन्टीवायोटिक्स, चामलमा प्लाष्टिक र ढुंगा, दुधमा सोडा र यस्तै अन्य मिसावट भएको पाइन्छ । यस्ता खानेकुरामा हुने थप मिसावटबाट बच्नका लागि सर्बप्रथम त आमजनमानसमा जनचेतना हुन जरुरी छ ।
सागसब्जी किन्दा किराले खाएको सब्जी रोज्ने, शंका लागेमा आधा घण्टा पानीमा भिजाएर नुन राखी तरकारीलाई सफा गर्ने, माछा किन्दा पानीमा बगिरहेको माछा किन्ने, कुखुरा किन्दा आई.एस.ओ मान्यता प्राप्त कोल्ड स्टोर वा त्यही गुणस्तरको कुखुरा पाईने ठाउँबाट किन्ने । त्यो गर्न सम्भब नभए आफुले कुखुरा किन्ने मासु पसलेलाई तपाइँले बेच्ने कुखुरामा एन्टीबायोटिक्स छ छैन भनी सधैं प्रश्न गर्ने । यसो गर्दा चेन या कम्युनिकेशन हुन्छ जसले गर्दा पसलेले होलसेलरलाई र होलसेलरले कृषकहरुलाई प्रश्न सोध्न थाल्छन् । यो कुरा तेलमा पनि लागु हुन्छ ।
विशेषगरी एक पटक प्रयोगमा आएको तेललाई पटक पटक प्रयोग गर्न नमिल्ने हुँदा यसलाई पनि रोक्न जरुरी देखिन्छ । किनभने एक पटक प्रयोग गरिसकेको तेलमा पुन खाना पकाउँदा क्यान्सर रोग लाग्ने सम्भावना बढ्छ ।
नेपालमा अहिले बिभिन्न ब्यापारीहरुले आˆनो ब्यक्तिगत फाईदाका लागि पटक पटक तेल प्रयोगमा ल्याई समोसा,जेरी, पुरी, नमकिन लगायतका बिभिन्न खानेकुराहरु बनाउँदै आएका छन् र सोही तेललाई अन्त्यमा पानी पुरी ब्यापारीलाई सस्तो दरमा बिक्री गरिरहेको पाइन्छ । । यसले गर्दा हाम्रो बालबच्चा लगायत हामी दिर्घरोगको जोखिममा पर्छौ ।
कतिपय ब्यापारीलाई यसरी दिर्घरोग फैलाएको ज्ञान नहुन पनि सक्छ । त्यसकारण अन्य मुलुकहरुमा जस्तै हाम्रो देशमा पनि खाद्यसँग सम्बन्धित ब्यापार गर्ने ब्यक्तिले अनिवार्य रुपमा १४ दिनको फुड सेˆटी हाइजिन तालिम लिएको हुनुपर्ने र सो तालिम नलिईकन ब्यापार ब्यवसाय गर्न नपाईने नियम बनाउन जरुरी छ । र, कसैले तालिम लिएर पनि खाद्य स्वास्थ्यमा ध्यान नदिए कडा कारबाही गर्न जरुरी छ । साथै, नेपालमा पनि अधिकार सम्पन्न फुड सेˆटी एजेन्सी स्थापना गरी दोषीलाई कारबाही लगायत जनमानसमा खाद्य जनचेतनामा उल्लेख्य प्रगति गर्न सकिन्छ ।
२. स्वस्थकर खानपान सम्बन्धि नीति ल्याउने
नेपालमा पनि बिभिन्न मुलुकहरुमा जस्तै नोर्डिक न्य’ट्रीसन रिकमेन्डेशन (एनएनआर), आई.सि.एम्. आर् इन्डिया, बी.एन्.आर बंगलादेशहरुमा भए जस्तै न्युट्रीसन रिकमेन्डेशन सम्बन्धि नीति हुनुपर्दछ । यसबाट जनमानसमा आफूलाई के कस्तो खानेकुरा, कति मात्रामा, कसरी खाने भन्ने सम्बन्धमा ज्ञान आर्जन हुन जरुरी छ ।
त्यसैगरी, नेपालमा पोषण बिज्ञान अध्ययनलाई उच्च तहमा बिशेषगरी मेडिकल साईन्स अन्तर्गत राखी बिभिन्न मेडिकल कलेजहरुमा पठन पाठन सुचारु गर्न जरुरी छ । नेपालमा पोषण बिज्ञान सम्बन्धि अध्ययन हुने संस्था धरान बिजयपुर स्थित हातिसारमा रहेको र खाद्य प्रबिधीबाट उत्पादित पोषण बिशेषज्ञलाई नेपालमा नै बस्ने वातावरण बनाईनु पर्दछ । पोषण बिशेषज्ञले पनि नेपाल हेल्थ प्रोफेसनल काउन्सिल स्थापना गरी हरेक अस्पतालहरुमा पोषण परमर्श सेवा बिस्तार गरिनु पर्दछ । पोषण परमर्शबाट कुनै पनि रोगको प्रकृति अनुसार कस्तो खानेकुरा खाने भन्ने कुरा पोषण विज्ञहरुले जानकारी दिन्छन् । उदाहरणका लागि मधुमेहलाई डाईबेटिक डाईट, उच्च रक्तचापलाई ड्यास डाईट, क्यान्सरलाई हाई प्रोटिन एण्ड अक्सिडेट रिच डाईट । साथै बिभिन्न दिर्घरोगहरुबाट बच्नका निम्ति यस्ता रोग लाग्नुको मुख्य कारक (रुट कज) सँग लड्ने दक्ष जनशक्ति तयार गरिनु जरुरी देखिन्छ ।
हरेक जनतालाई पटक-पटक चियापत्ति, तेल प्रयोग गर्न नमिल्ने आदी कुराहरुबाट सचेत गराउनुका साथै अन्य बिभिन्न अखाद्य बस्तुहरु सेवन गर्नबाट बचाउन सक्यौ भने मात्र नेपाललाई स्थायी रुपमा दिर्घकालीन रोगहरुको जोखिमबाट बचाउन सकिन्छ ।
(पोषण विशेषज्ञ भूपाल बानियासँग ऋचा अर्यालले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4